हामी नेपाली कहाँ छौँ?

तारा भट्टराई
कोरोना भाइरसको महामारी फैलनुभन्दा अगाडीको समर महिनाको कुरा हो। एक दिन केही न्यु योर्कबासी नेपालीहरूबिच वनभोज गएर रमाइलो गर्ने भन्ने छलफल भएछ। मलाई पनि सधैँ काम गर्दा गर्दा दिक्क लागिरहेको थियो र त्यो सुनेपछि आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरुसँग चिनजान पनि हुने, भेटघाट हुने र रमाइलो गर्ने भनेर मैले पनि जाने निधो गरे। ग्रुपमा मिलेर जाने क्रममा म एउटा ट्याक्सीको पछाडि पट्टीको सिटमा बसिरहेकी थिए। अझै दुई जना दुखसुख अट्ने सिट पनि खाली थियो। एक जना साथीले परैबाट सायद मलाई नै इङ्गित गर्दै भनेको हुनुपर्छ “त्यो ट्याक्सीमा त बाहुनीहरु बसेको रहेछ। बाहुनीसँग के जानु? अर्कै ट्याक्सीमा जाउँ।” यो सुनेपछि मलाई मनमा चसक्क सियोले घोचे जस्तो भयो तर मैले केही बोलिन।
त्यस्तै अर्को घटना न्यु योर्कमा भाडा तिरेर बस्न अति महँगो हुन्छ र शेयरिङ्ग गरेर बस्नकालागि भनेर साथी खोजेर कोठा देखाउने र हेर्ने क्रममा एक जना नेपालीलाई कोठा र लोकेसन अति नै मन पर्यो तर बाहुन/ बाहुनीलाई रुम मेट बनाएर सँगै नबस्ने भन्ने लँगडो तर्कले मिलिसकेको कुरा पनि बिग्रियो ।
यी दुई त सामान्य उदाहरण मात्रै हुन् । मैले न्यु योर्कमा आएपछि जातियताका कारण खेप्नुपरेका यस्ता खाले पीडादायी कुराहरूको फेहरिस्तै नै छ म सँग। जुन मैले नेपालमा हुन्जेल कहिल्यै पनि महसुस गरेकी थिइन।
म ब्यक्तिगत रूपमा भन्नुपर्दा नेपालको पूर्वी जिल्ला पाँचथरमा लिम्बुगाउँको बिचमा रहेको ब्राह्मण परिवारमा जन्मे हुर्केकी हुँ। घर मुली बा पण्डित भएर त्यहीँ कर्ममा लागेको भए पनि मेरा सानै उमेरदेखिका साथी सर्कल लिम्बु/ राईहरू थिए। लिम्बुनी साथिहरुसँग चट्टी देखि गट्टी खेल्ने, घाँस दाउरा गर्ने , मेलापात गर्ने गर्दै सँगै बढे र हुर्किए। हाटबजार जाँदा उनीहरुसँगै लुगा साटासाट गरेर लगाइयो, औँशी पूर्णिमामा लाग्ने बजारमा उनीहरू धाननाच गर्न र पालन भन्न सिकाउँथे। साथीको घरमा जाँदा उनका अभिभावकले मलाई आफ्नै छोरीलाई जस्तै मायाँ दिन्थे।
किन हो कुन्नि मलाई बचपन देखिनै भित्रै देखि मेरो आफ्नो बाहुन समुदायका महिलाहरू भन्दा पनि लिम्बु महिलाहरू साह्रै स्वतन्त्र लाग्थ्यो। उनीहरू जुनसुकै कार्य सम्पादन गर्दा घरपरिवारको बिना रोकटोक ढुक्क सँग गर्थे।
हाटबजार जाने र केटासाथीहरुसँग हात समाएर मजाले धाननाच पनि गर्थे, आफ्नो आर्थिक उपार्जन गर्न, काम गर्न, सिपालु थिए, मन परेको मानिससँग मायाँ पिरती गाँस्थे र बिहे गर्थे। कुरा नमिलेको खण्डमा पनि बिहेलाई टुटाएर माइती घरमै आउँदा पनि माइतीले ससम्मान राख्थे, पूर्व प्रेमीसँग पनि प्रेमको पुनर्बहाली गरेर फेरि घरजम गरेर बस्थे। जीवनको भरपुर मनोरञ्जन लिन्थे। कसैले कुरा काट्ने र नराम्रो भावले हेर्दैन थिए। सम्मानजनक जीवन जिउँथे।
तर हाम्रो बाहुनहरूको घरमा त्यस्तो स्वतन्त्रता थिएन। म साथीहरुसँग कतै घुम्न गएर घर आउन एक छिन मात्रै ढिला भयो भने गालीको वर्षा हुन्थ्यो । मलाई बचपनमा कहिले काहीँ त मेरो “भट्टराई”थरको भट्ट लाई चाहिँ काटेर “राई”मात्रै लेखुँ ता कि समाजले मलाई पनि मेरा लिम्बुनी र राइनी साथीहरू जस्तै स्वतन्त्र रूपमा हिँडडुल गर्न सकुँ। गाउँका अरू बाहुनी केटी जस्तो मेरो बालविवाह भएर सासूको खटनमा नपरु, च्याब्रुङ नृत्य गरेको ठाउँमा निर्धक्क हेर्न पाउॅ, आफैंले बुनेको ढाकाको सारिमा सिरबन्दी सिरफुलीमा सजिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
गरिबी र बेरोजगारी हाम्रो गाउँको साझा समस्या थियो। शिक्षा, स्वास्थ्य ,अवसर र रोजगारीबाट सबै समुदाय वञ्चित नै थियो। बरु बाहुन भन्दा लिम्बूहरू पहिल्यै देखि लाहुर जान्थे, पठाएको पैसा ले घरमा च्यादर (टिन) लगाउँथे, काँधमा छाता भिरेर रेडियो घन्काएर गाउँ डुल्थे। मिठो मसिनो खाने,घर लिपपोत गरेर सफा सुग्घर राख्ने, वरिपरि थरिथरिका फुल फुलाएर सुगन्धित र सुकसुकाउँदो हुनाले उनीहरूकै घरमा गई रहन मन लाग्थ्यो। बरु बाहुनहरूको अवस्था नाजुक थियो।
समग्र रूपमा भन्नु पर्दा मैले जीवनको महत्त्वपूर्ण २० वर्ष मैले लिम्बु गाउँमा लिम्बु समुदायसँग बिताए। उनीहरूको संस्कार र संस्कृतिमा घुलन भए र सधैँ सम्मानजनक जीवन बिताए। मलाई कुनै दिन कसैलेपनि बाहुनी भनेर घोचपेच गर्ने अपमान गर्ने गरेको सम्झना छैन। उनीहरुलाईपनि बाहुनहरूले विभेद र अन्याय गरेको मलाई याद छैन। धार्मिक सहिष्णुता थियो। कसैले कसैको आत्मसम्मान वा स्वाभिमानमा ठेस नपुर्याईकन सभ्य समाजका नागरिकको भूमिका खेलेकै कारणले होला मैले जातियताको कुराको अत्तो पत्तो र भेउ पनि नपाईकन बिसौँ वर्ष बिताएछु।
तर जब म सात समुद्रपारिको अमेरिकाको न्यु योर्कमा आए अनि मैले जातीय भेदभाव गर्ने एउटा थलोको रूपमा बुझेँ। हाम्रो समाज कसरी विभाजित छ र जातियताको दलदलको भुमरीमा फसेको छ भन्ने आफैँले महसुस गरे। धनी बाहुनले गरिब बाहुनकी छोरी बिहे गरेर घरमा भित्र्याउँदैनन् र भित्रर्याईहालेपनि नोकर्नी चाकर्नी र दासीको रूपमा मात्रै व्यवहार गर्छन् । बाहुनहरू प्रेम विवाहलाई अहिले पनि स्विकार्दैनन्। बाहुनहरूकै पनि वैष्णव, प्रणामी, दशनामी जस्ता अनेक समुदाय छन् र एउटाले छोएको अर्काले खाँदैनन्, पानी बाराबार जस्तै छ र झनै ठुलो लफडा छ।
तर जब स्वदेशमा मैले नभोगेको पीडा विदेशमा मेरो अनुहार र चुच्चो नाकका काण मेरो आत्मसम्मान र स्वाभिमानमा प्रहार हुन्छ अनि मनमा गहिरो चोट पुग्दोरहेछ। उता नेपालमा राज्यद्वारा सबैलाई मूलधारमा ल्याउनका लागि गरिएको सकारात्मक पहललाई पढे लेखेर बुद्धिजीवी भइसकेर यता अमेरिकाको खुला समाजमा आइपुगेकाहरूले यहाँका नेपालीबिचमा ल्याएर राजनीतिक मुद्दा बनाउँदा कता कता हामी नेपालीहरूका मूल मुद्दालाई अन्यत्र तोडमोड गरेर ओझेलमा पार्न खोजिएको हो कि जस्तो लाग्छ।
अन्यथा अर्थ नलागोस्, मैले आफ्नो जात लुकाउनु भनेको हैन। आफ्नो धर्म,जातमाथि गर्व गर्नुपर्छ। छुवाछुत नेपाली समाजको कलंक नै हो। तर आफ्नो जातलाई उत्थान गर्ने नाममा अरू जातलाई अपमान र बिभेद् गर्ने राजनीति बन्द गरिनुपर्छ।
कहीँ नभएको जात्रा हाँडिगाउँमा भने झैँ नेपालमा भएका सम्पूर्ण जातियताका संगठन न्यु योर्कमा खोलिएका छन्। खोलिएका जातीय संगठनहरुमा पनि आपसमा मेल छैन। सिसा झैँ फुटेर टुक्रा टुक्रामा विभाजित छन्। सबैलाई नेता हुन र नाक फुलाएर हिँड्न मन छ। यहाँको नेपाली समाज पूर्ण रूपले विभाजित छ। कसैले कसैलाई इज्जत र सम्मान गर्दैन। मै ठुलो मै जान्ने सुन्ने र म नै नेता हुँ भन्ने भ्रम छ।
हामी अमेरिकामा छौँ, यहाँ आरक्षणलाई योग्यता मानिँदैन। अयोग्य पात्रलाई उहीँ अनुसारको ठाउँ दिनुपर्छ भन्ने मान्यता राख्छ। अमेरिकाले जातियताको आधारमा आरक्षण पनि दिँदैन । आरक्षितहरू योग्य हुन प्रयत्न गर्दैनन्। योग्यता भएको मानिस हुँदाहुँदै अयोग्य मान्छे अगाडी पुग्दा योग्यलाई कुण्ठा हुन्छ र अयोग्यबाट सही ढंङ्गले कार्यसम्पादन पनि हुन सक्दैन।
सच्चा सम्मानको भाव योग्य व्यक्ति प्रति मात्रै हुन्छ। यहाँ कामका लागी खाली दक्ष जनशक्ति चाहिएको छ। त्यसका लागी प्रतिस्पर्धामा खरो उत्रन सक्नुपर्छ र प्रतिस्पर्धाले नै मान्छे खारिन्छ। कुनै पनि परीक्षामा सन्सारका फरक फरक देश र संस्कारका मान्छेलाई एउटै प्रश्नावली दिइन्छ, जो योग्य छ उ पास हुन्छ र अयोग्य फेल हुन्छ। हामी सबै नेपाली एउटै र निश्चित किसिमको वातावरण र जीवन शैलीमा हुर्किएका हौँ, एउटै स्कुल पढेका हौँ, एउटै धाराको पानी पिएका हौँ, हाम्रो दुःख सुख पनि एकै प्रकारको छ ।तर किन अमेरिकामा यसरी मानवीय सम्बन्धलाई जातीय राजनीतिले जितेको हो भन्ने कुरा मैले बुझ्नै सकिन।
मैले न्यु योर्कको सडकमा भेटिएका एउटा तामाङ वा लिम्बु थरका मानिसलाई भेटेँ भने दाइ भनेर आत्मीय पूर्वक सम्बोधन गर्ने कि के नगर्ने? मैले बोलाए भने ए बाहुनीसँग के बोल्नु भनेर मुन्टो बटार्ने? एउटा लिम्बु वा मगरले मलाई म बाहुनी भएको आधारमा डेरा नै नदिने वा संकट परेको बेलामा मलाई सहयोग नै नगर्ने?? किन अमेरिकामा आएर पनि रेसिजमको कसरत गर्ने? यसको बीजारोपण कसले गरिराखेको छ? यसले हामीलाई कता कुन दिशा तर्फ लगिराखेको छ? यो प्रश्नको जवाफ जातीय राजनीति गर्नेहरूले नै दिनुपर्छ। के म अब न्यु योर्कमा बासका लागी डेरा खोज्दै बाहुन कै घरमा मात्रै जाने?
निष्कर्ष के हो भने, हामीले अमेरिकामा बाच्न धेरै नै संघर्ष गर्नै पर्छ।त्यसैले हामी सबैको सम्बन्ध चाहिँ नङ र मासुको जस्तै हुनुपर्छ। पहिला हामी र हाम्रो सोच परिवर्तन हुन जरुरी छ। हामी सबै नेपाली अटाउने र सबैको हित हुने एउटै मात्रै छाता संगठन खोल्न जरुरी छ। जातियताको राजनीति यहाँ जरुरी छैन। जात जाती को रूपमा हैन नेपालीले नेपालीको रूपमा मात्रै हेर्न जरुरी छ।
र यो पनि…
के महिलाहरु सस्ता माल नै हुन् त?