११ हजार लेबनानी नागरिकलाई अमेरिकामा बस्न र काम गर्न थप ६ महिनाको अनुमति
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा बसोबास गरिरहेका करिब ११,००० लेबनानी नागरिकलाई डिपोर्टबाट जोगाउने तथा काम गर्ने अनुमति दिने टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) लाई थप ६ महिनाका लागि विस्तार गरेको छ ।
यो निर्णय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले घोषणा गरेको हो । ट्रम्प प्रशासनले विगतमा विभिन्न देशका (टिपीएस) कार्यक्रमहरू समाप्त गर्ने प्रयास गरेको अवस्थामा यो कदमलाई असामान्य मानिएको छ ।
लेबनानको दक्षिणी क्षेत्रमा इजरायली सेना र हिज्बुल्लाह लडाकुहरूबिच जारी द्वन्द्वका कारण त्यहाँको सुरक्षा अवस्था अझै नाजुक रहेको छ । यही पृष्ठभूमिमा (टिपीएस) विस्तार भएको हो ।
यो विस्तार प्रशासनको प्रत्यक्ष निर्णयबाट नभई कानुनी प्रक्रियाअन्तर्गत स्वतः लागू भएको हो । सरकारले समयसीमाभित्र (टिपीएस) सम्बन्धी निर्णय गर्न नसकेपछि अमेरिकी कानुनअनुसार उक्त सुरक्षा स्वतः ६ महिनाका लागि बढाइएको हो ।
(टिपीएस) कार्यक्रम सन् १९९० मा अमेरिकी कङ्ग्रेसले स्थापना गरेको थियो । प्राकृतिक विपत्ति, युद्ध वा नागरिक अशान्ति भोगिरहेका देशका नागरिकलाई आफ्नो देश फर्कन बाध्य नपार्न यो व्यवस्था गरिएको हो । यसअन्तर्गत लाभग्राहीहरूले अमेरिकामा बस्न र काम गर्न पाउने अधिकार प्राप्त गर्छन् ।
ट्रम्प प्रशासन सुरु हुँदा (टिपीएस) अन्तर्गत १७ देशका १० लाखभन्दा बढी आप्रवासी सुरक्षित थिए । यसअघि प्रशासनले भेनेजुएला, हाइटी, निकारागुआ र सिरियालगायत १३ देशको (टिपीएस) सुरक्षा समाप्त गर्ने प्रयास गरेको थियो ।
(टिपीएस) कार्यक्रमलाई लिएर अमेरिका भित्र बहस पनि जारी छ । आलोचकहरूले यसलाई अस्थायी कार्यक्रम भए पनि व्यवहारमा दीर्घकालीन बसोबासको माध्यम बनेको आरोप लगाउँदै आइरहेका छन् ।
(डिएचएस) को सूचनाअनुसार पूर्व गृह सुरक्षा सचिव क्रिस्टी नोयम र वर्तमान सचिव मार्कवेन मुलिन ले लेबनानको (टिपीएस) सम्बन्धी “सूचित निर्णय गर्न पर्याप्त आधार प्राप्त गर्न नसकेको“ उल्लेख गरिएको छ ।
यस विस्तारसँगै (टिपीएस) अन्तर्गत रहेका लेबनानी नागरिकहरूले आवश्यक योग्यता कायम राखेमा नोभेम्बर २७, २०२६ सम्म आफ्नो कानुनी सुरक्षा र काम गर्ने अनुमति कायम राख्न सक्नेछन् । उनीहरूलाई जारी गरिएका कार्य अनुमति पत्रहरू पनि सोही मितिसम्म मान्य रहनेछन् ।
ट्रम्प प्रशासनको कार्यकालमा (टिपीएस) स्वतः विस्तार भएको यो दोस्रो घटना हो । पहिलो पटक दक्षिण सुडानका नागरिकका लागि यस्तो भएको थियो । त्यसको सुरक्षा अन्ततः नोभेम्बर २०२५ मा समाप्त गरिएको थियो ।
हाल विभिन्न संघीय अदालतहरूमा (टिपीएस) समाप्त गर्ने सरकारी निर्णयविरुद्ध मुद्दाहरू चलिरहेका छन् । यस गर्मीयाममा हाइटी र सिरियाका (टिपीएस) लाभग्राहीसँग सम्बन्धित अमेरिकी सर्वोच्च अदालतको निर्णयले अन्य मुद्दाहरूमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
मानवअधिकार पक्षधर संस्थाहरूले लेबनानी नागरिकका लागि (टिपीएस) विस्तारको स्वागत गरेका छन् ।

















