कलाले सिर्जना गरेको सौन्दर्य भित्र न्युक्यासल
कमल खनाल
दिनको चार बजेको थियो होला हामी न्युक्यासल हार्बर पुग्दा । न्युक्यासलको सौन्दर्य भित्र दुई घण्टा हराइयो।निस्कन हामीलाई थप एक घण्टा लाग्यो। न्यूक्यासल एउटा ऐतिहासिक र परम्परागत रूपमा अबावाकल र ओरिमी जातिहरू बस्ने भूमि रहेछ । यहाँको भूमि र पानीले परम्परागत जातिहरूको संस्कृति कथा र अधिकारका बारेमा जानकारी गराउने रहेछ। देशलाई भाषा धर्म र संस्कृतिले मात्र जीवित राख्न सक्छ भन्ने मान्यता रहेछ। न्यूक्यासल। न्यूक्यासल यस्तो ठाउँ, जहाँ जाति,भाषा र धर्म संस्कृतिलाई विभिन्न माध्यमबाट जोडिएको रहेछ। यहाँका महत्त्वपूर्ण स्थानहरू आदिवासीका नामबाट चिनिदा रहेछन् र ती नामहरूलाई आधिकारिक मान्यता पनि दिइएको रहेछ। जुन भूमिमा आदिवासीहरूको संस्कृतिलाई बेवास्ता गरिएको थियो त्यस अवस्थालाई अन्त्य गर्न गरिएको ऐतिहासिक सम्बोधनलाई महत्त्वपूर्ण कामका रूपमा चिनिँदो रहेछ। न्युक्सयालका आदिवासीहरूलाई मुलुबिनबाकल (पुरुष) र मुलुबिनबाकलेन (महिला) भनिँदो रहेछ।
ब्हिबायगान्बा र नोबिसहेड आदिवासी नामबाट राखिएका दीपका नामहरू रहेछन्।अहिले घुन्नकालागि बनाइएका र विभिन्न नाम दिइएका स्थानहरू आदिवासीहरूले मनोरञ्जनका लागि प्रयोग गरिँदै आएका ठाउँहरू रहेछन् । “नोबिस हेड” न्यूक्यासल शहरको प्रतिकका रूपमा रहेको एउटा चट्टान हो । जुन चट्टानमा लाइटहाउस निर्माण गरिएको छ। त्यो लाइट हाउस न्युक्यासलको महत्त्वपूर्ण सम्पत्ति बनेको रहेछ। १८५७ मा बनाइएको नोबिस लाइट हाउस एउटा आइसल्यान्ड हो जुन ठुलो ढुङ्गा ले बनेको छ जसलाई नोबिस हेड भनेर चिनिन्छ। साठी मिटर अग्लो रहेको नोविस हेड आइसल्याण्डलाई २८ मी होचो बनाइयो। त्यस पछि मात्र यहाँ गरिने व्यवस्थापन सजिलो भएको रहेछ। नोविस हेड लाइट हाउसबाट न्युक्यासलको सुन्दर र रमणीय दृश्य पुरै देख्न सकिन्छ। गोल्डन बिच देखि ब्रेकवालसम्मका दृश्यहरूले मानिसको मनलाई एकीकृत बनाइ रहेको हुन्छ। कसैले समाती रहेको छ जस्तो बनाउँदो रहेछ। छुटाउन कठिन हुन्छ।
अर्को यस्तै ठाउँ ” ब्रेकवाल” रहेछ । यहाँबाट लाइट हाउसको भिजिट गर्न सकिन्छ। लाइट हाउसको तल्लो भागमा मानिसहरू हिँड्नका लागि बनाइएको आस्फाल्ट रोड १८१८ मा सुरु गरिएको, दिन र रातमा समेत काम गर्दा पनि तयारी हुन ३८ वर्ष लागेको रहेछ। यो रोडले यस्तो आनन्द दिन्छ कि साउथ प्यासिफिक ओसनको ब्रिज हो कि जस्तै महसुस गराउँछ। दायाँ बायाँ समुद्र बिचमा रहेको ब्रेकवालमा हिँड्दा प्राप्त हुने आनन्द ,शीतलता र सौन्दर्यको अनमोल दृश्यले मन हावामा उडिरहेको अनुभूति गराउँदो रहेछ। समुद्रबाट उत्पन्न छालहरू सडक मै आएर स्पर्श गर्दो रहेछ।
यस्तै अर्को आनन्द प्राप्त गर्न सकिने स्थान रहेछ “बाथर वे कोष्टल वाक”। न्युक्यासलको एक मात्र फेमस “वाक वे” ५ किमी को ट्रेल,। हामी त्यहाँ पुग्न सकेनौ। हामीसँग समय थिएन। हेर्न र आनन्द लिनका लागि धेरै ठाउँहरू रहेछन् हेर्नु पर्ने र पुग्नु पर्ने तर सकिएन । न्युक्यासललाई साइड भिजिटमा मात्र राख्यौ। त्यहाँ पुगे पछि पछुताउन पर्यो। बस्ने र हेर्ने समय थिएन।
बोगी होल,गोल्डेन बिच, न्यूक्यासल मेमोरिएल वाक , हन्टर भ्याली र ग्लेनरक स्टेट संरक्षण एरिया। न्यूक्यासल पोर्ट ट्राफिक जस्ता सुन्दर र प्रसिद्ध ठाउँहरू रहेछन्। न्युक्यासललाई हामीले भ्रमणको प्राथमिक सूचीमा राखेका थिएनौ।त्यसैले हेर्नै पर्ने स्थानहरू छोड्नु पर्यो। तर पनि नोविस हेड लाइटहाउस र ब्रेकवालले पनि मानिसहरूलाई भरपुर आनन्द दिँदो रहेछ।त्यसले दिने आनन्द लियौ।
अस्ट्रेलिया भौगर्भिक हिसाबले भूकम्प जोखिम क्षेत्र नभएता पनि २८ डिसेम्बर १९८९ मा ५.६ रेक्टर स्केल मापन गरिएको भूकम्प गएको रहेछ। १३ जना मानिसको ज्यान सहित १६० भन्दा बेसी मानिसहरू घाइते भएका र धेरै घरहरू भत्किएका रहेछन्। १ माघ १९९० मा नेपालले पनि त्यस्तै भूकम्पबाट ठुलो क्षति बेहोर्न परेको थियो। भूकम्प कति रेक्टर स्केलको गएको थियो। तत्कालीन समयमा मापन गर्न नसकिएता पनि क्षतिका हिसाबले ६ रेक्टर स्केल भन्दा सानो नभएको अनुमान गर्न सकिन्छ। १९८८ पछि अस्ट्रेलियाले ठुलो भूकम्पको क्षति ब्यहोर्न पर्यो, भयानक सामुद्रिक आँधी आयो र तबाह बनायो। दोस्रो बिश्वयूद्धको सामना गर्नु पर्यो। तर पनि अस्ट्रेलियाको विकास युरोप र अमेरिकाको हाराहारीमा पुग्यो। जति दुःख झेल्नु पर्यो त्यति नै अगाडि बढ्न प्रेरणा मिल्यो। दुःखको चोटले आजको अस्ट्रेलिया बनेको हो। तर हामीले ब्यहोर्ने प्राकृतिक प्रकोप भनेको भूकम्प मात्र हो। १९९०, २०४५ र २०७२ मा गरी तिन पटक ठुला भूकम्पहरू गए । धन जनको ठुलो क्षति भयो।
भूकम्पको त्रास हाम्रोमा जीवित छ। भरखरै पनि जाजरकोट र रुकुममा पनि धनजनको क्षति हुने गरी भूकम्प गएको थियो। समय उस्तै उस्तै हो, दुःख हामीले भन्दा अस्ट्रेलियाले धेरै ब्यहोर्न पर्यो। अस्ट्रेलियाले दुःख सम्झेर काम गर्यो। हामीले दुःख भुलेर काम गर्यौ।अस्ट्रेलिया सम्पन्नताको नजिक पुग्यो। हामीले विपन्नतालाई उछिन्न सकेका छैनौ। दुःखलाई सजाय दिने तिर लागेनौ।अनि हामी यो भएन त्यो भएन भनेर अलाप विलाप गर्छौ। हाम्रो नियति!
नोबिस हेड गोल्डन बिच र ब्रेक वाल क्यानबेरा जाँदा
ब्रिसवेन पछिको अर्को यात्रा क्यानबेरा का लागि भयो। १७ जनवरी २०२४ बुधवारका दिन। ११.२२ भएको थियो हामी घरबाट निस्कँदा। दुई तिन दिन देखि नै मौसम खुसी थिएन । अलि खुन्सिएको थियो। वर्षा भइरहेको थियो। हुन त गर्मी याममा बादल र पानीले पनि आनन्द दिन्छ। यात्रामा यात्रीहरूको चाहना बाटो भरिका दृश्यहरूलाई आँखामा सजाउने र कतिपय दृश्यहरूलाई क्यामेरामा समेत कैद गर्ने हुन्छ। त्यसैले मौसम सफा भइदिए हुन्थ्यो भन्ने चाहना थियो। तर दिन भरि मौसम खुलेन। हाम्रा सबै चाहनाहरूलाई वर्षाले रुझायो। भिजायो। सिड्नीबाट क्यानबेराको तीन घण्टाको समय गाडी भित्र नै बसेर बिताइयो। भेडोमा रेष्ट गरियो ,कफी पियौ। पानीले त्यहाँ पनि फोटो खिच्ने अनुमति दिएन। हामी हिँड्यौ। क्यानबेरा पुगेर खाना खाइयो। त्यो रात क्यानबेरालाई सुम्पियौ।
सौन्दर्य शास्त्र भित्र बुन्साइ ट्री
अर्को दिन बिहान नेसनल बुन्साइ एन्ड पेन्जिङ्ग संग्रालयमा पुगियो। जहाँ बोन्साइ ट्री हरू रहेछन्। ती ट्री हरू हजारौँ वर्ष पुराना रहेछ। रमाइलो किसिमले सजाएर राखिएको थियो संग्रालयमा। घरको भित्र पट्टी डेकोरेशनका लागि राखिने साइज र हाइटका थिए। पुराना र ठुला रुखहरूलाई लघुपन दिएर मिलाउनु पनि एउटा कला हो। जापानमा यो कला संस्कार र संस्कृतिका रूपमा विकास भएको रहेछ।
अस्ट्रेलियामा पनि बोन्साइकै रूपमा भित्रिएको र त्यसको व्यवस्थित संरक्षण र संग्रह गरिएको रहेछ। ठुलो पार्क निर्माण गरिएको पार्क घुम्न आउनेहरूको सुविधाका लागि फूडस्टलहरू राखिएको रहेछ। त्यहाँबाट पुरै क्यानबेराको दृश्य देख्न सकिने सरर सरर हावा चलिरहनाले गर्मी मौसममा पुग्नेहरूका लागि यो ठाउँ उपहार जस्तै लाग्ने रहेछ।
आगोले खाएको डाँडा
बास्तुका हिसाबले घर र घर वरपर राख्न नहुने बोन्साइ ट्री मूल्यका हिसाबले १.३ मिलियन सम्म बिक्री भएको रहेछ। अस्ट्रेलियाले २००३ मा आगोले खाएर खुरिखन्ड भएको डाँडालाई जीवन दिएको रहेछ।नेसनल आर्बोरेटम गार्डेन चार सय हेक्टर जमिनमा फैलिएको रहेछ। जहाँ साना साना रूखहरू रोपेर पार्क बनाएको रहेछ। त्यही पार्क भित्र बोन्साइ ट्री को संग्राहालय स्थापना गरिएको रहेछ। यसको महत्त्वपूर्ण दार्शनिक अर्थ र सिद्धान्त “नम्रता र मर्यादा” रहेछ। बूढा र वृद्धहरूलाई “श्रद्धा र सम्मान” रहेछ।
बोन्साइ ट्री उत्पादन गर्ने कलालाई विज्ञानका रूपमा व्याख्या गरिएको रहेछ। जापानमा यसको अभ्यास १२०० वर्ष र चाइनामा १४०० वर्ष पहिले देखिनै हुँदै आएको मानिएको रहेछ। बौद्ध भिक्षुहरूले १२०० वर्ष पहिले चीनबाट जापानमा पेन्जिङ्गमा कला ल्याएको भनिन्छ। बूढा पुराना र ठुला रुखहरूलाई लघु संस्करणमा उत्पादन गर्न सक्नु पनि एउटा कला हो जुन कलामा कला,कौशल ,सीप ,सृजनशीलता र सौन्दर्य देखियो। यति सम्मकी १९४५ मा अमेरिकाले हिरोसिमामा खसालेको बमले हिरोसिमा पुरै जलेर खरानी हुँदाँ पनि एउटा बोन्साइ ट्री जोगिएको रहेछ। यसरी हजारौँ वर्ष पुरानो कला र संस्कृतिका रूपमा रहेको बोन्साइ ट्री यति वेला संसार भर पुगेको छ र संस्कृति र संस्कारको स्वरूप ग्रहण गर्न थालेको छ।
बोन्साइ संस्कार र संस्कृतिको प्रभावले “चेरी ब्लोम” को उत्पादन भयो। एउटा सुन्दर रूख “ जन्मियो। चेरी ब्लोम आज जापानको गिफ्ट आइटम बनेको छ जापानमा यसलाई “साकुरा” नामले चिनिने रहेछ।२७ मार्च १९१२ मा जापानले अमेरिकालाई तीन हजार चेरीब्लोमका बिरुवा वासिङ्टन डी सीमा रोपेर उपहार दिएको रहेछ। आज चेरीब्लोम संसार भर प्रख्यात छ। अप्रिलको अन्त्य र मे को पूर्वार्द्धमा त कामुक सौन्दर्य प्रदर्शन गर्दो रहेछ चेरी ब्लोमले।यसको सुन्दरतालाई जापनिज संस्कृतिमा धनीको प्रतिकका रूपमा समेत लिइँदो रहेछ त्यसैले सृजनशीलता र सौन्दर्य शास्त्र कलाको अंश हो भनिएको रहेछ।
(लेखक राष्ट्रिय खेलकुद परिषद्का पूर्व अधिकृत हुन। हाल उनी अष्ट्रेलिया भ्रमणमा छन्। सं.)