अराजक प्रेमको अविच्छिन्न सन्तुष्टि गोलकोष्ट : कमल खनाल
ग्लास हाउस माउन्टेन
सनसाइनकोष्ट छोड्न निकै कठिन भयो। चर्को घाम र पानी बिचको सम्बन्ध टुटाउन मन थिएन। पश्चिम तिर फर्केको तटीय क्षेत्रमा हामी थियौ। तातो घाम र पानीको आनन्द लिन सकिने समय बाँकी नै थियो। घाम र पानीको मात्र सम्बन्ध थिएन त्यहाँ । सम्बन्ध सर्वाङ्ग र अर्धाङ्गको पनि थियो प्राकृतिक सौन्दर्ययताको पनि थियो। तर समयले दबाब दियो र छोडियो सनसाइनकोष्ट। अब हाम्रो मन ग्लास हाउस माउन्टेनमा गएर जोडियो।
करिब ७६ कि मि पार गरे पछि मात्र ग्लास हाउस माउन्टेन पुगिने रहेछ। माउन्टेन भन्ने बित्तिकै पहाडको अग्लो भाग भनेर बुझिन्छ। तर ग्लास हाउस माउन्टेनबाट अझ अग्ला र प्रकृतिले फरक ढङ्गबाट निर्माण गरेका चट्टाने पहाडहरूको दृश्यावलोकन गर्न पाइने रहेछ। यी दृश्यहरू अझ रोचक र सम्झन लायक थिए। ग्लास हाउस माउन्टेनबाट देखिने चार वटा अग्ला चट्टाने पहाड फरक फरक आकृतिमा देखिन्थ्यो।
हुन त यी पहाड भन्दा अग्ला अग्ला चट्टाने पहाडहरू नेपालमा प्रशस्त छन्।हाम्रा पहाडहरूको मूल्य स्थापित गर्न नसक्दा परदेशका चट्टाने पहाडहरूले दुनियाँको मन तान्न सकेको हो। रमाइलो दिन सकेको हो। यस्तै यस्तै ठाउँ हेर्न परेको हो। समुन्द्र सतह देखि चार हजार फिटको उचाइ भन्दा माथि सम्मका पहाडहरूलाई हामीले सिरानी बनाएर राखेका छौ। लुकाएर राखेका छौ। बाहिर निकाल्न सकेका छैनौ। अरूहरूले चट्टानी पहाडको पिठो बेचे तर हामीले सुन्दर पहाडको चामल कुहाएर फालेका छौ। कला र गला व्यापारमा अपार हुन्छ। त्यही कला र गलाले सिर्जना गरेको ग्लास हाउस माउन्टेन बाट देखिएका चट्टाने पहाडहरू हेर्दै हेर्दै केही घण्टा बितायौ।
पहाडमा जन्मेर, हुर्केर पनि पहाड हेरेर घन्टौ बिताउनु भनेको सामान्य कुरा थिएन। आश्चर्य थियो। हेर्यौ सोच्यौ र फर्कियौ। तनहूसुर र मानुङ्ग जस्ता हाइवे नजिक रहेका ऐतिहासिक र दर्शनीय ठाउँहरू खेर गएका छन्। यस्तै धेरै पहाडहरू देशै भरि छन्। हामी समुन्द्री सतहबाट ३७७ देखि ५५६ मिटर अग्ला चट्टाने पहाडहरू हेरेर रमायौ। तिनै चट्टाने पहाड हेर्न ग्लास हाउस माउन्टेन पुगियो। त्यसैमा पनि हामी रमायौ।
समतल भूभागमा केही अग्ला देखिने पहाडहरूले पनि मानिसहरूलाई भुलाउन सक्ने रहेछ। हाम्रा बाँदर लड्ने भीरहरू कसरी देखाउने ? कहिले देखाउने? कहिले योग्य हुन्छन् हाम्रा पहाडहरू हेर्नका लागि? हामी किन सौन्दर्य भर्न सक्दैनौ हाम्रा पहाडहरूलाई ? हाम्रा पहाडका अग्ला डाडाँ र भूभागहरू योग्य हुनलाई के ले रोक्यो? कतिपय हाम्रा ऐतिहासिक पृष्ठभूमि बोकेका पहाडहरूछन्।
हामीसँग अग्ला पहाड देखि होचा जमिन सम्म छन्। देखाउन लायक ठाउँहरू छन्। तर देखाउन सकिएको छैन। अग्लो स्थानबाट होचा र समतल भूभाग हेर्दा यसै पनि रमाइलो हुन्छ। यस्तै सोचबाट व्यवस्थित किसिमले देखाउन बनाइएको ग्लास हाउस माउन्टेन पर्यटकीय हिसाबले पुग्नै पर्ने ठाउँ जस्तो बनाएका रहेछन्।
ग्लास हाउस माउन्टेन कङ्गारुहरूले विचरण गर्ने क्षेत्र पनि रहेछ। साना र सेता खालका कङ्गारुहरू जङ्गल भित्र चरिरहेका देखिन्थ्यो। अग्ला र होचा पहाडहरू र साना र सेता कङ्गारुहरू हेर्यौ। यस्तै यस्तै दृश्यहरू बाट आनन्द लिइरह्यौ। ग्लास हाउस माउन्टेनको दृश्यावलोकन पछि घर फर्कियौ। दिनभरिको दौडाइ र पौडीले थकित बनाएको शरीर थियो। मीठो निद्रा लाग्दा लाग्दै रात बितेको पत्तो नै पाइएन। उज्यालोले आँखा खोल्न दबाब दिए पछि मात्र उठिएछ।
ग्लास हाउस माउन्टेन,गोलकोष्टको वास्तविकता र चर्चा
गोलकोष्टको नाम नसुन्ने सायदै मानिस होलान्। नाम मात्र होइन गोलकोष्टको काल्पनिक चित्र कोरेर रमाउने पनि होलान्। गोलकोष्ट कस्तो होला भन्ने उत्सुकता नाम सुन्ने सबैलाई हुन सक्छ। अनौठो लाग्न सक्छ। गोल्डकोष्ट भन्ने बित्तिकै प्रशस्त सुन पाइने ठाउँ हो कि भन्ने पनि लाग्न सक्छ। हुन त सुन नपाइए पनि सुन किन्ने हैसियत बनाएको रहेछ गोलकोष्टले।
संसारकै पर्यटकीय केन्द्रका रूपमा स्थापित भइसकेको रहेछ। गोलकोष्टको वार्षिक आम्दानी ४०,९८४ मिलियन डलर रहेछ। १९.८ प्रतिशत प्रति परिवारले एक हप्तामा तीन हजार डलर र १०.१ प्रतिशत प्रति व्यक्तिले हप्तामा दुई हजार डलर सम्मको आम्दानी गर्ने रहेछन्। गोलकोष्टमा बसोबास गर्ने मानिसहरू संसारकै भाग्यमानी मानिस हुन जस्तो लाग्छ। प्रकृतिले दिएको उपहार सम्पन्नताका आधार बनेछन्।
यहाँ पर्यटकहरूलाई आकर्षण गर्ने धेरै परिस्थितिहरू सिर्जना गरेका रहेछन्। दिन र रातमा फरक फरक किसिमका रमाइला दृश्यहरूबाट भरपुर मनोरञ्जन पाउन र लिन सकिने रहेछ। त्यसैले गोल्कोष्ट आउँदा केही रात बिताउने गरी आउने रहेछन् मानिसहरू। जो एक दिनका लागि मात्र आउँछ उसले गोलकोष्टले दिने मनोरञ्जन आधा मात्र प्राप्त गर्ने रहेछ। प्रचण्ड तातो सूर्यलाई पनि पानीले भिजाएर शीतलता दिन सक्ने र रातको चिसोलाई पनि न्यानो दिन सक्ने क्षमता गोलकोष्ट राख्दो रहेछ।
अस्ट्रेलियन हरूको बिदा मनाउन जाने पहिलो रोजाइको स्थान पर्दो रहेछ गोलकोष्ट। अझ हाई स्कुलको बिदा भएको समय होस वा हाई स्कुल जीवन पुरा गरेका केटाकेटीहरूले पुरै गुलजार नै बनाइ दिने रहेछन्। गोलकोष्टले प्रकृतिको वरदान नै प्राप्त गरेको रहेछ।
हुन त “गोलकोष्ट” अफ्रिकी देश घाना जति बेला ब्रिटिसको कोलोनी थियो त्यति बेला घानालाई पनि गोलकोष्टका नाममा चिनिन्थ्यो। अफ्रिकाको यस क्षेत्रका नदी किनारहरूमा त सुन पनि पाइन्थ्यो भनिन्छ। ६ मार्च १९५९ मा घाना स्वतन्त्र भए पछि गोलकोष्ट “रिपब्लिक अफ घाना“ भएको थियो। गोलकोष्ट भन्ने नाम हटाइएको थियो। कोलोनियल नामलाई पश्चिम अफ्रिकी देश घानाले पुन संस्मरण गर्न चाहेन र घाना राखियो।
मुलत गोलकोष्ट समुद्रको किनारमा निर्माण भएको शहर, संसारमै लामो र आश्चर्य जनक बिच एकै ठाउँमा बसेर सबै देखिन सकिने दृश्य । सुनौलो बालुवा सफा पानी, समुद्रबाट निस्कने निरन्तरको छाल र छालको गति आकार र उत्पन्न हुने फिँज र फोकाहरू धेरै पर देखि आएको देख्न र रम्न सकिने छ । समुद्रका किनारैमा बनाइएका पार्क र ट्रेलले समुद्रमा जलक्रीडा गर्ने र हेर्ने दुबैलाई आनन्द दिन सक्ने रहेछ।यिनै दृश्यहरू पनि दिनमा एक किसिमले र रातमा अर्कै किसिमले सौन्दर्य दिन सक्ने हुँदो रहेछ। अझ ठुला भवनको माथिल्लो तलामा बसेर देखिने दृश्यलाई कसरी वर्णन गरौँ खै ! त्यो अनुभूतिको शब्द निर्माण हुनै सकेको छैन कि जस्तो लाग्छ।
अस्ट्रेलिया पुगे पछि जो कोही पनि एक पटक गोलकोष्ट पुग्ने लक्ष्य राखेका हुन्छन्। सिड्नी बाट आठ सय पैँतालिस कि मी गोलकोष्ट पुग्न लाग्ने रहेछ। गोलकोष्टका मुख्य आकर्षक भनेका आश्चर्यजनकबीचहरू ,नाइट लाइफ ,थेमपार्क,सपिङ र हिन्टर ल्यान्ड ( भित्री भूमि) नै रहेछन्।
समुद्रको वेभबाट निस्कने सर्फ ब्रेक अर्को आकर्षण रहेछ। संसारका कुनै पनि ठाउँमा यति लामो बिच कहीँ कतै पाइँदो रहेनछ। यो बिच चौँवालिस माइल टाढा सम्म फालिएको रहेछ। बिचेजहरू र समुद्रको धेरै परबाट निरन्तर उठेका वेभहरू, वेभले निकालेका सेता फिँजहरू,फिँजका फोकाहरू र किनारामा आएर विश्राम लिएको क्षण अत्यन्तै मनमोहक हुदोरहेछ।
मौसमको दबाब परेन र स्वतन्त्र किसिमले समुद्र चलायमान हुन पाएको अवस्थामा सामुन्द्रिक छालहरूको आकार, गति र आवाजले मानिसहरूलाई तनमय बनाइ दिने रहेछ। आफैलाई नै कहिले हराए जस्तो, कहिले के भूलेजस्तो, यता हेरौँ कि, उता हेरौँ जस्तो बनाउँदो रहेछ। पुरै मन मस्तिष्क र शरीरलाई एकीकृत बनाउन सक्ने क्षमता भएको प्यासिफिक सी का वेभहरूले प्रेमिका आफ्नो प्रेमीको काखमा बसेर चुम्बन दिए जस्तै गरेर हरेक मानिसहरूलाई चुम्बन प्राप्त गरेको अनुभूति हुने रहेछ।
मन चोरिरहेको चोरिए जस्तो, हावाले चिहाइरहेको जस्तो अनुभूतिले मानिसहरूको मनलाई परिवर्तन गरिरहेको हुने रहेछ। काउकुती लागेर खुसीले आत्तिएको जस्तै गरेर अराजक प्रेमको अविच्छिन्न सन्तुष्टि प्राप्त हुने रहेछ। प्यासिफिक सी का छालहरूले कहिल्यै विश्राम लिन पाउने रहेनछन् । यो बाध्यता प्रकृतिले सिर्जना गरिदिएको रहेछ।घामले टल्किने बालुवा, समुद्रबाट निस्कने फिजंको संयोजन हेर्दा हेर्दै सबै कुरा छुटिसकेको पत्तो नपाइने रहेछ।
मानिसलाई एकतमासको बनाउने रहेछ । दायाँ बायाँ कतै नफर्कीकन हेरेको हेरै बनाउने रहेछ। आँखाले देख्न भ्याइन्जेल सम्मको क्षितिजबाट उठेर आएका वेभहरूले कस्तो आनन्द दिन्छ थाहा नहुने रहेछ। आँखामा समेट्न निक्कै गाह्रो हुने रहेछ । बोटमा चढेर सामुद्रिक छालसङै खेलिने साहसिक खेलले दिने आनन्द खेले पछि मात्र थाहा पाइने रहेछ। स्यान्ड ,सन र सर्फको बेजोड मिलन नै गोलकोष्टको चमत्कारिक र स्वर्गीय आनन्द हो रहेछ। त्यसैले गोलकोष्टलाई स्वर्गीय आनन्द प्राप्त गर्ने ठाउँ भनिएको रहेछ।
अस्ट्रेलिया पुगे पछि गोलकोष्ट जाने र हेर्ने रहर सबैको हुन्छ। संसारकै ध्यान खिच्ने गोलकोष्टमा अस्ट्रेलिया पुग्ने जो कोही पनि एक पटक गोलकोष्ट पुगेर रमाइलो गर्न चाहन्छन्। त्यसैले सुनेर होइन आफै पुगेर नजिकबाट गोलकोष्टलाई नियाल्ने ,हेर्ने, बुझ्ने आनन्द लिने मेरो सोच पुरा गरेकै छु ।
हप्ता दिन देखि परेको पानीले ब्रिसवेन झोक्राइ रहेको थियो। पानीले सर्वाङ्ग भिजेको ब्रिसवेनलाई उष्णता चाहिएको थियो। नयाँ वर्षको दोस्रो दिन बडो सुन्दर दिनका रूपमा देखा पर्यो। भिजेका अङ्गहरू सबै सुक्ने गरी बिहानै देखि सूर्यका किरणहरू पृथ्वीमा आइपुगे। सबैका घरका ढोका खुल्ला भए सबै बाहिर निस्के ,हामी पनि निस्कियौ। हाम्रो गोलकोष्ट जाने कार्यक्रमलाई मौसमले ऊर्जा थपिदियो।गोलकोष्टका लागि प्रस्थान गर्यौ। दिनको एक बजे साउथ कोष्ट पुग्यौ।
गोलकोष्ट त “निकनेम “रहेछ साउथ कोष्टको। १९५० देखि साउथ कोष्टलाई गोलकोष्ट भन्न थालिएको रहेछ। अस्ट्रेलिया समुद्रले घेरिएको देश,जहाँ बाह्र हजार बीचहरूछन्। साठी हजार कोष्टले लाइनहरू रहेछन्। प्रतिदिन एउटा बिच पुग्ने हो भने पनि सबै बिच पुग्दा बत्तिस वर्ष लाग्ने रहेछ। संसार मै यति धेरै र सुन्दर बिचहरू अन्त कतै पाइँदो रहेनछ। जुन बिच गोलकोष्टमा मात्र देख्न सकिन्छ र रमाउन सकिन्छ।
ब्रिसवेन यात्राको अन्तिम दिन
आज ब्रिसवेन यात्राको अन्तिम दिन। बिहानै उठेर ब्रिसवेन छोड्ने निर्णय गर्यौ। ब्रिसवेनको समय अनुसार बिहानको ६.१२ बजेको थियो। चिसो हावा चलिरहेको थियो। बदलिएको आकाश भित्रबाट सूर्यका किरणहरू बाहिर निस्कन कोसिस गरिरहेका थिए। त्यसै समयमा हामी सिड्नीका लागि साइत गर्यौ। घरबाट हिँडेको केही समयमा नै २.१५ मिनटको लामो टनेल भित्र पसियो। निस्कँदा प्यासिफिक हाइवे छोइएको रहेछ। अब को नौ घण्टा प्यासिफिक हाइवे सँग हाम्रो सम्बन्ध जोडियो। हामी सडक ट्राफिक छल्नका लागि सखारै निस्केका थियौ। ३६ मिनट पछि कलिलो घामले हामीलाई स्पर्श गर्यो। अझै पनि बादललाई झुक्याउँधै घामका किरणहरू पृथ्वीतिर झर्न खोजिरहेका थिए। धमिलो मौसमको कारणले घामको कुनै उत्तेजना देखिन्थेन।
सडकबाट आएको गाडीको आवाजले मनलाई एकतमासको बनाइ रहेको थियो। स्पिड मेन्टेन नगरेको कारण एउटा गाडिलाई पुलिसले समात्यो। बिस्तारै सडकमा गाडीको चाप बढ्दै थियो। २०३२ मा अस्ट्रेलियाले आयोजना गर्ने ब्रिसवेन ओलम्पिकको तयारी भइरहेको थियो। ब्रिसवेन ओलम्पिकलाई ध्यान दिएर प्यासिफिक हाइवेलाई चौडा बनाउने काम भइरहेको थियो।
ब्रिसवेनबाट न्यूसाउथ वेल्ससम्म २१ वटा ठुला रिभर क्रस गरियो। जहाँ साना बोट र मझौला फेरीहरू चलिरहेका देखिन्थे। ट्विट भ्याली पुगे पछि ठुला र फराकिला कृषि फार्महरूले जमिनलाई ऊर्जाशील बनाइ रहेको देखियो। ठुला ठुला प्लटहरूमा फलफूलका बिरुवाहरू व्यवस्थित किसिमले लगाइएका देखिन्थे। प्यासिफिक हाइवेको ९१८ किमी लामो यात्रामा समेत कङ्गारु कतै देखिएनन्। सडकका दायाँ बायाँ जङ्गलहरू थिए। मौसमले सडकयात्रालाई साथ दिइरहेको थियो।
हाइवेका बिच बिचमा छोटा छोटा टनेलहरूले सडकलाई शोभा दिइरहेका थिए। घामलाई ब्रिसवेन तिरै छोडेर आइयो। साउथ वेल्सको मौसम चिसो र पानी परिरहेको थियो। चार घण्टामा दोस्रो पटक रेष्ट एरियाको उपयोग गर्यौ। घरबाट ल्याइएको चना चिउरा र अचारको नास्ता गरियो र कफी पनि पियौ । जति अगाडी बढ्दै आयौ मौसम हाम्रो सहयोगी बन्दै आयो। हिँडेको पाँच घण्टा पछि मलिनो घाम लाग्यो। कफ हारबर पुगेर आइस क्रिमको आनन्द लिइयो। म्याक भ्याली को पुल क्रस गरेपछि घाम लाग्दै गयो। आकाश खुल्दै गयो। गर्मी बढ्दै गयो। बाँकी दुई घण्टामा न्यूक्यासल हार्बर पुगियो। न्यूक्यासलको सौन्दर्य भित्र एक घण्टा हराइयो।
र यो पनि…
(लेखक : राष्ट्रिय खेलकुद परिषद्का पूर्व अधिकृत हुन्। हाल उनी अस्ट्रेलिया भ्रमणमा छन्। सं.)