के हो प्राइमरी र ककस निर्वाचन? कसरी चुनिन्छन् अमेरिकामा राष्ट्रपतिका उम्मेदवार?
डा. अविन ओझा
प्रसङ्ग,
अमेरिकी राजनीति अव तात्ने क्रममा छ । विश्व राजनीतिको नजर पनि अमेरिका तर्फ पर्दै छ । कारण, आगामी नोभेम्बर महिना को ५ तारिखका दिन अमेरिकामा आम निर्वाचन हुँदै छ । उक्त निर्वाचनले अमेरिकाको ४७ औँ राष्ट्रपतिको चयन गर्ने छ । यसो त अमेरिकालाई चुनावै—चुनावको देश भन्न पनि सकिन्छ । किनकि यहाँ हरेक जोर वर्षमा निर्वाचन हुने नै गर्दछ । तथापि प्रत्येक वर्ष जसो विभिन्न निर्वाचन पनि भई नै रहेका हुन्छन् । यहाँ कतिपय राज्यको काउन्टी प्रहरी प्रमुख (शेरीफ) देखी न्यायाधीश सम्मको चयन निर्वाचन मार्फत नै हुने गर्दछ । आम निर्वाचन वर्ष सुरु हुन साथ अमेरिकामा प्राइमरी र ककस निर्वाचन को व्यापक चर्चा हुन्छ । यही प्राइमरी र ककसको सन्दर्भमा विभिन्न सन्दर्भ सामाग्रीहरूको समीक्षा गरी यो आलेख तयार पारिएको छ । यो आलेख विश्लेषणात्मक नभई जानकारी मूलक छ । यहाँ निर्वाचनको विभिन्न पक्षको विश्लेषण नगरी, मुलत दुई प्रमुख पार्टी रिपब्लिकन र डेमोक्याटीक पार्टीले राष्ट्रपति पदको उम्मेदवारको चयन कसरी गर्दछ भन्ने विषयमा चर्चा गरिएको छ ।
के हो प्राइमरी र ककस निर्वाचन?
आम निर्वाचन वर्षको पहिलो महिना देखि प्रायशः सेप्टेम्बरको दोस्रो साता सम्म प्राइमरी र ककसको निर्वाचन हुने गर्दछ । सजिलो भाषामा भन्दा प्राइमरी र ककस दुवै आम निर्वाचनमा अमेरिकाका दुई प्रमुख पार्टीहरू डेमोक्याटीक पार्टी र रिपब्लिकन पार्टीले आफ्नो पार्टीको तर्फ बाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने निर्वाचन हो ।
पार्टीगत राष्ट्रपति उम्मेदवार छनौटको लागि राज्य सरकार वा स्थानीय सरकारले सञ्चालन गर्ने निर्वाचनलाई प्राइमरी निर्वाचन भनिन्छ । त्यसै गरी पार्टीले पार्टी स्तरीय रूपमा गर्ने निर्वाचनलाई ककस भनिन्छ । कुनै राज्यमा ककस निर्वाचन हुन्छ भने कतिपयमा प्राइमरी निर्वाचन हुन्छन् । आलस्का र नेब्रास्कामा रिपब्लिकन पार्टीले प्राइमरी निर्वाचन गर्दछ भने डेमोक्याटीक पार्टीले भने ककस निर्वाचन गर्दछ । त्यसो त केन्टकी मा रिपब्लिकन पार्टीले ककस निर्वाचन गर्दछ भने डेमोक्याटीकले प्राइमरी गर्दछ । राज्य र राजनीतिक पार्टीको नीति अनुसार प्राइमरी र ककस खुला, बन्द, हाइब्रिड, या दुवै प्रकृतिका हुन्छन् ।
कहिले बाट सुरु हुन्छ प्राइमरी तथा ककस?
आम निर्वाचन हुने वर्षको जनावरी देखी सेप्टेम्बर महिना सम्म प्राइमरी तथा ककस सञ्चालन हुने गर्दछ । ककस को सुरुवात आयोवा राज्य बाट तथा प्राइमरीको सुरुवात न्यु ह्यामशायर बाट हुने प्रचलन छ । प्रयास पहिलो ककस र प्राइमरी क्रमशः जनावरीको तेस्रो र चौथो साताका तिर हुने गर्दछ । सन् १९७२ मा डेमोक्याटीक पार्टीले पहिलो ककस आयोवाबाट सुरु गरेको थियो भने रिपब्लिकन पार्टीले सन् १९७६ देखी । त्यसो त सन् १९७५ मा न्यु ह्यामशायर राज्यले देशमै पहिलो पटक प्राइमरी कानुन ल्याएको थियो । यसै आधारमा पहिलो ककस आयोवा र पहिलो प्राइमरी न्यु ह्यामशायर राज्यमा हुन थालेको हो । आम निर्वाचन २०२४ को रिपब्लिकन ककस आयोवा मा जनावरी १५ मा सम्पन्न भई सकेको छ भने प्राइमरी जनावरी २३ का दिन न्यु ह्यामशायरमा हुँदै छ ।
कसरी हुन्छ प्राइमरी निर्वाचन?के हो ओपन र क्लोज्ड प्राइमरी?
यो निर्वाचन सामान्यतया आम निर्वाचन जसरी नै सञ्चालन हुन्छ । यसको सञ्चालन सम्बन्धित राज्य वा स्थानीय सरकारले गर्ने गर्दछ । कस्तो प्राइमरी हुने तथा प्राइमरीमा भोट कसले गर्न पाउँछन् ? यो भने राज्य अनुसार फरक फरक हुन्छ । मुख्यतः, प्राइमरी दुई प्रकारका हुन्छन् । ओपन (खुला) प्राइमरी, क्लोज्ड (बन्द) प्राइमरी । त्यसो त कतिपय राज्यमा हाइब्रिड या दुवै प्राइमरी पनि हुन सक्छ ।
खुला प्राइमरीको व्यवस्था भएको राज्यमा रजिष्टर्ड भोटरले अन्य आम निर्वाचन झैँ आफ्नो मन परेको राष्ट्रपतीय उम्मेदवारलाई मतदान गर्न सक्छ । यद्यपी एउटै रजिष्टर्ड भोटले दुवै पार्टीको राष्ट्रपतिय उम्मेदवारलाई मत दिन भने पाउने छैन । उसले या त रिपब्लिकन या डेमोक्याटीक मध्ये एक लाई मत जाहेर गर्नुपर्ने हुन्छ ।
क्लोल्ज प्राइमरीको व्यवस्था भएको राज्यमा भने पार्टीगत रूपमा रजिष्टर्ड भएका भोटरले आ—आफ्नो पार्टी प्रत्याशीहरू बिच आफ्नो रोजाइको उम्मेदवारलाई मतदान गर्ने छन् । प्राइमरी मार्फत हरेक उम्मेदवारले प्राप्त गरेको मतभारको आधारमा डेलिगेट्स (प्रतिनिधि) जित्नेछन् ।
हाइब्रिड प्राइमरी यस्तो व्यवस्थामा स्वतन्त्र रजिस्टर्ड भोटरले पनि कुनै एक पार्टी डेमोक्याटीक या रिपब्लिकनको मत पत्र मागी प्राइमरीमा आफ्नो मत हाल्न सक्ने छन् । जस्तो न्यु ह्यामशायर यस्तो व्यवस्था पनि छ ।
कसरी हुन्छ ककस निर्वाचन?
सरल भाषामा ककस भनेको स्थानीय स्तरको पार्टी बैठक हो जसमा पार्टी सदस्यहरूले राष्ट्रपति निर्वाचनको लागी आफ्नो उम्मेदवारको पृष्ठांकन गर्दछन् । यो निर्वाचन पार्टी विशेषको हुने गर्दछ । पार्टीहरूको ककस सम्मेलन काउन्टी र डिस्ट्रिक्ट स्तरमा हुन्छ । ककस अन्तर्गत पार्टी रजिस्टर्ड (क्रियाशील) सदस्यहरूको उपस्थितिमा ध्वनि मत तथा कतिपय अवस्थामा गोप्य मतदान को आधारमा उम्मेदवारहरूले डेलिगेट्स सङ्ख्या जित्ने गर्दछन् । रिपब्लिकन तथा डेमोक्याटिक पार्टी दुवैले आ—आफ्नो ककस निर्वाचन गर्दछन् ।
के हो सुपर ट्युजडे (मङ्गलवार) ?
आम निर्वाचन वर्षको फेब्रुअरी वा मार्च महिनाको एक मङ्गलवार हो सुपर ट्युजडे । आम निर्वाचन २०२४ को हकमा भने मार्च ५, हो सुपर ट्युजडे । यसले सुपर ट्युजडे उपनाम किन पायो भने यो मङ्गलवार सबै भन्दा धेरै राज्यहरूले प्राइमरी र ककस सञ्चालन गर्दछ । करिब एक तिहाइ डेलिगेट्सको छनौट यही दिन हुने गर्दछ । त्यसो त यही ट्युजडेले सम्भवतः दुवै पार्टी डेमोक्याट्स र रिपब्लिकनको आसन्न निवार्चनको राष्ट्रपतिका उम्मेदवारको छिनोफानो प्राय गर्ने गर्दछ । मार्च ५ का दिन १६ वटा राज्यमा प्राइमरी÷ककस हुँदै छ । सोही अमेरिकी भू-भाग ग्वाम पनि प्राइमरी हुँदै छ ।
के हो प्राइमरी तथा ककस बाट प्राप्त हुने डेलिगेट्स?
राष्ट्रपतिय उम्मेदवारको घोषण सम्मेलनमा पार्टीका तर्फ बाट विभिन्न राज्य तथा समुदायको प्रतिनिधि गर्ने व्यक्तिहरू डेलिगेट्स (प्रतिनिधि) हुन् । यी डेलिगेट्सको चयन प्राइमरी तथा ककस बाट हुन्छ । यी डेलिगेट्सहरुले आम निर्वाचनमा आफ्नो पार्टीको तर्फ बाट राष्ट्रपतिको उम्मेदवारको चयन गर्ने गर्दछन् ।
ग्राण्ड ओल्ड पार्टी (जिओपी) अर्थात् रिपब्लिकन पार्टीमा कुल २ हजार ४ सय २९ डेलिगेट्स हुन्छन् । जिओपीको राष्ट्रपतीय उम्मेदवार बन्न प्राइमरी र ककस गरी कुल १ हजार २ सय १५ डेलिगेट जित्नु पर्ने हुन्छ । डेमोक्याटीक पार्टीमा कुल ३ हजार ९ सय ३६ डेलिगेट्स हुन्छन् । डेमोक्याट्सका तर्फ बाट राष्ट्रपतीय उम्मेदवार बन्न प्राइमरी र ककस गरी कुल १ हजार ९ सय ६९ डेलिगेट जित्नु पर्ने हुन्छ । यो मत को आधिकारिक घोषण भने दुवै पाटीले राष्ट्रिय सम्मेलन मार्फत गर्दछन् ।
के हो डेमोक्याटीक न्यासनल कन्भेन्सन (डीएनसी) र रिपब्लिकन न्यासनल कन्भेन्सन (आरएनसी)?
डेमोक्रयाटीक पाटीले प्रत्येक चार वर्ष अर्थात् हरेक आम निर्वाचन वर्षमा गर्ने राष्ट्रिय सम्मेलन हो डीएनसी । यसले मुख्यतया, आसन्न आम निर्वाचनको राष्ट्रपतिय उम्मेदवारको घोषण गर्दछ । यसका अलावा पार्टी को नीति तथा आगामी कार्यक्रमका बारेमा पनि छलफल गर्दछ । आम निर्वाचन २०२४ लक्षित डीएनसी आगामी अगस्ट महिना को १९ देखी २२ गते सम्म इलनवे राज्यको सिकागो सहरमा हुने तय छ ।
रिपब्लिकन पाटीले प्रत्येक चार वर्ष अर्थात् हरेक आम निर्वाचन वर्षमा गर्ने राष्ट्रिय सम्मेलन हो आरएनसी । यसले मुख्यतया, आसन्न आम निर्वाचनको राष्ट्रपतिय उमेदवरको घोषण गर्दछ । यसका अलावा पार्टीको नीति तथा आगामी कार्यक्रमका बारेमा पनि छलफल गर्दछ । आम निर्वाचन २०२४ लक्षित आरएनसी आगामी जुलाई महिना को १५ देखी १८ गते सम्म विश्कासन राज्यको मिलावाकी सहरमा हुने तय छ ।
दुवै पार्टीका आ—आफ्नो प्राइमरी तथा ककस बाट निर्वाचित डेलिगेस्टहरुको मत का आधारमा राष्ट्रपतीय उम्मेदवार को चयन यही राष्ट्रिय सम्मेलन मार्फत गर्दछन् ।
अन्तमा,
विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिको छनौट प्रक्रिया निकै जटिल र लामो हुन्छ । राष्ट्रपतियका आँकाक्षीहरु सुरुमा धेरै नै भएता पनि हरेक प्राइमरी तथा ककस पश्चात् भने कम डेलिगेट्स जित्ने ले राष्ट्रपतीय उम्मेदवारको दौड बाट आफूलाई हटाउँदै लाने गरेका देखिन्छ ।
अहिले डेमोक्रयाटिक पार्टी बाट बहालवाला राष्ट्रपति नै पुन उम्मेदवार बन्ने होडमा छन् । त्यसो त, उनले पनि राष्ट्रिय सम्मेलनमा डेलिगेट्सको मत जित्नै पर्ने हुन्छ । डेमोक्रयाट्स बाट राष्ट्रपति जो बाइडेन सगैं मेनेसोटा राज्यका डीन फिलिप्स, र टेक्सस राज्यकी मारिआन विलियमसन प्रत्याशी छन् । रिपब्लिक पार्टी बाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सगैं साउथ केरोलाइनाकी निकी हेली प्रत्याशी छन् । दुवै पार्टीका आधिकारी उम्मेदवारको टुगों भने आसन्न प्राइमरी लगाउने छ ।
abinojha@gmail.com