ओलम्पिक आयोजना मेलबर्न देखि ब्रिसवेनसम्म
सफल ओलम्पिक आयोजना
सन् १९५६ मा मेलबर्नमा पहिलो पटक ओलम्पिक खेलकुद आयोजना गरेको अष्ट्रेलियाले ४९ वर्ष पछि सन २००० मा सिड्नी ओलम्पिक आयोजना गर्यो। आधुनिक ओलम्पिकको इतिहासमा नै सफल समर ओलम्पिक आयोजना भनेर पहिलो पटक सिड्नी ओलम्पिकलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले नै प्रशंसा गरेको थियो।
साच्चैनै सिड्नी ओलम्पिक गेम पछि प्रशंसा योग्य ओलम्पिक भनेर पुन अर्को खेल महोत्सवको नाम सुनिएको छैन। सिड्नी ओलम्पिक सर्वाधिक सफल रहेको आइओसीको मूल्याकंन थियो। साँच्चै नै प्रशंसा योग्य नै थियो सिड्नी ओलम्पिक। खानपान, बसोबास, भेनु, यातायात र सुरक्षाका हिसाबले उच्च कोटीको थियो।
मैले पनि सन् २००० को सिड्नी ओलम्पिकमा सहभागी हुने मौका पाएको थिए। ओलम्पिकमा सहभागी हुने कुरा खेलकुदमा काम गर्ने र खेलसँग सम्बन्धित व्यक्तिलाई संसार भर रहेका हिन्दु धर्मालम्बिहरूले आराध्येदेब पशुपतिनाथको दर्शन गर्न पाए जस्तै हो। यस्तो मौका प्राप्त गरेको थिए। राष्ट्रिय खेलकुद परिषद्को प्रशासन प्रमुखको हैसियतले ।
अफिसियलको स्तरमा गएको थिए । पाँच जना खेलाडी सहित सिड्नी ओलम्पिकमा सहभागी हुन अष्ट्रेलिया पुगेका थियौ। ओलम्पिक जस्ता ठुला इभेन्टहरूमा मेडलको आशा गरिँदैन किन भने हाम्रो सोच र लगानी नै गरिब छ। हामीले ओलम्पिकमा मेडल ल्याउने खेलाडीहरूलाई पुरस्कारको घोषणा त गर्यौ तर मेडलका लागि प्रतिस्पर्धा गर्न सक्षम बनाउने तर्फ कहिल्यै सोचेनौ । अनावश्यक लगानीलाई प्रश्रय दियौ।
हामीले हाम्रा खेलाडीहरूको मूल्याकंन मेडल ल्याउन सक्छ कि सक्दैन भनेर होइन कि आफ्नो रेकर्ड ब्रेक गर्यो कि गरेन भनेर गरिन्छ । विशेष गरी ठुला इभेन्टहरूमा । हाम्रा खेलाडीहरूलाई कन्फिडेन्स बिल्डप गर्न किन सकिएन? ओलम्पिकमा प्रतिस्पर्धा गरेर म मेडल जित्छु भन्न सक्ने खेलाडी किन तयार गर्न सकिएन? यसका कारणहरू छन्। शारीरिक रूपमा तन्दुरुस्त नहुनु, उच्च कोटीको प्रशिक्षण प्राप्त गर्न नसक्नु। नियमित खुराकको व्यवस्था नहुनु। सरकारको ध्यान खेलकुदमा नपुग्नु। खेलको प्रभावका बारेमा जानकारी नहुनु पनि हो।
समग्रमा खेलका लागि उचित लगानी नहुनु । त्यसैले सहभागिता मात्र हाम्रो उद्देश्य भयो। यस पटक पनि नेपाली खेलाडीहरूको नतिजा कमजोर देखियो। नेपालको प्रतिस्पर्धा सकिए पछि हार्बर ब्रिज नजिकको एक रेस्टुरेन्टमा तत्कालीन युवराज दीपेन्द्र वीर विक्रम शाह, नेपाल ओलम्पिक कमिटीका अत्कालिन अध्यक्ष रूक्म शमशेर राणा, महासचिव धुब्र बहादुर प्रधान एनओसी मेम्बरहरू उपेन्द्र केशरी न्यौपाने, अनिल केशरी शाह, दावा गुरूङ्ग, राखेप सदस्य सचिव विनोद शंकरपालिखे र म (कमल खनाल) थियौ। साइडमा थिए युवराज दीपेन्द्रका एडीसी र अन्य अफिसियलहरू। हामी सर्कल बनाएर उभिएका थियौ। त्यसै दिन हाम्रो खेल सकिएको थियो। सिड्नी ओलम्पिकमा हाम्रा खेलाडीहरूले गरेको प्रदर्शनका बारेमा छलफल भइरहेको थियो।
ओलम्पिक गेममा नेपालको सहभागिता सन् १९६४ देखि निरन्तर छ त्यसमा पनि एथलेटिक्स तर्फको रनिङ इभेन्ट अनिवार्य जस्तै छ। समर ओलम्पिक र विन्टर ओलम्पिकमा सहभागिता भइरहेको छ तर पनि किन खेलाडीहरूको प्रदर्शनमा सुधार आएन? छलफलको विषय यही थियो। युवराज दीपेन्द्रको अगाडि सबै सुन्ने मात्र भए। युवराज दीपेन्द्रले रूक्म शमशेर राणा प्रति लक्षित गर्दै भने, ‘ हेर रूक्म हामीले अब खेलको वर्गीकरण गरेर प्राथमिकताका आधारमा खेललाई लानुपर्छ नत्र यस्तै नतिजा आइरहने हो। युवराज दीपेन्द्रले प्राथमिकतामा राख्नु पर्ने खेलको नाम भने विशेष गरी व्यक्तिगत स्पर्धा तर्फका खेलहरूको नाम लिएका थिए।युवराजले नाम लिँदा करातेको नाम लिएनन् तत्कालै दावा गुरुङलेभने सरकार करातेलाईपनि प्राथमिकतामा राख्नु पर्छ भने पछि युवराज दीपेन्द्रले ‘नकराउन दावा कसरी हुन्छ ओलम्पिकमा मेडल जित्न सक्ने हुनु पर्यो’भनेको कुरा आज पनि म सम्झन्छु।
म हार्बर ब्रिज नजिकमा छु। त्यो साँझको समय थियो,म आज दिनमा छु। तर युवराज दीपेन्द्रले भनेका कुरा कसले फलो गर्ने? २०२० को ओलम्पिक सम्म पनि नतिजा उस्तै छ। रेस्टुरेन्टको समय सकिँदै थियो त्यही बिचमा दीपेन्द्रले सबैलाई फोटो लिन अनुमति दिए सबैले युवराज दीपेन्द्रसँग फोटो खिच्यौ।त्यो फोटोले आज पनि सिड्नी ओलम्पिकलाई सम्झाइ रहेको छ। ओलम्पिकको महत्त्व र यसको प्रभावका बारेमा मूलतः सरकार बढी जानकार र चिन्तित हुनु पर्छ। युवराज दीपेन्द्र खेलकुद परिषद्को संरक्षक थिए। त्यसैले चिन्ता लिए। आज उनी छैनन्। २२ वर्ष बितेछ उनले भनेको पनि।
सिड्नी ओलम्पिक पार्क
चौविस वर्षको पुरानो सम्झनालाई आज म पुन ताजकीका लागि ओलम्पिक पार्क पुगे। २४ वर्ष अगाडि खेल ,खेलाडी र व्यवस्थापकहरूको बिचमा रमाइलो मुडमा थिए। आज समय अनुसार म मा पनि परिवर्तन आएको छ। म ओलम्पिक खेलले छोडेको प्रभावको बारेमा सोचिरहेको छु र हेरिरहेको छु। त्यो ओलम्पिक आयोजना क्षेत्र आज ओलम्पिक पार्कमा परिणत भएको रहेछ। सबै मानिसहरूलाई ओलम्पिक पार्क घुम्न पाउने र रम्न पाउने अनुमति रहेछ। हिजो खेल खेलाडी र व्यवस्थापक सँग मात्र सम्बन्धित स्थल, आज मल्टिबिजिनेस हबको तयारीमा जुटिरहेको रहेछ।
सिड्नी सहरबाट १३ किमी पश्चिम को ठुलो उपनगरका रूपमा विकसित भइरहेको रहेछ। ओलम्पिक पार्कमा मल्टिपर्पोज सुविधाहरू सहितको व्यापारिक केन्द्रका रूपमा अगाडि बढाइएको रहेछ। खेलकुद र मनोरञ्जनका सुविधाहरूको विकास सँगसँगै होटेलहरू, बैकहरू, सपिङ सेन्टरहरू,रेस्टुरेन्टहरू जस्ता बिजनेसहरू सञ्चालनमा आइ सकेका रहेछन्। त्यहाँ सम्म आउन ट्रेन र बसहरूको सुविधा उपलब्ध रहेछन्। अझै ओलम्पिक पार्कमा बूढाबूढी देखि केटाकेटीहरू सम्मलाई मनोरञ्जन दिन सक्ने सम्मका सुविधा रहेछन्।
ओलम्पिक पार्कलाई सन् ३० देखि ५० सम्मको मास्टर प्लानअनुसार अगाडि बढाउने योजना सरकारी तहबाटै भएको रहेछ। यो विकासले सामाजिक र आर्थिक क्षेत्रमा ठुलो परिवर्तन ल्याउने पक्का छ। ओलम्पिक आयोजनाहरूले देशको विकासको लम्बाइ र चौडाइको क्षेत्रफल मात्र बढाउँदैन कि आर्थिक क्षेत्रमा ठुलो उलट पुलट ल्याउँछ । खेलको विकास, खेलाडीको पर्फर्मेन्स मात्र होइन कि विकासका नयाँ सोच, योजना र चेतना पनि सँगसँगै ल्याउँछ। त्यसैले त ठुला खेल आयोजना गर्न प्रतिस्पर्धा नै चल्छ। सिड्नी ओलम्पिकले अष्ट्रेलियाको हरेक क्षेत्रमा द्वार खोलेको छ। त्यसैले त आज अष्ट्रेलिया युरोप अमेरिका जस्तै मानिसहरूको गन्तव्य स्थल बनेको छ।
अपार्टमेन्ट सिड्नी ओलम्पिक ब्रिसवेन ओलम्पिकको तयारी
अष्ट्रेलिया ब्रिसवेन ओलम्पिक खेल आयोजना गर्न आतुर छ। सिड्नी ओलम्पिकको फिडब्याक पोजेटिभ आए पछि २०३२ को ओलम्पिक खेल आयोजना गर्न हौसिएको हो। २०२४ को ओलम्पिक हुन बाँकी नै छ। पेरिस, इटाली र लस एन्जलस हुँदै ओलम्पिक खेल ब्रिसवेन आइपुग्न अझै आठ वर्ष लाग्ने छ। त्यस बिचमा ब्रिसवेनले ओलम्पिक गेमका लागि धेरै तयारी गर्नु पर्ने छ र गरिरहेको छ। केन्द्रीय सरकार र राज्य सरकारद्वारा व्रिसवेन ओलम्पिक पूर्वाधार निर्माणका लागि ७.२ मिलियन डलर खर्च गर्ने घोषणा गरेका छन्। ओलम्पिक खेल आयोजनाका लागि ४.५ बिलियन देखि ५.८ बिलियन डलर लाग्ने अनुमान गरिएको छ।
ब्रिसवेनको ठुलो र महत्त्वपूर्ण निर्माण भनेकै गाब्बा क्रिकेट स्टेडियमको स्तरोन्नति, एथ्लेट भिलेज निर्माण हुन। यी बाहेक अन्य नौ नयाँ खेल स्थलहरू निर्माण हुनेछन्। साथै १७ हजार सिट क्षमताको रोमा स्ट्रिटमा ब्रिसवेन एरिना समेत बनाइने छ। कति सुरु भएका छन् कति बाँकी छन्। कार्यपालिका अनुसार काम भइरहेको छ। यस पटक संसारकै चर्चित स्थानहरू गोलकोष्ट र सनसाइन कोष्ठमा समेत खेल भेनु तोकिएको छ।
गाब्बा क्रिकेट स्टेडियमलाई स्तरोन्नति गरेर पचास हजार दर्शक क्षमताको अत्याधुनिक स्टेडियम बनाउने स्टेडियम स्तरोन्नति गर्न लाग्ने २.७ बिलियन डलर कुइन्सल्याण्ड सरकारले खर्च गर्ने घोषणा गरेको छ। ब्रिसवेन ओलम्पिक उद्घाटन त्यही स्टेडियममा गर्ने योजना भइरहेको रहेछ। गाब्बा स्टेडियम निर्माण गर्नका लागि २.७ बिलियन डलर खर्च हुने संसारकै सबै भन्दा महँगो स्टेडियम हुनेछ भनिएको छ। २०३० मा पूर्ण रूपले तयारी हुने छ। नर्थसोयरमा पर्ने ह्यामिल्टनमा खेलाडीहरूको बसोबासका लागि भिलेज निर्माण गरिने योजना रहेछ। यसरी नै कैरन्स, टोम्बा ,टाउनस्भिल ,कुइन्सल्याण्ड, मेलबर्न र सिड्नीमा फुटबलका प्रारम्भिक चरणका खेलहरू खेलाइने व्यवस्था गरिएको रहेछ।
ब्रिसवेन ओलम्पिक २०३२ को प्रभाव
केपिएमजी रिसर्च सेन्टरले ब्रिसवेन ओलम्पिक सम्पन्न भए पछिको बिस वर्ष पछि सम्म ब्रिसवेन ओलम्पिकले पार्ने सकारात्मक प्रभावका बारेमा रिसर्च रिपोर्ट तयार गरेको रहेछ। जुन रिपोर्ट अनुसार २०३२ को ओलम्पिक आयोजना पूर्व र पश्चात् २०२७ सम्ममा ब्रिसवेनमा घरको मूल्य थोरैमा ८.५ मिलियन कायम हुने छ। २०३२ अगावै अझ बढ्ने भनिएको छ। ब्रिसवेनका एलविओन,ओलगंगाब्बा ,क्याम्प हिल ,कोरपारो ,रेडक्लिफ फोरेष्टलेक र नर्थलेकका स्थानहरू अत्यधिक बुम हुनेछन्।
आर्थिक क्षेत्र गतिशील हुनेछ, लगानीका क्षेत्रमा आकर्षण बढ्ने छ। संसारकै मानिसहरूको भ्रमणको गन्तव्य केन्द्र बन्ने छ। रोजगारीका अवसरहरू खुल्नेछन्। आउँदो बिस वर्ष सम्ममा ९१ हजार ६ सय जनाले रोजगारी पाउनेछन्।
ओलम्पिक गर्ने सोच र अवसर ३१ वर्ष पछि अष्ट्रेलियाले पुन ओलम्पिक आयोजनाको मौका पायो। यो मौका पाउनुमा सन् २००० को ओलम्पिक आयोजनाको प्रभाव हुन सक्छ। त्यसो त तत्कालीन प्रधानमन्त्री स्टक मोरिसनको २०२० जापानको टोकियो ओलम्पिकमा गरेको २० मिनटको कमिन्टमेन्ट भाषण मुख्य रह्यो। अर्को ब्रिसवेन सहरको आकर्षण र तेस्रो थियो आइओसी को विश्वास।
आइओसी अन्तर्गत मान्यता प्राप्त भोटिङ अधिकार भएका ८० भोट मध्येबाट ७२ भोट प्राप्त गरी अष्ट्रेलियाले तेस्रो पटक ओलम्पिक आयोजना गर्ने मौका पायो। ८० भोटमा ५ भोट विपक्षमा गयो भने ३ भोट अनुपस्थित रह्यो।
अष्ट्रेलियाको पक्षमा आइओसिको विश्वास , भोटरहरूको विश्वास र त्यो भन्दा पनि सरकारको कमिन्टमेन्ट प्रति आइओसी विश्वस्त भयो र अष्ट्रेलियाले तेस्रो पटक ओलम्पिक गेम आयोजना गर्ने मौका प्राप्त गर्यो। ओलम्पिक जस्तो ठुला आयोजनाहरू गर्दा देशको आर्थिक र सामाजिक विकासमा ठुलो प्रभाव पर्ने हुन्छ। अष्ट्रेलियालाई ब्रिसवेन ओलम्पिक आयोजना गर्न हौसाउने मुख्य कारक तत्त्व नै सन् २००० को सिड्नी ओलम्पिकले आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभाव हो भन्दा अन्यथा नहोला।
कमल खनाल
र यो पनि …
(लेखक राष्ट्रिय खेदकुद परिषद्का पूर्व अधिकृत हुन्। हाल उनी अष्ट्रेलिया भ्रमणमा छन्)