एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष उप्रेतीद्वारा एनएसटी उपाध्यक्ष पौडेल माथि हातपात !
पेन्सिल्भेनिया / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले अर्का सामाजिक अभियन्ता माथि हातपात गरेको खुलासा भएको छ।
घटना गत आइतबार साँझको हो। नेपाल मगर संघ अमेरिका टेक्सस च्याप्टरले माघे सङ्क्रान्तिको अवसर आयोजना गरेको कार्यक्रममा सो घटना भएको हो।
नेपाली समाज टेक्सस (एनएसटी) को पछिल्लो निर्वाचनको विषयमा कुराकानी हुँदा उप्रेतीले एनएसटीका उपाध्यक्ष किरण पौडेल माथि हातपात गरेका हुन्।
समाज टाइम्स सँगको कुराकानी पौडेलले आफू माथि हातपात भएको स्वीकारे। ‘आफैले पिटाइ खाएको कुरा के बाहिर ल्याउने भनेर हो तर घटना भएको हो, मेरो छातीमा उहाँले जोड सँग हान्नु भयो।’ पौडेलले भने।
समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा पौडेलले घटना सिसिटिभी क्यामेराको अगाडि नै भएको दाबी गरे।
पौडेलका अनुसार एनएसटीको चुनावमा अध्यक्षका उम्मेदवार राजेन्द्र वाग्लेले एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदा गोविन्द ढकालले गरेको टिप्पणी र त्यस पछिका घटना क्रमका प्रसङ्ग माघे सङ्क्रान्ति कार्यक्रममा उल्झिएको थियो।
किरण पौडेलका अनुसार फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर गोविन्द ढकाल र उनी बिच चुनावको बेला टेलिफोनमा भनाभन भएको थियो।
एनएसटीको चुनावमा पौडेलले राजेन्द्र वाग्लेलाई समर्थन गरेका थिए। उप्रेतीले कमल सत्याललाई समर्थन गरेका थिए। वाग्ले दोस्रो कार्यकालका लागि विजयी भए। उनले यही महिनाको २० तारिखबाट औपचारिक रूपमा दोस्रो कार्यकालका लागि पद बहाली गर्दै छन्।
‘हामी कार्यक्रममा रमाइलो गर्दै थियौ, त्यही समयमा एनएसटीको चुनावको प्रसङ्ग निस्कियो।’ पौडेलले भने,’गोविन्द ढकाल सँगको टेलिफोन कुराकानीमा पहिला उहाँले मलाई मेरो स्वर्गीय आमाको नाम लिए गाली गर्नु भएको थियो, अति नै भए पछि मैले पनि उहाँलाई गाली गरेको थिए तर उहाँहरूले मेरो मात्र रेकर्ड बाहिर ल्याउनु भएको थियो त्यो कुरा पनि निस्कियो।
‘विकास जीले मलाई कसैले त्यसो भनेको भए म घाटी छिनालिदिन्थे भन्नु भयो, मैले तपाईँले एकतर्फी कुरा सुनेर धारणा बनाउन मिल्छ भनेर सोध्दा सोझै छातीमा प्रहार गर्नु भयो।’ पौडेलले भने।
पौडेलले आफू माथि प्रहार भएको ठाउँ क्यामराको निगरानीमा रहेको बताए। ‘त्यहाँ क्यामरा देखे पछि उहाँले बाहिर आइज बाहिर आइज भन्नु भयो, म पुलिस बोलाउन लागे त्यस पछि उहाँ आफैले गाडी चलाएर बाहिर निस्कनु भयो।’
पुलिस आए पछि उप्रेती निकटले उनलाई घटना स्थलमा बोलाएको पौडेलको भनाई छ। ‘पुलिसले उप्रेतीको घरमा नै गएर पक्राउ गर्ने भन्दै थियो त्यो सुनेर उहाँ निकटले बोलाएछन्।’ पौडेलले भने।
फर्केर आए पछि अब आइन्दा गल्ती नदोहोर्याउने सर्तमा माफी दिएको पौडेलले बताए। ‘म त पुलिस केस नै गर्छु भन्दै थिए तर युलेस सिटीका काउन्सिल सदस्य टीका पौडेल, एनआरएनए अमेरिकाका
कोषाध्यक्ष सरोज सिग्देल, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईँ लगायत पुलिसको रोहवरमा उप्रेतीले माफी माग्नु भयो।’ पौडेलले भने।
तर एनआरएनए वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले हातपात भएको घटना अस्वीकार गरे। ‘त्यस्तो ठुलो घटना होइन, एनएसटीको चुनावको विषयमा सामान्य छलफल भएको हो।’ समाज टाइम्स सँग उप्रेतीले भने।
‘चुवानको समयमा किरण पौडेलले समाजमा सुन्नै नसक्ने गरी गोविन्द ढकालको परिवार र श्रीमतीलाई गाली गर्नु भएको रहेछ, मैले त्यस्तो गर्न हुँदैन भनेर सम्झाएको मात्र हु हातपात भएको होइन।’
उप्रेतीले आफूले माफी मागेको पनि सत्य नभएको दाबी गरे। ‘सामान्य भनाभन पछि म घर गएको थिए पछि टीका पौडेलले बोलाए पछि म फर्किएर किरण पौडेल सँग हात मिलाएर हिँडेको हो माफी मागेको होइन।’
उनले पछि घटना अतिरन्जित नहोस भनेर आफु फर्किएको दाबी गरे।
उप्रेतीले यो घटना सामान्य भएको बताए। ‘तपाई पत्रकारलाई मैले सिकाउनु पर्ने त होइन तर यो समाचारको विषय नै होइन।’
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले दुई जना बिच मिलापत्र गराएको साँचो भएको बताए। ‘हातपात हुँदा म घटना स्थलमा थिइन, म घर जाँदै थिए, किरण जीले फोन गरे पछि फर्किएको हुँ।’ अध्यक्ष वाग्लेले समाज टाइम्स सँग भने।
‘म आइपुग्दा किरण जीले पुलिस बोलाइ सक्नु भएको रहेछ । किरण जीले विकासजीले माफी मागे पुलिस केस नगर्ने भन्नु भयो, अनि गोविन्द गौतमले विकासजीलाई बोलाए पछि उहाँले सरी भन्नु भयो, हामीले मिलापत्र गराएका हौ।’ वाग्लेले भने।
युलेस सिटी काउन्सिल सदस्य टीका पौडेलले पनि हातपातको घटना आफूले नदेखेको तर पुलिस र आफूहरूको रोहवरमा दुवै जनाले हात मिलाएर कुरा टुङ्गाएको बताए। ‘हातपात भएको मैले देखिन, किरणजीले म माथि हातपात भयो भन्नु भएको हो, पुलिस बोलाइसक्नु भएको रहेछ, ल यसो गर्न हुँदै भनेर दुवै जनाले हात मिलाए पछि मैले विकासलाई लिएर गएको हुँ, अब त्यसलाई माफी भन्नेकी के भन्ने।’
‘विकासले माफी नमागे किरणजीले पुलिस केस गर्छु भन्नु भएको चैँ हो।’ काउन्सिल सदस्य टीकाले भने।
एनआरएनए अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देलले आफूले हातपात गरेको चैँ नदेखेको तर दुई पक्षबिचलाई मिलेर जान सुझाव दिएको बताए।
सन् २०२१ मा न्यु योर्कमा सम्पन्न एनआरएनए अमेरिकाको साधारण सभामा दिएको ‘नेपालमा छदा नेविसंघ र तरुण दलमा खुकुरी चलाएर आएको हुँ’ भन्ने अभिव्यक्ति पछि विकास उप्रेती चर्चामा छन्। सो समय उनी भर्खर मात्र उपाध्यक्षमा विजयी भएका थिए।
यद्पी पछि उनले आफ्नो आशय गलत नभएको तर शब्द चयनमा गल्ती भएको भन्दै माफी मागेका थिए।