अमेरिकामा नेपालीको हवाई जहाज चोरी गरी जलाइयो
क्यालिफोर्निया / अमेरिकामा एउटा अनौठो तर दुखद घटना घटेको छ। नेपाली पाइलट अनिष प्रधानले आफ्नो मातृभूमिमा लैजान तयारी अवस्थामा राखेको हवाई जहाज चोरी गरी जलाइएको छ।
क्यालिफोर्नियामा जहाज मेकानिक्स सँगै उडान प्रशिक्षक रहेका अनिष प्रधानको जहाज चोरी भएको केही दिनमा पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको हो।
प्रधानको अमेरिकामा आफ्नै साना खाले सात वटा जहाज रहेको बताइएको छ । त्यस मध्ये एक जहाज उनले पाइलट शिक्षा र मर्मत स्कुलका लागि नेपाल पठाउने तयारी गर्दै थिए। सोही जहाज चोरी गरी जलाइएको हो।
विमान सेपुल्भेडा बुलेभार्ड नजिकै लकनेस एभिन्यूको २२८०० ब्लकमा रहेको टोरेन्स गोदाम पार्किङ स्थलमा कस्टम एयरस्ट्रीम ट्रेलर भित्र भण्डारण गरिएको थियो।
जुन तीन तारिखमा उनको जहाज पार्किङ स्थलबाट चोरिएको जनाइएको छ। चोरी हुँदाको सिसिटिभी फुटेजको भिडियो सहित स्थानीय केटीएलएले रिपोर्ट नै प्रसारण गरेको छ।
केटीएलएको भिडियो रिपोर्टका लागि यहाँ क्लिक गर्नु होला
१६ वर्षको उमेरमा अमेरिका आएका र यहाँ सफल व्यवसायी बनेका अनिषले नेपालका विपन्न युवाहरूलाई जहाज मर्मत र पाइलट तालिम दिने योजना बनाएका थिए। उनी स्कुल नै खोल्ने योजनामा थिए। रिपोर्ट अनुसार उनी आउँदो मार्च महिनामा नेपाल जाने तयारीमा थिए। नेपालमै जहाज बनाउने गैरनाफामुलक कम्पनी खोल्ने उनको योजना थियो।
प्रसारित फुटेजमा पार्किङमा राखिएको जहाज ट्रकमा आएका व्यक्तिले चोरेको देखिन्छ। अनिषले आफनै भाइको बेयरहाउसको गोदाममा ट्रेलर सहित पार्किङ गरेको जहाज चोरी भएको बताएका छन्।
हराएको जहाज केही दिनमा पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको हो। जलेको अवस्थामा रहेको जहाजको भिडियो फक्सएलएले प्रसारण गरेको छ।
जलेको जहाजको रिपोर्टका लागि यहाँ क्लिक गर्नु होला।
अनिषले नेपालमा उड्डयन शिक्षालाई बिस्तार गर्न र नेपालका विद्यार्थीलाई जहाज मर्मत देखि व्यावसायिक पाइलटको माध्यमबाट आफ्नो भविष्य बनाउने योजना सहित जहाज डिजाइन गरेका थिए । जहाज नेपालमा ढुवानी गर्ने तयारी सहित भण्डारण भएकोले जहाजको इन्सुरेन्स समेत नभएपछि उनी थप चिन्तित बनेको बताएका छन्।
उनले आफ्नो प्रिय हवाई जहाज पुनर्स्थापनाका लागि वर्षौँ समर्पित गरेकाले स्तब्ध भएको बताएका छन्।
“मेरो दिमागमा केही भएन, तर मेरो आँखाबाट आँसु आयो।” उनले भनेका छन्।
झन्डै १२ अघि क्यालिफोर्नियामा आफनै जहाज निर्माण गर्ने कम्पनी खोलेर उनले सयौँलाई जहाज मर्मत देखि पाइलट तालिम दिँदै आएका हुन्।
हवाई जहाज चोरीको घटनामा प्रहरीले सहयोग गर्नुको साटो अपमान गरेको उनले स्थानीय सञ्चार माध्यम सँग गुनासो गरेका छन्। प्रहरीले उल्टो अवैध रूपमा पार्क गरिएको ट्रेलरलाई टिकट दिने धम्की दिएको बताएका छन्।
पुलिसले पनि यस घटनामा टिप्पणी गर्न अस्वीकार गरेको फक्स ११ ले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
‘लस एन्जलस पुलिस विभागको हार्बर डिभिजनमा सिफारिस गर्यो, जसले केस ह्यान्डल गरिरहेको छ।’ फक्स ११ ले भनेको छ, ‘हार्बर डिभिजनका अधिकारीहरूले भने कि उनीहरूले यस केसको बारेमा लङ बीचबाट जानकारी प्राप्त गरेका छैनन्।’
अनिषले अहिले तत्कालका लागि नेपाल जाने आफ्नो कार्यक्रम रोकिएको बताएका छन्।
“यो वास्तवमा उडानको बारेमा मात्र होइन, यो विमान निर्माण, विमान मर्मत सम्भार, सामान्य उड्डयन मर्मत सम्भार र यस्तै अन्य बारेमा थियो र त्यो सबै कुरा अब होल्ड हुन गइरहेको छ,” प्रधानले भने।