नेपाली मूलका २३ वर्षे तन्नेरी, गर्दै छन् अमेरिकी संसदीय चुनावमा उम्मेदवारीको तयारी
पेन्सिल्भेनिया,अमेरिका / उनी ६ महिनाको हुँदा अमेरिका पाइला टेकेका हुन्। नेपालमा गुल्मी जुभुङ्गका उनी अर्थात् आभास गौतमको जन्म थाइल्यान्डमा भएको हो।
बुबा रमेश गौतम इन्जिनियरमा मास्टर्स गर्दै थिए, त्यही बेला उनको जन्म भएको हो। उनी जन्मिए पछि थप अध्ययनका बुबालाई अमेरिकी विश्वविद्यालयले निम्तो दियो। आमा सीता कँडेल सँगै गौतम परिवार सन् २००१ मा अमेरिका भित्रियो।
बाबु आमाको काखमा नै अमेरिका आए पनि प्रस्ट नेपाली भाषा बोल्ने आभास २३ वर्षको उमेरमा अमेरिकी संसदीय निर्वाचनमा होमिएका छन्।
युनिभर्सिटी अफ सडन क्यालिफोर्नियाबाट बिजनेसमा ब्याचलर सकाएका अविवाहित आभासले क्यालिफोर्निया राज्यको विधान सभाका लागि डिस्ट्रिक्ट ५ बाट रिपब्लिकन पार्टीबाट उम्मेदवारी घोषणा गरेका छन्।
विधान सभाको चुनाव आगामी नोभेम्बरमा हुँदै छ। त्यस अगाडि मार्चमा उनले सबै भन्दा ठुलो खुड्को पन्छाउनु पर्ने हुन्छ। प्राइमरी चुनावमा उनले बहालवाला विधायक जो प्याटरसन सँग चुनावी प्रतिस्पर्धा गर्नु पर्ने छ।
साँढे दुई लाख ९० हजार रजिस्टर भोटर रहेको यो क्षेत्रमा ४१ प्रतिशत रिपब्लिकन छन्। ३१ प्रतिशत डेमेक्याट्स रहेकोमा २१ प्रतिशतको हाराहारीमा स्वतन्त्र भोटर रहेका छन्।
मार्चमा हुने प्राइमरीमा जितेमा नोभेम्बरको दौड आफ्ना लागि सहज हुने आभासको ठम्याइ छ। ‘प्राइमरी जिते भने जनरलमा जित्छु।’ उनी आत्मविश्वासी छन्।
तत्कालीन राष्ट्रपति बराक ओबामाका समर्थक आभास पछि अर्का राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण पछि रिपब्लिकन तर्फ आकर्षित भएका हुन्।
अमेरिकामा रहेका नेपाली मूलका युवाहरूलाई प्रतिनिधित्व गर्न आफू राजनीतिमा लागेको उनको भनाई छ।
‘सात आठ वर्ष देखि नै मलाई पछि राष्ट्रपति हुन्छु भन्ने थियो, तर म यहाँ नजन्मिएकोले एक दिन गभर्नर हुन्छु भन्ने छ।’ समाज टाइम्स सँगको कुराकानीमा आभासले भने।
स्कुल जीवन देखि नै राजनीतिमा चासो राखेका आभासलाई पूर्व राष्ट्रपति ट्रम्पको गैर कानुनी आप्रवासी प्रतिको धारणा मन पर्छ। ‘ट्रम्पले मन नपराउने भनेको गैर कानुनी रूपमा अमेरिकामा आउने आप्रवासीलाई हो उनीहरूका कारण हामी जस्ता कानुनी रूपमा आउनेलाई पनि अप्ठेरो परेको छ।’ आभास भन्छन्।
आभासलाई स्कुल पढ्दै गर्दा कतिपय साथीले तिमि भारतीयमुलका हौ भनेर सोधेको पनि चित्त बुझेको थिएन। त्यसै बेला लागेको थियो म नेपालीमुलको अमेरिकन हु भनेर कुनै दिन चिनाउने छु। त्यसैका लागि उनले पढाइ सके पछि जागिर खोज्ने बाटो छोडेर राजनीति यात्रा तय गरेको बत्ताउँछन्।
आभास सँगको समाज टाइम्स संवाद