कांग्रेस वीपी र गणेशमान आएर सुधार हुँदैन अब
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्वमा रहेका सबै राम्रो काक गरे पार्टी आफैँ सुध्रिने बताएका छन् । कांग्रेस वाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पार्टी उपसभापति खड्काले पार्टीलाई सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको (आफुहरुको ) बताए ।
शनिबार आयोजित कार्यक्रममा उपसभापति खड्काले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने पनि बताए । ‘वाग्मती प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाएको छ । यहाँ आएका सुझावहरूबाट हामीलाई प्रेरणा मिलेको छ,’ उनले भने, ‘पार्टी नेतृत्वमा सुधारिएको व्यक्ति आएमा र हामीले आफैँमा सुधार ल्याएमा पार्टीमा पनि सुधार हुने हो । हाम्रो पार्टी भगवान्, वीपी र गणेशमान आएर सुधार गर्नुहुन्न, हामीले नै गर्ने हो ।’
पार्टी सुधारका लागि जिम्मेवार पदमा रहेकाहरूले काम गर्नुपर्ने उपसभापति खड्काको भनाइ थियो । ‘जिम्मेवारीमा भएकाहरूले बोलेर मात्रै हुँदैन । सबैलाई जोडेर संविधान बनाउन सक्ने पार्टीले आफ्नै पार्टी बनाउन नसक्ने भन्ने हुँदैन,’ उनको भनाइ थियो । पार्टीले विगतमा गरेका कमजोरी दोहोर्याउन नहुने खड्काको भनाइ थियो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराउनुभएको थियो । गणतन्त्रलाई हल्लाउने प्रयास भइरहेको बताउँदै उनले
संविधानको रक्षा कांग्रेसले गर्ने बताउनुभएको थियो । संविधानको आवश्यकताअनुसार संशोधन कांग्रेसले गर्ने तर त्यो परिवर्तनको पक्षमा रहने पनि उनको भनाइ थियो । ‘जनता मालिक भएको संविधानप्रति हामी इमानदार हुनैपर्छ,’ उनले भने ।
सरकारले इमानदारितापूर्वक काम गरेको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो । ‘सरकारले सबै ठीक गर्यो वा सरकारले सबै बेठीक गर्यो भन्ने दुवै भनाइ गलत छन् । सरकारले इमानदारितापूर्वक मध्यम काम गरेको छ, सत्य यही हो,’ उनले भने, ‘तर, गरेको काम गरेको भनिदिनुपर्यो । सकरात्मक सोचले सदाचारका लागि गरिरहेका प्रयासलाई पार्टीले बिर्सिनु भएन ।’
पार्टी सभापतिसँग गुनासो के का लागि हो भन्ने पनि उपसभापति खड्काले प्रश्न गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व आगामी महाधिवेशनबाट छोड्ने घोषणा गरिसक्नुभएको अवस्थामा राम्रो काम गरेर कमजोरी सुधारी अघि बढ्नुपर्ने खड्काले भने । पार्टीका कमजोरी भए पनि देशमा जति प्रगति भएको छ त्यो कांग्रेसको नेतृत्वमा भएको उनको भनाइ थियो ।