गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु
काठमाडौ/ वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।
प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष समेत रहेका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा निर्णायकको तर्फबाट टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डा तथा खेलाडीको तर्फबाट शिभाली गुरुङले शपथ ग्रहण गरेका थिए ।
प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धा समावेश छन् । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ५ हजार रुपैयाँ रहेको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष सिंगल्समा आर्यन गिरी, बोरिस अधिकारी, साम्दुप लामा, प्रसिद्ध मोक्तान, युगेन शेर्पा, विपुलविभोर अधिकारी र दर्शिल श्रेष्ठले जित हात पारे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अनिशमान श्रेष्ठ र वृजेश लाकौलले सफलता पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, हरिबहादुर बस्नेत, विमल गुरुङ, मानबहादुर कटुवाल, हेमराज ढकाल र जोली टार्गेन विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा सुशिलराज पाण्डे तथा सुनिल गुरुङ अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यु–८ ब्वाइज सिंगल्समा भिरल अग्रवाल, आयान पन्त, रिधन श्रेष्ठ, कायन चालिसे, साहंस बस्नेत, शुभम श्रेष्ठ, जिवश भट्टराई र टोनिस श्रेष्ठले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवर, रजिशा जोशी, पर्नभी राणा, इरिस श्रेष्ठ, येशी पाख्रिन तामाङ, निशु गुप्ता, मान्भी क्षेत्री र तभिसी राणाले जित आत्मासात् गरे ।
यु–९ ब्वाइज सिंगल्समा कायन चालिसे, तोनिस श्रेष्ठ, भिरल अग्रवाल र निश्चल ज्ञवाली अगाडि बढे । यु–१० गल्र्स सिंगल्समा स्वारह थापा र जिवश्री भट्टराईले पहिलो चरण पार गरे ।
यु–१२ ब्वाइज सिंगल्समा सन्दिप जिसी, संज्ञा रोका, सुजन कुइकेल, सानावाज हुसेन, अर्याशराज पौडेल र दर्शित अग्रवाल विजयी भए । उक्त स्पर्धाको गल्र्समा जेनिशा ज्ञवालीले बाजी मारिन् । यु–१४ ब्वाइज सिंगल्समा साश्वत वज्राचार्य र सन्दिप विक सफल भए ।