कोशीमा लफडा : सांसदहरुको सनाखत शनिबार विहान

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत शनिबार गर्ने भएका छन् ।
मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मका लागि दिइएको समय घर्किएपछि प्रदेश प्रमुख खापुङले कानून परामर्श गरेपछि शनिबार बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने तयारी गरिएको हो ।
मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की र माओवादीका ईन्द्र आङ्बोको छुट्टा छुट्टै दाबी पेस भएपछि प्रदेश प्रमुखले सबै सांसदहरुलाई सशरीर उपस्थित गराएर हस्ताक्षर सनाखत गराउने निर्णयमा पुगेको प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको सूचनामा जनाइएको छ ।
कांग्रेसका कार्कीलाई नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ९ गरी ४८ जना सांसदले समर्थन गरेका छन् भने माओवादीका आङ्बोले पनि कांग्रेसका सवै सांसदहरुको समर्थन आफूलाई रहेको दाबी गरेका छन् ।
उता, नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा सर्मथन गरेका ४८ सांसदहरु शुक्रबार पनि प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । त्यसअघि कार्कीलाई समर्थन गर्ने कांग्रेसका ९ जना सांसदहरुले प्रदेश प्रमुखलाई लिखितपत्र बुझाउँदै आफूहरुको समर्थन कार्कीलाई रहेको स्पष्ट पारेका थिए ।
