पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा प्रकाश सपुतको साङ्गीतिक कार्यक्रम हुँदै

ल्यानक्यास्टर/ अहिलेका चर्चित गायक प्रकाश सपुतले अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा साङ्गीतिक प्रस्तुति दिने भएका छन्।
ड्रिम सपोर्ट फाउन्डेसनले नोभेम्बर पाँच तारिख दसैँ तिहार धमाका कार्यक्रममा प्रकाशको प्रस्तुति राखेको हो।
प्रकाश अहिलेका हिट गायक हुन्। उनको प्रस्तुति ल्यानक्यास्टरको लिटिजमा रहेको सुविधा सम्पन्न हलमा हुने छ।
फाउन्डेसनका अध्यक्ष प्रेम बरालका अनुसार कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ। ‘दसै तिहार हाम्रो महान् चाड हो यस्तो मौकामा हामी सबै जना एकै ठाउँमा भएर साङ्गीतिक रूपमा चाड मनाउ भनेर हामीले कार्यक्रम गरेका हौ।’ बरालले भने, ‘चाडबाड मनाउने ठाउँमा पनि किन टिकट लिने भनेर हामीले निःशुल्क गरेका हौ।
कार्यक्रम दिउँसो साढे १२ बजेबाट सुरु हुने छ। प्रकाशको प्रस्तुति अगाडि स्थानीय कलाकारले मनोरञ्जन दिने छ।
‘हामीले प्रकाश जीको सहभागिता पक्का गर्यौ, कार्यक्रमको विस्तृत खाना बनाउँदै छौ,हामी स्थानीय कलाकारलाई पनि अवसर दिन्छौ’ बरालले भने। ‘हाम्रो मुख्य उद्देश्य चाड पर्व सामूहिक रूपमा मनाउनु पर्छ भन्ने हो, विगत तीन वर्ष देखि हामीले दसै तिहारको अवसर पारेर निःशुल्क रूपमा नै साङ्गीतिक कार्यक्रम गर्दै आएका छौ।’
