एनआरएन निर्वाचन : अध्यक्षका उम्मेदवार आरके शर्मा सहित १४ जनाले गरे मनोनयन, अन्य साइत कुर्दै

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी कार्यकालको लागि हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार आरके शर्माले मनोनयन दर्ता गराएका छन्। उनी एनआरएनए आइसीसीका वर्तमान उपाध्यक्ष हुन्।
कतारमा व्यवसाय गर्दै आएका शर्माले शुक्रवार बालुवाटार स्थित एनआरएनएको मुख्यालयमा पुगी आफ्नो मनोनयन दर्ता गराएका हुन्।
‘भोली म काठमाडौँ बाहिर जानु पर्ने भएकाले आजै मनोनयन गरेको हुँ अब तपाईँहरू सबैको साथको अपेक्षा गरेको छु।’ मनोनयन पछि समाज टाइम्स सँगको कुराकानीमा शर्माले भने।
अध्यक्ष पदमा मनोनयन गर्ने उनी पहिलो हुन्। अहिले सम्म पाँच जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
अन्य उम्मेदवारले ज्योतिषी सल्लाहमा साइत कुरेको बताइएको छ।

शर्माका अनुसार उनको प्रस्तावकमा आइसीसीका वर्तमान उपाध्यक्ष डिबी क्षेत्री र एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट रहेका छन्। क्षेत्री एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष तथा आगामी अध्यक्षको प्रत्याशी डा. बद्री केसी निकट हुन्।
यस्तै समर्थकमा नेपाली कांग्रेस निकट अमेरिका निवासी वेद खरेल र शर्मा कै श्रीमती वन्दना सापकोटा रहेकी छिन्।
निर्वाचन आयोजकमा अनुसार मनोनयन खुल्ला भएको दोस्रो दिन शुक्रवार सम्म १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कतारमा नै व्यवसाय गर्दै आएका राजु रेग्मीले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्। उनीको नाम शर्मा र अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ दुवै जनाको टिममा रहेको छ।

यसै गरी जापानका रोबिन शेरचनले पनि उपाध्यक्षमा मनोनयन गरेका छन्। उनी पनि डा. बद्री र महेश दुवै टिममा परेका व्यक्ति हुन्।
यस्तै जापानका गोविन्द प्रसाद श्रेष्ठले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। युरोपका सोम सापकोटाले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका छन्। आइसीसीका महिला सचिव हङकङ्ग निवासी राधिका गुरुङले पुन सोही पदका लागि मनोनयन दर्ता गराएकी छिन्। यस्तै जापानका पासरमणी पोखरेलले सचिव पदमा मनोनयन दर्ता गराएका छन्।
अमेरिकाका सिपी पौडेलले सह कोषाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।
जापानका शिव पौडेलले एसिया प्रशान्त संयोजकमा, सुरेन्द्र घिसिङले युवा संयोजकमा, अस्ट्रेलियाका दिनेश पोखरेलले क्षेत्रीय संयोजकमा, अरुण कु. ठाकुरले ओशियना उप संयोजकमा मनोनयन दर्ता गराएका छन्।
यस्तै गोकुल घिमिरेले ओसियना उपसंयोजकमा, प्रदीप न्यौपाने एसियाना प्रशान्त क्षेत्रीय संयोजकमा मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्ता १६ तारिख दिउसो एक बजे सम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार अहिले सम्म काठमाडौँमा पुगेर दुई सय ७२ जना डेलिगेटले नाम दर्ता गराएका छन्। यस पटक एनआरएनए आइसीसीको निर्वाचनका लागि ४१ सय ९२ जना डेलिगेट रहेका छन्।
यसै बिच निर्वाचन आयोगले डेलिगेटको नयाँ शुल्क कायम गरेको छ। यस अगाडि दुई सय अमेरिकी डलर कायम रहेकोमा अब १५ हजार नेपाली रुपैयाँ मात्र तिरे पुग्ने छ।