मुख्यमन्त्रीको नाउँमा कोसी प्रदेशमा रमिता

विराटनगर । प्रदेश सभाको निर्वाचन भएको १ वर्ष पनि नपुग्दै पाँचौं मुख्यमन्त्री पदको दावी गर्दा सत्ता पक्षका सांसदहरुले रमिता देखाएका छन् । सर्वोच्च अदालतको आदेशबाट भदौ २२ गते चौथो सरकार बनाएको हिक्मत कार्कीले विश्वासको मत लिने हिम्मत नगर्दा पदमुक्त भएका थिए । अहिले कामचलाउ सरकारको रुपमा परिणत भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि समय दिएका थिए ।
आज सत्तारुढ गठबन्धनको बालुवाटार बसेको बैठकले माओवादी केन्द्रका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेसमा रहेको संस्थापन इतर पक्षले विद्रोह गर्दा प्रदेश प्रमुखसमक्ष २ जनाले मुख्यमन्त्री पदमा दावी पेश गरेका छन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदहरुले विरोध गरेका छन् ।
कांग्रेसको शेखर कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यले आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै उनको कार्यालयमा निवेदन दिएका छन् ।
ती प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् ।
माओवादीका आङबोले पनि उनीहरुकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि आफूहरुको हस्ताक्षर दुरुपयोग भएको कांग्रेस सभासदहरुको भनाइ छ ।
नेपाली कांग्रेसका कार्कीलाई समर्थन गर्नेमा इलामका शमशेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् ।
कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९ जना प्रदेश सांसद छन् । तीमध्ये ८ जनाले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।
केन्द्रमा गठबन्धन दलहरुका शीर्ष नेताहरुले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि विद्रोह गर्दै कांग्रेसको कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ ।
सरकार गठनको विषयमा प्रदेशको संसदीय दलमा निर्णय गर्नुपर्नेमा केन्द्रले गरेको भन्दै उनले केन्द्रमै पनि पार्टीले कुनै निर्णय नगरेकाले सांसदको स्वतन्त्रताका हिसाबले अवसर सदुपयोग गरेको कार्कीले बताए ।
उनले कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री पदको दाबी पेश गरेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास आफूले लिएको बताएका छन् ।
मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश प्रमुखले संवैधानिक र कानुनी रुपमा विज्ञहरुसँग परामर्श गरेर निकास निकाल्ने विश्वास आफूले लिएको बताएका हुन् ।