अञ्जनको कीर्तिमानी गोल, नेपाल र लाओस बराबरीमा रोकिए

काठमाडौं । अञ्जन विष्टको, कीर्तिमानी गोलसँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको हो । नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए ।
४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अञ्जनले नेपाललाई खेलमा फर्काएका थिए ।
अञ्जनको किर्तिमान
अञ्जनको यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् ।
उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।
पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइनेछ ।
एसियाली टोलीहरु मध्यको वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।