एनआरएनए निर्वाचन : तयार भयो टिम बद्री, सुनिल साहका लागि ‘पर्ख र हेर’
पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी डा. बद्री केसी समूहले आफ्नो टिमको टुङ्गो लगाएको छ।
डा. केसी वर्तमान कमिटीका कार्यकारी अध्यक्ष हुन्। केसीले औपचारिक रूपमा अझैँ पनि आगामी अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छैनन्। अध्यक्षका अर्का प्रत्याशी आरके शर्मा सँगको कतार वार्ताले मूर्तरूप लिन नसके पछि केसीले शुक्रवार टिमको टुङ्गो लगाएका हुन्।
केसी निकट उच्च स्रोतले समाज टाइम्सलाई जनाए अनुसार अक्टोबर एक वा तीन तारिकमा उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै छन्।
‘हाम्रा उपाध्यक्षका उम्मेदवार डा हेमराज शर्माले म यात्राको क्रममा बाटोमा हुन्छु की भन्नु भएकाले एक तारिखको उम्मेदवारी घोषणा दुई दिन धकेलिने सम्भावना छ। तर टिमको टुङ्गो भर्खर लाग्यो।’ स्रोतले समाज टाइम्सलाई भन्यो। ‘उपाध्यक्षका उम्मेदवार सुनिल साहको विषयमा के गर्ने भन्ने निर्णय गर्न गाह्रो भएकोले केही ढिलाइ भएको हो अरू त टुङ्गी सक्यो।’
बद्री टिमबाट वर्तमान महासचिव गौरी जोशीले यस अगाडि नै सोही पदमा पुन उम्मेदवारी घोषणा गरी सकेका छन्।
उपाध्यक्षका लागि ६ जना मध्ये बेलायत निवासी डा. हेमराज शर्मा र रामशरण सिम्खडा टिम बद्रीको उच्च प्राथमिकतामा रहेका उम्मेदवार हुन्।
यसै गरी क्यानडाका चिरञ्जीवी घिमिरे र जापानका रोबिन शेरचनले टिम बद्रीबाट टिकट पाएका छन्। यद्पी रोबिनलाई महेश श्रेष्ठले पनि आफ्नो टिममा राख्ने प्रयास गरिरहेका छन्। यस्तै अस्ट्रेलियाका डा. विनोद श्रेष्ठले पनि टिम बद्रीबाट टिकट पाएका छन्।
एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा आइसीसीका कोषाध्यक्ष साहलाई टिम बद्रीबाट उच्च प्राथमिकतामा राखिएको तर उनको नाम अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठको टिममा देखिए पछि विकल्प खोजिएको स्रोतले बतायो।
‘सुनिल जी हाम्रो टिममा आउनु भएन भने उहाँको विकल्प अस्ट्रेलियाका दिनेश जोशीलाई राखिएको छ।’स्रोतले भन्यो।
टिम बद्रीका उपाध्यक्ष उम्मेदवार मध्ये रामशरण, डा.विनोद र चिरञ्जीवी प्रवासी नेपाली मञ्च निकट हुन्।
टिम बद्रीले महिला उपाध्यक्षमा एसमिन बेगम र युवा उपाध्यक्षमा रोशन थापालाई निरन्तरता दिने निर्णय गरेको छ।
यसै गरी उप महासचिवमा जर्मनीका सन्तोष भट्टराई र अमेरिकाका प्रमोद सिटौलाले टिकट पाएका छन्। प्रमोदको नाम महेश टिममा पनि चर्चामा छ।
सचिवमा जर्मनीका डा. नवराज रोसियार,कोरियाका यक्षराज सुवेदी,बेलायतका राजेन्द्र पुडासैनी, जापानका पारसमणि पोखरेल, अमेरिकाका प्रकाश सापकोटा र अस्ट्रेलियाका ज्ञानेन्द्र रेग्मीले टिकट पाएका छन्।
कोषाध्यक्षमा जापानका सुदन थापा रहेका छन्। वर्तमान महिला सचिव राधिका टिका गुरुङले सोही पदमा बद्री टिमबाट टिकट पाएकी छन्। महिला सह कोषाध्यक्षमा टिम बद्रीको उम्मेदवार चीनबाट कञ्चन अमृता थापा रहने छिन्। पुरुष सह कोषाध्यक्षमा जापानका ददीवल खड्का पहिलो नम्बरमा रहेका छन्।
यस्तै क्यानडाका अभिमन्यु बस्नेत पनि टिम बद्रीबाट सह कोषाध्यक्षको उम्मेदवार हुने छन् । कतारका मोहम्मद मुन्तवा मुसलमान र अमेरिकाका सिपी पौडेल मध्ये एक जनाले टिकट पाउने छन्।
युवा संयोजकमा जापानका सुपेन्द्र घिसिङ र महिला संयोजकमा बेल्जियमकी अनुजा प्रधान टिम बद्रीको रोजाइमा परेका छन्।
निर्वाचन अक्टोबर १९ तारिखमा हुँदै छ।
र यो पनि …
एनआरएनएको निर्वाचन तालिका यस्तो, मनोनयन दर्ता अक्टोबर १२–१४ मा