एनआरएनएको निर्वाचन तालिका यस्तो, मनोनयन दर्ता अक्टोबर १२–१४ मा
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन कार्यतालिका प्रकाशित भएकोछ । निर्वाचन समितिको आज बसेको बैठकले अक्टोबर १९ तारिख (कार्तिक २ गते) निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरिएको हो ।
मतदाता नामावली सेप्टेम्बर २४ तारिख (असोज ६ गते) प्रकाशित गरिने छ । मतदाता नामावलीमाथि दावी विरोध गर्ने समय सेप्टेम्बर २५ र २६ तारिखलाई तय भएको छ । यसैगरी सेप्टेम्बर २८ तारिखभित्र छानविन गरेर २९ तारिखमा अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । यसैगरी उम्मेदवारको उम्मेदवारी दर्ताको समय अक्टोबर १२–१४ को समय तोकिएको छ ।
उम्मेदवार भौतिक वा विद्युतीय माध्यमबाट मनोनयन दर्ता गर्न पर्ने छ ।
तर, विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेहरुको हकमा भने प्रस्तावक र समर्थक सहित अनिवार्य उपस्थित भै सनाखत गर्नु पर्ने छ । त्यसका लागि अक्टोबर १६ को मिति तोकिएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशित पनि सोही १६ तारिखमा हुने छ । यस्तै, उम्मेदवारको दावीविरोधको कार्यतालिका १६ तारिखकको साँझ ४ बजेदेखि ८ बजेसम्म रहेको छ ।
उम्मेदवारको दोस्रो नामावली प्रकाशित १७ अक्टोबरमा दिउँसो २ बजे हुने छ । उम्मेदवारको अन्तिम नामावली १७ तारिख राति ८ बजे प्रकाशित हुने छ । सोही दिन राति १२ बजेभित्र निर्वाचन गराउने विद्युतीय कम्पनीलाई सम्पूर्ण नामावली उपलव्ध गराइने छ भने नमूना निर्वाचन १८ तारिखका दिन हुने छ भने मुख्य निर्वाचन मतदान १९ तारिखमा हुने छ ।
काठमाडौंको होटेल सोल्टीमा हुने निर्वाचनका लागि विहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने छ भने नेपाल बाहिर रहेकाहरुले विहान १२ बजेदेखि राति ११ः५९ बजेसम्म मतदान गर्न पाउने छन् ।