गंगाधरले महासचिवको दावी छाडे, अब उपाध्यक्षको उम्मेदवार

पेन्सिल्भेनिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का सचिव गंगाधर गौतम आगामी निर्वाचनमा महासिचव पदको दावेदारीबाट पछाडि हटेका छन्।
बेल्जियम निवासी गौतमले अब आफुलाई उपाध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन्। गौतमले बुधवार आफु महासिचवको रेसबाट बाहिरिएको घोषणा गरेका हुन्।
गौतमले अध्यक्षमा भने महेश श्रेष्ठलाई समर्थन गर्ने भएका छन्।
‘गैर आवासीय नेपाली संघलाई थप शशक्त,समावेशी, सबैको साझा बनाउदै संस्था भित्र रहेका कमिकमजोरीलाई हटाउदै संस्थामा लोकतान्त्रिक बिधि र पद्धतिको निर्माण गर्न महेश श्रेष्ठले नेतृत्व गरेको बृहत् लोकतान्त्रिक टिमबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु।’ तपाई महासचिवको उम्मेदवारीबाट हट्नु भएको हो भन्ने समाज टाइम्सको प्रश्नमा गौतमले भने।
उनले आफु लामो समयदेखि संस्थामा रुपान्तरण, विधानको पुनर्लेखन एवम कार्यान्वयन सहित एनसीसीहरुलाई स्वायत्त बनाउने प्रमुख एजेन्डा सहित मतदाताको बीचमा उपस्थित भएको बताए।
यसअघि काठमाडौंमा महेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो दावी महासचिवमा रहे पनि सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता भने जनाएका थिए ।
आउँदो अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुन लागेको ११ औं महाधिवेशन हुँदै छ । गौतमले महासचिवको दावी छाडेपछि अब गौरी जोशी र बुद्धिसागर सुवेदी मात्र रेसमा छन्।