महेशलाई रोक्न बद्री र आरके बिच कतारमा वार्ता हुँदै, गौरी जोशी पनि अमेरिकाबाट उडे

पेन्सिल्भेनिया । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको ११ औँ विश्व सम्मेलन र महाधिवेशनको रस्साकस्सी बढ्दै गएको छ । एनआरएनए सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (डेलिगेट्स)लाई अन्तिमरुप दिएर निर्वाचन समितिलाई बुझाए पछि निर्वाचन समितिले ४ हजार १ सय ९१ जनाको सूची सार्वजनिक गरेको छ ।
बिहीबारसम्म प्रारम्भिक मतदाता नामावलीमाथिको दाबी विरोधको समय दिइएको छ भने अक्टोबर १ तारिखमा मतदाताको अन्तिम नामावली प्रकाशित हुने छ । मतदाता नामावली प्रकाशन भएसँगै एनआरएनएमा चुनावी ज्वरो ह्वात्तै बढेको छ । नेपालको राजनीतिक समीकरण अनुसार एनआरएनएको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बुझिएको छ ।
अहिलेसम्म उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार प्रसारमा वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठ, अर्का उपाध्यक्ष आरके शर्माले औपचारिक रूपमा तयारी थालिसकेका छन् । वर्तमान अध्यक्ष डा. बद्री केसी पर्ख र हेरको अवस्थामा रहेका छन् । संस्थाको कार्यकारी अध्यक्षको भूमिकामा रहेकाले आफू अहिले पनि नयाँ नेतृत्व सर्वसम्मत चयन गर्नु पर्ने पक्षमा रहेकाले उम्मेदवारी घोषणामा हतारो नगरेको आफू निकटसँग बताउने गरेका छन् ।
विगतमा बद्रीसँगै रहेका महेश अहिले नेपाली काँग्रेस निकट उम्मेदवार बनाइएकाले पनि अहिले बद्रीलाई अप्ठेरो परेको बुझिएको छ । बद्री र महेशलाई एनआरएनएमा जीवा लामिछानेले ग्रुम गराएकाले उनीहरूलाई मिलाउने प्रयास भइरहेको पनि बुझिएको छ । महेश अहिले टिम फोडेर अर्को समूहमा गएकाले माओवादी पृष्ठभूमिका आरकेसँग सहकार्य गर्न सकिने विषयमा छलफल भएको पनि बुझिएको छ ।
चर्चामा अरू पनि अध्यक्षमा आंकक्षी देखिए पनि खास गरी मुख्य खेलाडीको रूपमा बद्री महेश र आरके नै भएकाले यी तीन जनाबाट एक जनालाई अध्यक्ष बनाउने गरी सर्वसम्मतको प्रयास पनि भएको एनआरएनए स्रोतले जनाएको छ । त्यसका लागि बद्री, महेश र आरकेले कतारमा वार्ता गर्ने तयारी भएको छ भने वार्तामा सहभागी हुनका लागि महासचिव गौरी जोशी पनि अमेरिकाबाट कतार प्रस्थान गरेको बताइएको छ ।
अहिलेको अवस्थामा एनआरएनएको चुनावमा महेशको सम्भावना बलियो बन्दै गएको अवस्थामा भोलि आफ्नो लिगेसी नहुने भन्दै बद्रीले जसरी पनि महेशलाई रोक्ने खेल खेल्न लागेका छन् । यता, महेशलाई नेपाली काँग्रेसले उम्मेदवार बनाएको र अहिले काँग्रेस सत्तारुढ गठबन्धनमा रहेकाले माओवादीको पनि साथ खोजिरहेको छ ।
यस्तोमा आरकेले सघाउने वातावरण बनाउनका लागि काँग्रेसका नेताहरू लागेको पनि बुझिएको छ । तर, माओवादीबाट आरके अहिले एनआरएनएमा छुटे भने केही समय त्यहाँको नेतृत्वमा पुग्नका लागि माओवादीका अरू मान्छे नहुने भएकाले बरु माओवादीले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मिलाउने प्रयास गरेको पनि स्रोतले ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चीन भ्रमणमा रहेकाले उनी आउनासाथ एनआरएनएको चुनावी माहौल परिवर्तन हुन सक्ने पनि धेरैले अनुमान गरेका छन् । तर, महासचिव जोशीले एनआरएनएका ३ जना आंकक्षीहरुका बिचमा कतारमा वार्ता हुन लागेको बताउँदै कसैलाई रोक्ने भन्दा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास हुन लागेको बताए ।