एसियाली खेलकुदमा नेपालको आजको प्रदर्शन कस्तो रह्यो त?

चीनमा जारी एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले उत्कृष्ट सुरुआत गर्दा अन्य खेलको प्रदर्शन भने निराशाजनक रहेको छ ।
पौडी :
हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् । महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लाइन् । ७ खेलाडीले प्रतिस्पर्धा थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।
पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोश्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।
बक्सिङ : सुष्मा र भुपेन्द्र पराजित
एसियाडमा पदकको आशा गरिएकी नेपालकी सुष्मा तामाङ बुधबार पहिलो चरणमा पराजित भइन् । महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा कजाखस्थानकी नाजम काइजाईसंग ५–० ले चुकिन् । गत वर्ष यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माले विश्व च्याम्पियनसिप समेत खेलेको अनुभव छ ।
पुरुष ६३.५ केजीमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी भुपेन्द्र थापा एन चु लाईसँग ४–० ले पराजित भए । पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
महिला बास्केटबल : नेपालको लगातार दोस्रो हार
महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको । समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हार्यो ।
कजाखस्थान विरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान ४–४ अंक जोडे । नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १–१ अंक थपे ।
समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।
जुडो : नेपालको चुनौती समाप्त
जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो । पराजित भएको छ ।
जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो ।
टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए ।
यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि प¥यो ।
ह्यान्डबल : नेपाल जापानसँग पराजित
महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो ।
पहिलो हाफमा ६ गोल गरेको नेपालले दोश्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसंग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।
तेक्वान्दो :
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे । पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे ।
महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन् । उनी १४–१ र ९–० ले पराजित भइन् । अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।