बुबाका सपना पूरा गर्न लाग्ने छु : सुहाङ नेम्वाङ
इलाम । दिवंगवत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
गृह जिल्ला इलाममा नेकपा एमाले कोसी प्रदेश कमिटीको आयोजनामा मङ्गलवार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बुबाका अधुरा सपना पूरा गर्न सक्रिय हुने बताएका हुन् ।
बुबाको निधनले इलाम मात्र नभई सिङ्गो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए ।
पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुबा चिन्तित हुने गरेको उल्लेख गर्दै उनले निष्ठावान राजनीति गरेको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका स्वर्गीय नेम्वाङले धेरै सपना बोकेको भए पनि कति सपना पूरा हुन नसकेको बताउँदै उनले बाँकी सपना पूरा गर्ने बताए ।
नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्बर २ उपनिर्वाचन हुने भएको छ । सुहाङलाई आगामी उपनिर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनाइने चर्चा चलेको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै नेकपा एमालेका नेताहरू रामबहादुर थापा बादल, रघुवीर महासेठ, डा. शिवमाया तुम्बाहाम्फे, एमाले इलामका अध्यक्ष महेश बस्नेत, नेपाली काँग्रेस इलामका पूर्व अध्यक्ष हिमालय कर्माचार्यले नेम्वाङको योगदानको चर्चा गरेका थिए ।
यसै गरी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त कोसी, माओवादी केन्द्रका कान्छा लावती, इलाम नगरपालिकाकी उपमेयर विष्णुकुमारी दाहाललगायतले पनि नेम्वाङको योगदानको प्रशंसा गरेका थिए ।