‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक
काठमाडौँ। नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा लिखित ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक भएको छ ।
मङ्गलवार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा एक कार्यक्रममा बिच म्युजिक भिडियोसहितको गीत प्रधान सेनापति प्रभु राम शर्माले सार्वजनिक गरेका हुन् ।
गीत सार्वजनिक समारोहमा गीतकार उपरथी श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाइमा एकरूपता नपाएको भन्दै त्यसलाई आफ्नो गीतमार्फत एकरूपता देखाउने सन्देश दिन खोजेको बताए ।
लेखक श्रेष्ठले भने, ‘नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरू तथा हाम्रा वीर पुर्खाहरूको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरूको बुझाइमा एकरूपता पाइँदैन । म एक सैनिक भएको नाताले मलाई यो विषयले झकझकाइरह्यो ।’
आफू व्यवसायीकै लेखक नभएको उल्लेख गर्दै उनले थपे,‘मलाई नेपाली सेनाले निभाउँदै आएका संविधान प्रदत्त बहुपक्षीय जिम्मेवारीहरू र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो ।’
उपरथी श्रेष्ठद्वारा लिखित उक्त गीतमा युवा गायक सुभात तिम्सिना र गायिका गीता पाण्डेले स्वर भरेका छन् ।
सङ्गीतकार राजेन्द्र बजगाईँको लयमा नेपाली सेनाका सैनिक ब्यान्ड प्रमुख, प्रमुख सेनानी दिनेश सोनामले सङ्गीत संयोजन गरेका छन् ।
गीतमा कोरस, समूह गायनमा प्रमीला बानियाँ, सङ्गीता घर्ती मगर, लक्ष्मी प्रभा थापा, सुधा शेर्पा, आकृति दुलाल, सम्झना जिमी र शुष्मा लामिछाने तथा गायनतर्फ राजकुमार आले मगर, राजीव परियार,हेमन्त रामझालि मगर,नारायण थापा,रमेश पाठक र रवीन्द्र लामिछानेले स्वर दिएका छन् ।