शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरूको ध्यान जानुपर्छ : कार्यवाहक प्रधानमन्त्री
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरूको विशेष ध्यान जानुपर्ने बताएका छन् । उनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्त्व दिएको उल्लेख गरे ।
मङ्गलवार काठमाडौँमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा कावा प्रधानमन्त्री खड्काले गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेष्ट पहल हुनुपर्ने बताए ।
उनले भने, ‘व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्त्व दिँदै आएको छ । विद्यार्थीलाई यसतर्फ आकर्षण गरी स्वदेशमै अवसर प्रदान गर्न सकिन्छ । यसका लागि हामीले प्राविधिक तथा व्यावसायिक शिक्षालाई तालिम र सिप विकास गरेका छौँ । शिक्षालयहरूको गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेष्ट पहल हुनुपर्छ ।’
उनले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न मेडिकल कलेजहरूको अहम् भूमिका रहने भएकाले सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।
शिक्षा क्षेत्रको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले निजी क्षेत्रको प्रवर्द्धनका लागि सरकारले अगाडि बढाएको विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेको जानकारी दिए ।