विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्छौँ : प्रधानमन्त्री
न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए । उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको जनाउँदै अव त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह नै सक्रिय रहेको आरोप पनि लगाए । अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले पार्टी पङ्क्तिको उपल्लो तहमै केही समस्या देखिएको भन्दै अव त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।
महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।