महेशको दैलोमा बद्रीको शक्ति प्रदर्शन !
पेन्सलभेनिया । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भइसकेको छ । कतिपयले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने कतिपयले भौतिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिका अध्यक्ष डा. बद्री केसीले फेरि एक कार्यकाल दोहोर्याउने लक्ष्य राखेका छन् । विगतमा विवाद मिलाउँदा ३ जन अध्यक्ष भएको र अब एकल कार्यकाल एक पटक काम गर्ने इच्छा रहेको आफू निकटहरूलाई डा. केसीले बताउने गरेका छन् । केसीले केही दिन अघि भर्चुअल रूपमा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गरेको बताइएको छ ।
तर, जापानमा शुक्रवारदेखि आइतबारसम्म आयोजना हुन लागेको पाँचौँ ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्सको अवसर पारेर त्यहीबाट औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बुझिएको छ ।
आसन्न ११ औँ विश्व सम्मेलन तथा महाधिवेशनमा डा. केसीसँगै अहिलेको कार्यसमितिमा उपाध्यक्ष रहेका महेश श्रेष्ठ, आरके शर्मा लगायतले अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन् । जापानका श्रेष्ठले काठमाडौँमा उम्मेदवारी घोषणा गर्न लाग्दा उनकै कर्मथलोमा स्वास्थ्य सम्मेलनको अवसर पारेर उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
यसलाई कतिपयले महेशको दैलोमा डा. केसीको शक्ति प्रदर्शनको रूपमा पनि बुझेका छन् ।