डीभी परेकाहरुको रोकिएको प्रक्रिया अघि बढाउन अदालतको निर्देशन
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकी संघीय अदालतले डाइभर्सिटी भिसा २०२६ अन्तर्गत अमेरिका भित्रै बसेर डिभी परेकाहरूले ग्रीन कार्ड लिन दिएको आवेदन प्रक्रियालाई अगाडि बढाउन आदेश दिएको छ ।
क्यालिफोर्नियाको अदालतको आदेश सँगै अजस्टमेन्ट अफ स्टेटस अर्थात् आफ्नो भिसा परिवर्तन गरी ग्रीन कार्ड लिन आवेदन दिएका व्यक्तिहरूका लागि एउटा ठूलो कानुनी निर्णय र खुसीको खबर हो।
ट्रम्प प्रशासनले डिभी परेका मानिसहरूको आवेदन रोकेर राखेको थियो । प्रशासनले राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षाको कारण देखाउँदै ल्याइएको नयाँ नीतिका कारण डिभी परेका धेरै आवेदकहरूको फाइल अगाडि नबढी रोकिएको थियो।
सरकारी नीतिका कारण अन्यायमा परेका आवेदकहरूले सरकार विरुद्ध मुद्दा दायर गरेका थिए । अगस्ट २८ तारखि क्यालिफोर्नियाको अदालतले सरकारको उक्त नीतिलाई अस्थायी रूपमा खारेज गरिदिको हो ।
अदालतले यो आर्थिक वर्ष सकिनु अगावै, बाँकी रहेको समयमा कुनै पनि बहाना वा रोकटोक नगरी, सद्भावपूर्वक र सामान्य प्रक्रियाबाट ती रोकिएका डिभी आवेदकहरूको फाइलहरू तुरुन्तै निर्णय गर्न आदेश दिएको छ।
युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेस (युएससीआइएस) ले अदालतको यो निर्णयप्रति असहमती जनाएको छ, तर अदालतको आदेश भएकाले यसलाई पालना गर्ने प्रतिबद्धता जनाएको छ।














