पेन्सिल्भेनिया ह्यारिसबर्गमा तेस्रो ‘सङ्गालो’ कथा वाचन : आयुषा र सौगत प्रथम
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ह्यारिसबर्गमा शनिवार क्रियामण फाउण्डेशनले आयोजना गरेको तेस्रो ‘सङ्गालो : रिडिङ फर रेजिलियन्स’ कथा वाचन प्रतियोगिताको जुनियरतर्फ मेकानिक्सबर्ग, पेन्सिल्भेनियाका सौगत तिम्सिना र युथतर्फ ल्यान्कास्टर, पेन्सिल्भेनियाकी आयुषा चापागाईं प्रथम भएका छन्।
जुनियर समूहमा सौगतले १६० मध्ये १५१ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उनले गोविन्द हुमागाईंको ‘बसाइँसराइ र नयाँ सुरुवात’ कथा प्रस्तुत गरेका थिए। प्रथम भएका सौगतले ४०० अमेरिकी डलर पुरस्कार प्राप्त गरे।
युथ समूहमा आयुषाले १५३ अंकसहित पहिलो स्थान हासिल गरिन्। उनले देवी दाहाल दागानेको ‘दोस्रो कालो नवरात्रि’ कथा प्रस्तुत गरेकी थिइन्। उनले पनि ४०० डलर पुरस्कार प्राप्त गरिन्।
नेपाली भाषा, साहित्य, कथा वाचन तथा पुस्ताबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जुनियर र युथ गरी दुई समूहमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
जुनियर समूहमा सिन्सिनाटी, ओहायोका सहस्राम्शु सुवेदी १४५ अंक प्राप्त गर्दै दोस्रो भए। उनले विष्णु लुइँटेलको ‘कवि नारायण प्रसाद लुइँटेल’ कथा प्रस्तुत गरेका थिए। दोस्रो भएका सुवेदीले ३०० डलर पुरस्कार पाए।
हिमांशी धितालले १२४ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन्। उनले द्रौपदी प्रधानको ‘पवित्र सम्बन्धमा अविश्वासको पर्खाल’ कथा प्रस्तुत गरेकी थिइन्। उनले २०० डलर पुरस्कार प्राप्त गरिन्।
युथ समूहमा ल्यान्कास्टरकै दिव्या घिमिरे १५२ अंकसहित दोस्रो भइन्। उनले गंगा लामिटारेको ‘भाषाको मलामी’ कथा प्रस्तुत गरेकी थिइन्। उनले ३०० डलर पुरस्कार प्राप्त गरिन्।
ल्यान्कास्टरकै दिप्सिका घिमिरे १४९ अंकसहित तेस्रो भइन्। उनले भरत तिम्सिनाको ‘झोले बाजे’ कथा प्रस्तुत गरेकी थिइन्। उनले २०० डलर पुरस्कार प्राप्त गरिन्।
प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई उनीहरूको सहभागिता र योगदानको सम्मानस्वरूप ‘कम्युनिटी लुमिनरी अवार्ड’ प्रदान गरिएको थियो।
स्वातरा टाउनसिप कमिस्नर बिनिता पुरी राई, बुद्धखरी फाउण्डेशनका अध्यक्ष टीका ढुंगाना तथा जीबीएलओकी सचिव सुजन माझीले सहभागीहरूलाई सम्मान प्रदान गरेका थिए।
‘सङ्गालो’ कथा पढ्ने प्रतियोगितामात्र होइन : तिम्सिना
क्रियामण फाउण्डेशनका सिइओ भरत तिम्सिनाले ‘सङ्गालो’लाई केवल कथा पढ्ने प्रतियोगिताका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्। उनका अनुसार कार्यक्रम एउटा पुस्तालाई अर्को पुस्तासँग जोड्ने प्रयास हो।
“कसैका लागि यो नेपाली भाषा जोगाउने कार्यक्रम हुन सक्छ। कसैका लागि साहित्य र लेखकलाई प्रोत्साहन गर्ने कार्यक्रम हुन सक्छ। कसैका लागि संस्कृति जोगाउने प्रयास हुन सक्छ। र धेरैका लागि यो बालबालिकाले कथा पढ्ने प्रतियोगिता हुन सक्छ,” तिम्सिनाले भने, “यी सबै कुरा सङ्गालोभित्र छन्। तर सङ्गालो यतिमा मात्र सीमित छैन।”
उनका अनुसार नेपाली लेखकहरूले लेखेका कथामार्फत नयाँ पुस्ताले भाषा र साहित्यसँग जोडिने अवसर पाउनुका साथै अभिभावक तथा अग्रज पुस्ताले समेत आफ्ना जीवनका अनुभव, सम्झना, संघर्ष र इतिहाससँग जोडिन सक्नेछन्।
“एउटा बच्चाले कथा पढ्छ। तर त्यो कथा सुन्ने आमाबुबा र हजुरबा–हजुरआमाले त्यसमा आफ्नो जीवनको कुनै अंश भेट्न सक्नुहुन्छ,” उनले भने।
तिम्सिनाले बालबालिकाका लागि ‘सङ्गालो’ पढ्ने अवसर मात्र नभई मञ्चमा उभिने, अरूको कथा बुझ्ने, आफ्नो आवाजमा विश्वास गर्ने र समुदायका अगाडि जिम्मेवारी लिन सिक्ने अवसरसमेत भएको बताए।
मानसिक स्वास्थ्यसँग पनि जोडिएको कार्यक्रम
‘सङ्गालो’को उद्देश्य भाषा र साहित्यमा मात्र सीमित नभएको तिम्सिनाको भनाइ छ। कार्यक्रमलाई मानसिक स्वास्थ्य र समुदायबीचको सम्बन्धसँग समेत जोडेर हेरिएको उनले बताए।
“हामी सबैका कथा छन्। केही खुसीका, केही पीडाका। केही कथा हामी वर्षौँसम्म मनभित्र राख्छौँ,” उनले भने, “आफ्नो कथा भन्न पाउनु, अरूको कथा सुन्न पाउनु र आफू एक्लो छैन भन्ने महसुस गर्नु पनि समुदायका लागि महत्वपूर्ण हुन सक्छ।”
त्यसैले ‘सङ्गालो’मा कथा पढ्नेमात्र नभई सुन्ने र बाँड्ने वातावरण निर्माण गर्न खोजिएको उनले बताए।
‘भोलिको पाठक मात्र होइन, लेखक र नेतृत्वकर्ता पनि’
क्रियामण फाउण्डेशनले नेपाली भाषा बोल्न सक्ने युवामात्र नभई समुदाय बुझ्ने, मानिसका कुरा सुन्ने, अरूको कथा सम्मान गर्ने, आफ्नो आवाजमा विश्वास गर्ने र आवश्यक पर्दा समुदायका लागि अगाडि आउन सक्ने युवा तयार गर्न खोजेको तिम्सिनाले बताए।
“आज एउटा बच्चा मञ्चमा उभिएर कथा पढ्दैछ। भोलि ऊ आफ्नो समुदायका लागि नयाँ बाटो खोल्ने व्यक्ति हुन सक्छ,” उनले भने।
प्रतियोगिता एउटा माध्यम मात्र भएको उल्लेख गर्दै तिम्सिनाले आज कथा पढिरहेका बालबालिकामा भोलिका पाठकसँगै लेखक, सेवक र नेतृत्वकर्ताको सम्भावना देखिरहेको बताए।
“यदि सङ्गालोले हाम्रो समुदायबाट त्यस्तो एउटा पुस्ता तयार गर्न सक्यो—जसले आफ्नो भाषा र कथा मात्र होइन, आफ्नो समुदायको जिम्मेवारी पनि बोक्न सकोस्—त्यही नै हाम्रो सफलता हुन सक्छ,” उनले भने।
उनले ‘सङ्गालो’लाई कथा, पुस्ता, सम्बन्ध, जिम्मेवारी र भविष्यलाई एकै ठाउँमा जोड्ने प्रयासका रूपमा व्याख्या गरे।
तेस्रो ‘सङ्गालो’ कार्यक्रमको सञ्चालन पातालो अन्तरे र कमला चापागाईंले गरेका थिए। कमला चापागाईं पहिलो ‘सङ्गालो’ प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी सहभागीसमेत हुन्।
कार्यक्रममा युवा पाठक, अभिभावक, लेखक, समुदायका अगुवा, प्रायोजक तथा समर्थकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका शीर्ष प्रायोजक नेत्र आचार्यले विजेताहरूलाई पुरस्कारको चेक व्यक्तिगत रूपमा हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई एचएसीसी, यूटीजेड स्न्याक्स र तिलक निरौलाले समेत सहयोग गरेका थिए।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, लेखक, निर्णायक, अभिभावक, परिवार, स्वयंसेवक तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरेको छ।














