टेक्ससको ग्रीनभिल नेपाली समाजद्वारा बाडीपीडितका ६ लाख रुपैयाँ बढी सहयोग
ग्रीनभिल, टेक्सस / अमेरिकाको टेक्ससस्थित ग्रीनभिल नेपाली समाजले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६ लाख ७९ हजार ५ सय सहयोग गरेको छ।
समाजले आगामी सेप्टेम्बर १२ मा आयोजना गर्ने तय गरेको तीज कार्यक्रम स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकममा थप सहयोग जुटाएर राहत कोषमा पठाएको हो।
समाजका अशोक भुसालका अनुसार बाढी प्रभावित नेपालीहरूको सहयोगका लागि तीज कार्यक्रम स्थगित गरी सो रकम राहतमा उपलब्ध गराउने निर्णय गरिएको हो।
सहयोग रकम संकलन तथा व्यवस्थापनको जिम्मेवारी डोलराज भुसालले निर्वाह गर्नुभएको थियो भने नेपालमा रकम पठाउने कार्यमा नरहरि सिलवालले सहयोग गर्नुभएको थियो।
डलास नजिकै रहेको ग्रीनभिल सहरमा हाल करिब २० नेपाली परिवार बसोबास गर्दै आएका छन्। पछिल्लो समय नेपालीहरूको बसोबास बढ्दै गएको यस क्षेत्रमा ग्रीनभिल नेपाली समाजले होली, तीज, खेलकुदलगायत विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।
नेपालमा आएको प्राकृतिक विपत्तिका कारण पीडित परिवारलाई सहयोग गर्न समाजले आफ्ना नियमित कार्यक्रमसमेत स्थगित गरी राहतमा रकम परिचालन गरेको हो।














