नागरिक नभई मतदान गरेको आरोपमा पेन्सिल्भेनिया सहित तीन राज्यमा पाँच जनाविरुद्ध मुद्दा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको न्याय विभागले अमेरिकी नागरिक नभई पछिल्ला दुई चुनावमा मतदान गरेको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
विभागले शुक्रवार जारी गरेको विज्ञप्तीमा सन् २०२२ र २०२४ को निर्वाचनमा गैरकानुनी रूपमा मतदान गरेको तथा मतदाता दर्ताका क्रममा नागरिकतासम्बन्धी गलत विवरण दिएको आरोपमा पेन्सिल्भेनिया, न्यु जर्सी र विस्कन्सिनमा बसोबास गर्ने पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
न्याय विभागका अनुसार आरोप लागेकामध्ये दुई जना गैरकानुनी रूपमा अमेरिकामा रहेका विदेशी, दुई जना गैरअमेरिकी नागरिक र एक जना अमेरिकी नागरिक छन्।
अमेरिकी नागरिकमाथि गैरअमेरिकी नागरिकलाई गैरकानुनी रूपमा मतदान गर्न सहयोग गरेको तथा मतदानका लागि नागरिकतासम्बन्धी गलत विवरण दिएको आरोप लगाइएको छ।
पेन्सिल्भेनियाको मिडिल डिस्ट्रिक्टमा कार्लिस्ल निवासी ६८ वर्षका थोमस होल्ट्जम्यान र उनकी पत्नी ५० वर्षीया मारिसोल गुजम्यान विरुद्ध संघीय ग्रान्ड जुरीले अभियोग दायर गरेको विज्ञप्तीमा उल्लेख छ।
न्याय विभागका अनुसार गुजम्यानमाथि सन् २०२४ को निर्वाचनमा गैरअमेरिकी नागरिकका रूपमा मतदान गरेको आरोप छ। अमेरिकी नागरिक होल्ट्जम्यानमाथि भने मतदान गर्न नागरिकतासम्बन्धी गलत विवरण दिएको, पत्नीलाई गैरकानुनी मतदानमा सहयोग गरेको र गलत रूपमा मतदाता दर्ता गराएको आरोप लगाइएको छ।
त्यस्तै, ह्यारिसबर्गमा बस्दै आएकी मेक्सिकोकी ३० वर्षीया कट्या रोड्रिगेज, विरुद्ध पनि सन् २०२४ को निर्वाचनमा गैरकानुनी रूपमा मतदान गरेको आरोपमा अभियोग दायर गरिएको छ। उनीमाथि मतदानका लागि अमेरिकी नागरिक भएको झुटो विवरण दिएको, गलत रूपमा मतदाता दर्ता गरेको र गैरअमेरिकी नागरिकका रूपमा मतदान गरेको आरोप लगाइएको छ।
न्याय विभागका अनुसार होल्ट्जम्यानलाई दोषी ठहर भएमा अधिकतम १० वर्षसम्मको जेल सजाय हुन सक्छ भने गुजम्यानलाई अधिकतम एक वर्ष र रोड्रिगेजलाई अधिकतम ११ वर्षसम्मको जेल सजाय हुन सक्छ। साथै निगरानीमा रिहाइ र जरिवाना पनि हुन सक्ने बताइएको छ।
न्यु जर्सीमा पनि गैरनागरिकमाथि आरोप
न्यु जर्सीको युनियन काउन्टीकी मर्सिडिज एलेक्जान्ड्रा कार्डोसोमाथि पनि संघीय निर्वाचनमा गैरअमेरिकी नागरिकका रूपमा मतदान गरेको आरोप लगाइएको छ।
न्याय विभागका अनुसार कार्डोसोले न्यु जर्सीको अनलाइन मतदाता दर्ता प्रणालीमार्फत दर्ता गर्दा आफू अमेरिकी नागरिक भएको गलत घोषणा गरेकी थिइन्। त्यसपछि उनले सन् २०२४ को जुनमा भएको प्राथमिक निर्वाचनमा मतदान गरेको आरोप छ।
कार्डोसो सन् २०२४ मा मतदान गर्दा अमेरिकी नागरिक नभएको र इक्वेडरबाट बी–२ भिसामा अमेरिका प्रवेश गरेको न्याय विभागले जनाएको छ। दोषी ठहर भएमा उनलाई अधिकतम एक वर्षसम्मको जेल सजाय हुन सक्छ। उनको प्रारम्भिक अदालत उपस्थिती सेप्टेम्बर ८ मा तोकिएको छ।
विस्कन्सिनमा २०२२ को निर्वाचनमा मतदान गरेको आरोप
विस्कन्सिनको बेलोइटमा बस्दै आएका मेक्सिकोका २५ वर्षीय जिसस जेभियर हुराडो गार्सियामाथि पनि गैरअमेरिकी नागरिकका रूपमा गैरकानुनी मतदान गरेको आरोप लगाइएको छ।
न्याय विभागका अनुसार उनले अमेरिकी नागरिक नभएको थाहा हुँदाहुँदै सन् २०२२ को नोभेम्बर ८ मा भएको निर्वाचनमा मतदान गरेका थिए। उक्त निर्वाचनमा अमेरिकी सिनेट र प्रतिनिधिसभाका सदस्य छनोटका लागि समेत मतदान भएको थियो।
उनी दोषी ठहर भएमा अधिकतम एक वर्षसम्मको जेल सजाय हुन सक्छ।
न्याय विभागको चेतावनी
अमेरिकी महान्यायाधिवक्ता टड ब्लान्चेले निर्वाचनको निष्पक्षता लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै योग्य अमेरिकी नागरिकको मतदान अधिकारको संरक्षण गर्नुपर्ने बताएका छन्।
एफबीआई निर्देशक काश पटेलले पनि निर्वाचनसम्बन्धी गैरकानुनी मतदानका विश्वसनीय आरोपमाथि अनुसन्धान गर्न उपलब्ध सबै स्रोत प्रयोग गरिने बताएका छन्।
न्याय विभागका अनुसार यी घटनाको अनुसन्धानमा होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई), एफबीआई र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) लगायतका निकाय संलग्न थिए।














