नेपालमा गएको विनाशकारी बाढीपछि खोजी र उद्धार तीव्र पार्न १३ जना अमेरिकी सांसदद्वारा थप सक्रियताको माग
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपालमा गएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन अमेरिकी संसद्का १३ जना सदस्यले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई तत्काल थप स्रोत र जनशक्ति परिचालन गर्न आग्रह गरेका छन्।
शुक्रबार विदेशमन्त्री रुबियोलाई पठाइएको पत्रमा सांसदहरूले नेपालमा जारी खोज तथा उद्धार अभियानमा उपलब्ध सबै स्रोत परिचालन गर्न तथा विपद्मा परेका अमेरिकी नागरिकको सुरक्षा र उद्धार सुनिश्चित गर्न विदेश मन्त्रालयलाई आग्रह गरेका हुन्।
सांसदहरूले अगस्ट २६ मा हिमालय क्षेत्रमा हिमताल/हिमनदीजन्य भत्काइ र पहिरोपछि त्रिशूली तथा भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन्। बाढीले सडक, पुल, घर तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्याउनुका साथै हजारौँ मानिसलाई प्रभावित, बेपत्ता वा सम्पर्कविहीन बनाएको पत्रमा उल्लेख छ।
पत्रअनुसार सेप्टेम्बर ४ सम्म बाढीबाट मृत्यु हुनेको संख्या १,३०० नाघेको र कम्तीमा ४,००० जना बेपत्ता रहेको उल्लेख गरिएको छ। तीमध्ये कम्तीमा ७५ जना अमेरिकी नागरिक रहेको सांसदहरूको दाबी छ। पत्रको अर्को भागमा भने करिब १०० अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ।
अमेरिकी सांसदका प्रमुख माग
बेपत्ता अमेरिकीका परिवारलाई दैनिक जानकारी
उद्धार कार्य जारी रहँदा बेपत्ता अमेरिकी नागरिकका परिवार र अमेरिकी कांग्रेसलाई दैनिक रूपमा जानकारी उपलब्ध गराउन माग गरिएको छ। साथै कन्सुलर हटलाइनमा पर्याप्त जनशक्ति परिचालन तथा अमेरिकी नागरिक र उनीहरूका परिवारका लागि स्वदेश फर्काउने सेवामा सहयोग गर्न भनिएको छ।
विपद् सहायता प्रतिक्रिया टोली नेपाल पठाउन आग्रह
बाढी प्रभावित क्षेत्रमा डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम (डीएआरटी) परिचालन गर्न सांसदहरूले माग गरेका छन्। यस्ता टोलीले खोज तथा उद्धार, राहत सामग्रीको व्यवस्थापन र स्वास्थ्य सेवामा सहयोग गर्न सक्ने भन्दै उनीहरूलाई जतिसक्दो छिटो नेपाल पठाउन आग्रह गरिएको छ।
ड्रोन, उपग्रह र अन्य प्रविधि प्रयोग गर्न माग
बेपत्ता व्यक्तिको खोजीका लागि उच्च उचाइमा काम गर्न सक्ने प्रविधि तथा थर्मल/इन्फ्रारेड ड्रोन प्रयोग गर्न पनि सांसदहरूले आग्रह गरेका छन्।
अमेरिकी रक्षा तथा अन्य सरकारी निकायसँग समन्वय गरी क्षतिग्रस्त क्षेत्रमा हवाई तस्बिर तथा भौगोलिक सूचना उपलब्ध गराउन र व्यावसायिक उपग्रह कम्पनीसँग समेत सहकार्य गर्न उनीहरूले भनेका छन्। बेपत्ता व्यक्तिको खोजीमा मोबाइल फोनको स्थानसम्बन्धी तथ्यांक प्रयोग गर्न सकिने सम्भावनातर्फ पनि पत्रमा ध्यानाकर्षण गराइएको छ।
नेपाल, चीन र अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्न आग्रह
खोज तथा उद्धारका लागि नेपाल सरकार, चीन, अन्तर्राष्ट्रिय संस्था, गैरसरकारी संस्था तथा अन्य साझेदारसँग निरन्तर समन्वय गर्न विदेश मन्त्रालयलाई आग्रह गरिएको छ। बाढी प्रभावित सबै क्षेत्रमा उद्धार टोलीको पहुँच सुनिश्चित गर्न कूटनीतिक पहललाई निरन्तरता दिनुपर्ने सांसदहरूको भनाइ छ।
तत्काल राहतसँगै पुनर्निर्माणमा थप सहयोग
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, खानेपानी तथा सरसफाइ, खाद्यान्न र यातायातलगायतका आवश्यकताका लागि थप अन्तर्राष्ट्रिय विपद् सहायता उपलब्ध गराउन आग्रह गरिएको छ।
पत्रमा नेपालको बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४ देखि ५ अर्ब अमेरिकी डलरसम्म खर्च हुन सक्ने अनुमान उद्धृत गर्दै दीर्घकालीन पुनर्निर्माणमा समेत अमेरिकाले महत्वपूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
अमेरिकाले यसअघि गरेको सहयोगको पनि उल्लेख
सांसदहरूले अमेरिकी विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराएको तथा अगस्ट २९ मा ३६ लाख अमेरिकी डलरको मानवीय सहायता घोषणा गरेको उल्लेख गर्दै त्यसको स्वागत गरेका छन्।
पत्रमा बेलायतले आपत्कालीन उद्धारकर्मी पठाउने र ५० लाख पाउन्ड (करिब ६७ लाख ९० हजार अमेरिकी डलर) सहयोग घोषणा गरेको, दक्षिण कोरियाले उद्धार टोली तथा १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराएको तथा भारतले आपत्कालीन राहत सामग्री पठाएको पनि उल्लेख गरिएको छ। विश्व बैंक, संयुक्त राष्ट्रसंघ, गैरसरकारी संस्था तथा अन्य निकायले समेत सहयोग गरिरहेको सांसदहरूले बताएका छन्।
चीन र चिनियाँ रेडक्रसले पनि २२ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराएको पत्रमा उल्लेख छ।
पत्रको अन्त्यमा सांसदहरूले नेपालमा आएको बाढीबाट प्रभावित समुदायको पुनर्निर्माणमा सहयोग गर्न तथा अझै बेपत्ता रहेका अमेरिकी नागरिकको खोजीमा अमेरिकी विदेश मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
पत्रमा हस्ताक्षर गर्ने संसदहरुमा रो खन्ना, राजा कृष्णमूर्ति, सुहास सुब्रमण्यम, यभेट क्लार्क, लतीफाह साइमन, जास्मिन क्रकेट, निडिया भेलाज्केज, रशिदा तलैब, एलेनोर होम्स नोर्टन, इल्हान उमर, प्रमिला जयपाल, स्टेफन एफ. लिन्च र श्री थानेदारले हस्ताक्षर गरेका छन्।
नेपाली भाषी भूटानी मुलका अमेरिकी सांसद सुरज बुढाथोकीको पनि समर्थन
यसैबीच, न्यु ह्याम्पसायरका स्टेट रिप्रिजेन्टेटिभ तथा नेपाली भाषी भूटानी समुदायका नेता सुरज बुढाथोकीले कांग्रेस सदस्यहरूको पहलको स्वागत गर्दै नेपालमा खोज तथा उद्धार एवं मानवीय सहायता विस्तार गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन्।
बुढाथोकीले भनेका छन्, “कांग्रेस सदस्य रो खन्ना र नेपालमा अमेरिकी खोज तथा उद्धार तथा मानवीय सहायता विस्तार गर्न विदेशमन्त्री मार्को रुबियोलाई आग्रह गरिरहेका अन्य कांग्रेस सदस्यहरूको पहलको म स्वागत तथा गहिरो प्रशंसा गर्दछु।”
उनले प्राकृतिक विपद्लाई राजनीतिक विषय बनाउन नहुनेमा जोड दिँदै भनेका छन्, “प्राकृतिक विपद् कुनै राजनीतिक दलको विषय होइन। म राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री मार्को रुबियो तथा दुवै दलका नेताहरूलाई तत्काल सक्रिय हुन आग्रह गर्दछु—जब मानिसको जीवन जोखिममा हुन्छ, राजनीतिभन्दा मानवता अघि आउनुपर्छ।”














