ह्यारिसबर्गमा ‘यूएसए तेस्रो नेवार मिट एन्ड ग्रिट’ सम्पन्न, संस्कृति संरक्षणमा जोड
ह्यारिसबर्ग, पेन्सिलभेनिया / यूएसए तेस्रो नेवार मिट एन्ड ग्रिट पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतबार सम्पन्न भएको छ । ग्रेटर ह्यारिसबर्ग नेवार समुदायको आयोजनामा कार्यक्रम भएको हो ।
नेवार भाषा, संस्कृति, कला, परम्परा र पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।
कार्यक्रममा नेवार समुदायका परिवार तथा विभिन्न पुस्ताका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेवार संस्कृति, परम्परा, संगीत, नृत्य, खानपान तथा कलासहितका विविध पक्ष प्रस्तुत गरिएको थियो।
‘धिमे परेड’बाट शुरु भएको कार्यक्रममा अमेरिकी राष्ट्रिय गान तथा नेपालमा हालै आएको बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा चरिया नृत्य, नेवारी कला र संस्कृति झल्काउने बालबालिकाको नृत्य, कुमारी नृत्य, लाखे नाच, नेवार परम्परा तथा संस्कृतिसम्बन्धी प्रस्तुति, इन्द्रजात्रा, गीत र ‘लिक्का वोया’ नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नेवारी समुदायमा खाना समावेस गरिएको भोजको समेत व्यवस्था गरिएको थियो ।
यस्तै नेवारी गीत सार्वजनिक, ज्येष्ठ नागरिक सम्मान, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। तेस्रो चरणमा समुदायका अतिथिको मन्तव्य, अमेरिकामा हुर्कँदै गरेका युवा नेवारहरूको अनुभव, मिश्रित नेवा गीत, पिट्सबर्गबाट आएको नृत्य प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा ‘नेवा संस्कृति’ विषयमा विभिन्न व्यक्तिहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सफलताको कामना गर्दै डाउपिन काउन्टीका कमिसनर तथा अध्यक्ष जस्टिन डग्लसले नेवार समुदायले आफ्नो समृद्ध संस्कृति संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गरिरहेकोमा प्रशंसा गर्दै पठाएको पत्र वाचन गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन निम्तो पाए पनि आफू उपस्थित हुन नसकेको उल्लेख गर्दै डग्लसले पठाएको सन्देशमा नेवार समुदायले संगीत, नृत्य, परम्परागत खानपान र कलामार्फत आफ्नो सांस्कृतिक सम्पदा वरपरका समुदायसँग बाँड्नु महत्त्वपूर्ण भएको बताएका छन्।
उनले ह्यारिसबर्गमा बसोबास गर्ने विभिन्न समुदायबिचको विविधता एक–अर्कालाई बुझ्न, सम्मान गर्न र विभिन्न संस्कृतिले समाजमा ल्याएको मूल्यलाई आत्मसात् गर्न महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। साथै, कार्यक्रम आयोजना गर्ने तथा सहभागी सबैलाई धन्यवाद दिँदै नेवार परम्परा आगामी पुस्तासम्म निरन्तर अभ्यास र हस्तान्तरण भइरहने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा आयोजक समितिको तर्फबाट हस्त प्रधानले नेवार कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गको उद्देश्य नेवार परिवार तथा व्यक्तिहरूलाई एक ठाउँमा जोड्दै नेवारको भाषा, संस्कृति, परम्परा, कला, मूल्य, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको बताए ।
उनका अनुसार कार्यक्रममा पेन्सिल्भेनियाका विभिन्न शहर सहित न्यू योर्क, न्यू जर्सी, मेरिल्याण्ड, भर्जिनिया, ओहायो र ओरिगन राज्यबाट पनि सहभागि रहेको थियो ।
कार्यक्रममा समुदायका अध्यक्ष हस्त प्रधानले अध्यक्षता गरेका थिए भने दुर्ग प्रधानले स्वागत सन्देश दिएका थिए। प्रमुख अतिथि पेन्सिलभेनिया डिस्ट्रिक्ट १०५ का स्टेट रिप्रेजेन्टेटिभ जस्टिन फ्लेमिङले कार्यक्रमलाई सम्बोधन गर्दै नेवार संस्कृति र समुदायका गतिविधिबारे मन्तव्य दिएका थिए।
कार्यक्रमको अन्त्यतिर डफिन काउन्टी कमिसनर तथा बोर्ड अध्यक्ष जस्टिन डग्लस पनि समुदायका सदस्यहरूलाई भेट्न तथा अभिवादन गर्न सहभागी भएका थिए।
क्लिभल्यान्ड, ओहायो निवासी गणेश प्रधानको पहिलो नेवार गीत कार्यक्रममा सार्वजनिक गरिएको थियो। त्यस्तै, वल्र्ड नेवा अर्गनाइजेसनका अध्यक्ष मनोहर श्रेष्ठले मुख्य वक्ताका रूपमा नेवार संस्कृति र सभ्यताबारे मन्तव्य दिएका थिए भने डा. खेम अधिकारीले समुदायका नेताका रूपमा सम्बोधन गरेका थिए।
समुदायले विभिन्न पुस्ताबिच सम्बन्ध बलियो बनाउने, युवालाई सशक्त बनाउने, परिवार तथा समुदायका सदस्यलाई सहयोग गर्ने र अन्य समुदाय तथा संस्थासँग सहकार्य गर्ने लक्ष्य पनि अघि सारेको पनि प्रधानले बताए ।
उनका अनुसार पहिलो सम्मेलन पेन्सिल्भेनियाको पिट्सबर्ग र दोस्रो सम्मेलन ओहायोमा भएको थियो ।
‘समुदायले सांस्कृतिक कार्यक्रमसँगै शैक्षिक पहल, सामुदायिक सेवा र नागरिक सहभागितामार्फत ग्रेटर ह्यारिसबर्गको सामाजिक तथा सांस्कृतिक जीवनमा सकारात्मक योगदान गर्ने लक्ष्य राखेको छ।’ प्रधानले भने, ‘आफ्नो मौलिक पहिचान र सम्पदालाई सम्मान गर्दै विविधता, अवसर र साझा जिम्मेवारीलाई आत्मसात् गर्दै एकताबद्ध र जीवन्त नेवार समुदाय निर्माण गर्ने उसको दीर्घकालीन उद्देश्य रहेको छ।’
तस्बिरहरु : पर्शु अधिकारी














