महेश श्रेष्ठले शुक्रवार एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने
पेन्सलभेनिया । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको आसन्न ११ औँ विश्व सम्मेलन तथा महाधिवेशनका लागि महेश कुमार श्रेष्ठले अध्यक्षमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । बागलुङमा जन्मिएका, पर्वतबाट माध्यमिक तहको शिक्षा पूरा गरेर व्यावसायिक सिलसिलामा जापानमा रहेका श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
शुक्रवार दिउँसो होटेल हिमालयमा औपचारिक कार्यक्रमको आयोजना गरी आफूले उम्मेदवारी घोषणा गर्ने श्रेष्ठले जानकारी दिए । सङ्घको ११ औ महाधिवेशन १७-२० अक्टोबरमा हुँदै छ ।
स्थापना कालदेखि नै एनआरएनएको मुभमेन्टमा लागेका वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका श्रेष्ठले आफ्नो एक सूत्रीय एजेन्डा भनेको विदेशमा रहेका गैर आवासीय नेपालीलाई सम्मानित गराउने र नेपालको समुन्नतिको एजेन्डामा नेपाल सरकारसँग मिलेर काम गर्ने रहेको बताए ।
गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गर्दा सङ्घको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले अब आफू अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको फेहरिस्त शुक्रवार सार्वजनिक गर्ने पनि बताए ।
अध्यक्ष पछिको कार्यकारी पदको रूपमा रहेका महासचिवमा पनि अहिले उम्मेदवारी घोषणा गर्नेको सङ्ख्या धेरै नै देखिएको छ । महेशको टिमबाट एनसीसी अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी महासचिवको उम्मेदवार बन्ने सम्भावना रहेको बताइए पनि अझैं यसले मुर्तरुप नपाइसकेको बुझिएको छ । अमेरिकामै बस्ने पूर्व महासचिव गौरी जोशीले पनि महासचिवमा दोहोर्याउने बताइसकेका छन् भने वर्तमान कार्यसमितिका उप महासचिव गंगाधर गौतम (बेल्जियम) ले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छन् ।
यसै गरी उपाध्यक्षमा डा. केशव पौडेलले पनि श्रेष्ठको टिमबाटै उम्मेदवारी दिनेगरी तयारी गरेका छन् । वर्तमान कार्यसमितिमा महासचिव रहेका पौडेलले अध्यक्षको तयारी गरे पनि टिम बनाउँदा आफूले श्रेष्ठलाई सहयोग गरेकाे बताएका छन् ।