नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अर्को साता देखि
मेरील्याण्ड, अमेरिका / नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौ संस्करण अर्को साता देखि शुरु हुदै छ।
मेरील्याण्डको सिल्भरस्प्रिङ्ग जुन २२ तारिक बिहिवार देखि शुरु हुने महोत्सव चार दिन सम्म चल्ने छ। महोत्सवको उद्घाटनका दिन जुन २२ तारिक नेपालको तर्फबाट अस्कर अवार्डमा छनौट भएको चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शन हुने भएको छ। यो चलचित्रको निर्देशन सुजित बिडारीले गरेका हुन्।
नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा सन् २०१७ देखि महोत्सव हुदै आएको छ।
सोसाइटी अध्यक्ष पूर्णसिंह बराइलीका अनुसार आप्रवासीको संस्कृतिलाई चलचित्र माध्यमबाट जोड्न महोत्सव आयोजना गरिदै आइएको छ।
‘नेपाली र अन्तर्राष्ट्रिय ड्यासपोराहरुको स्थापित चलचित्र महोत्सव बनाउने हाम्रो लक्ष्य हो, जहाँ ठूला ठूलो सिनेकर्मी आउन भन्ने हो।’ समाज टाइम्स सँग अध्यक्ष बराइलीले भने,’ आप्रवासीयहरुको संस्कृतिलाई चलचित्रको माध्यमबाट जोड्ने हाम्रो उद्देश्य हो।’
बराइलीका अनुसार शुरुमा विश्व भरबाट महोत्सवका लागि चलचित्रको आवेदन माग गरिन्छ। प्राप्त आवदेनका आधारमा उत्कृष्ट ठहरिएका चलचित्रले महोत्सवमा प्रवेस पाउने छन्।
‘हामी लामा तथा छोटा सबै प्रकारका चलचित्रका लागि आवेदन माग गर्छौ। एक मिनेट देखि चार पाँच घण्टा सम्मका, प्राप्त आवेदन मध्येबाट पाँच जनाको छनौट कमिटीले यो यो फिल्म देखाउन उपयुक्त हुन्छ भनेर छनौट गरेर दिन्छ।’ बराइलीले भने,’ कथा, अभिनय, प्राविधक विषय सबैलाई आधार मानेर चलचित्र छनौट हुन्छ।’
अध्यक्ष बराइलीका अनुसार जुन २२ गते ६ बजे मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा (AFI Silver Theatre 8633 Colesville Rd, Silver Spring, MD 20910) ‘ऐना झ्यालको पुतली’ प्रदर्शन हुने छ।
जुन २५ तारिक सम्म जारी रहने महोत्सवमा नेपाल सहित अमेरिका, इजिप्ट, भारत, पाकिस्तान लगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन्।
महोत्सवमा पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दिपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्रहरू प्रदर्शन हुने छ ।
अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङ: इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।
निर्देशक सुबर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने छ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने जनाइएको छ । महोत्सवमा एउटा चलचित्र हेर्नका लागि १५ अमेरिकी डलरको टिकट किन्नु पर्ने छ।