एनआरएनए अमेरिका कार्यलय भवन उद्घाटन
कृष्णराज खनाल
भर्जिनिया, अमेरिका । झोलामा गैर आवासीय नेपाली संघ, अमेरिका बोकेर हिँडेको लामो समयपछि उसले अन्ततः आफ्नै भवन खरिद गर्न सफल भएको छ । आइतवार एक विशेष समारोहबीच नेपालबाट आउनुभएका मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सो भवनको उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि छोटो मन्तव्य व्यक्त गर्र्र्र्दै डा. कोइरालाले एनआरएनले नयाँ भवन खरिद गर्नु एक नयाँ आयाम भएको बताउनुभयो । उहाँले अब आउँदा दिनमा एनआरएनले महत्वपूर्ण काम गर्न सकोस् भन्ने कामना गर्दै एनआरएनलाई आफूहरुको सधैँ साथ र सहयोग रहने र हामीहरुलाई पनि तपाईहरुको साथ र सहयोग चाहिन्छ भन्नुभयो ।
समारोहमा उपस्थित डा. रमेशकान्त अधिकारीले बधाइ र खुसी व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा एनआरएनकी केन्द्रीय अध्यक्ष रविना थापा, महासचिव डा. केशव पौडेल, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं अधिवक्ता खगेन्द्र जीसी एनआरएनका अमेरिकाका सचिव राजन त्रिपाठी र अभियन्ता परशुराम भण्डारी लगायतले यो भवन खरिदपछि अब आउँदा दिनमा अरुहरुले पनि यसको सिको गरेर जानुपर्ने बताउँदै एनआरएन अभियानमा लागेका सबैजनाका लागि यो खुसीको कुरा हो भन्नुभयो । उहाँहरुले आउँदा दिनमा एनआरएन अमेरिकाले महत्वपूर्ण काम गर्ने अपेक्षा पनि गर्नुभएको थियो ।
गृह प्रवेशका अवसरमा स्वस्ति शान्ति र पूजाआजा पनि गरिएको थियो । त्यस अवसरमा अध्यक्ष बुद्धि सुवेदीलगायत एनआरएनका पदाधिकारी, सल्लाहकार र शुभेच्छुकहरुको उपस्थिति थियो ।
सो भवन करिब तीन लाख डलरमा खरिद गरिएको बताइएको छ ।
भर्जिनिया क्षेत्रका एनआरएनमा सक्रिय रुपमा लागेका मानिसहरु भवन खरिदपछि खुसी भएका छन् । एनआरएन भर्जिनिया च्याप्टरका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य गोविन्द सुवेदीेले एनआरएन अमेरिकालाई धन्यवाद दिँदै यो एक ऐतिहासिक उपलब्धि र सफलता हो भन्नुभयो ।