राष्ट्रपति पौडेलको पछिल्लो कदमको एनआरएनएद्वारा स्वागत
काठमाठौ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले राष्ट्रपति रामचन्द्र पौडेलको पछिल्लो कमदको स्वागत गरेको छ।
राष्ट्रपति पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई बुधवार प्रमाणीकरण गरेका हुन् ।
अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।
राष्ट्रपति पौडेलको पछिल्लो कदमको प्रतिपक्षिदलहरुबाट विरोध भइरहेको बेला एनआरएनले भने स्वागत गरेको हो।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा हामी हर्षविभोर छौँ ।’ एनआरएनएको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा एनआरएनएको माग पुरा गरेको समेत उल्लेख छ।
‘नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको छ ।’
राष्ट्रपतिको कदमले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि आफुहरु विश्वस्त भएको विज्ञप्तिमा उल्लेख छ।
‘विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौं ।’ तीन मध्ये एक अध्यक्ष डा. बद्री केसीको मात्र हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ।
गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस् वातावरण तयार पार्ने विश्वास लिएको जनाइएको छ।
एनआरएनएका अन्य अध्यक्ष कुल आचार्य र रबिना थापाले पनि समाजिक सञ्जाल मार्फत राष्ट्रपतिको कदमको स्वागत गरेका छन्।