ए डिभिजन लिगमा पुलिस र खुमलटार विजयी
काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थितरथ रंगशालामा सोमबार राति सकिएको खेलमा विभागीय क्लब पुलिसले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पुलिसलाई जिताउन अन्जन राईले २ गोल गरेका थिए भने फ्रेन्ड्सका विकास थापाले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो । खेल सुरु भएको तेस्रो मिनेटमै अन्जनले गोल गरेपछि पुलिसले अग्रता लिएको थियो ।
२० औं मिनेटमा विकासले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो । ३५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ बनाए ।
त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि पुलिसले स्पष्ट ३ अंक लिन सफल भयो । जितसँगै पुलिस २२ खेलबाट ३१ अंक चोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित भएको फ्रेन्ड्स २४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।
यस्तै लिगको पुछारमा रहेको खुमलटार फुटबल क्लवले २२ औं चरणको खेलमा जित निकालेको छ । जित निकाल्ने क्रममा खुमलटारले सातौं स्थानमा रहेको हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खुमलटारलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडीले गरेका छन् । खुमलटारका लागि स्टेफेन विनोङ र मेसुके ओलोमोउले एक एक गोल गरे भो शेर्पाका लागि म्यानुयल नानाले गोल गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको पहिलो खेलमा सुरुवाती अग्रता हिमालयन शेर्पाले लिएको थियो । खेलको छैटौं मिनेटमा म्यानुयल नानाले गोल गरेका हुन् । उनले खामिर गिल्सनको कर्नर प्रहारमा हेडर गोल गरेका हुन् ।
खेलको १६ औं मिनेटमा खुमलटारले गोल गर्ने अवसर गुमाएको थियो । खुमलटारका मेसुके ओलोमोउले डिबक्स भित्रबाट गरेको प्रहार हिमालायन शेर्पाका डिफेन्डर दिवस उराउलाई लागेर फर्केको थियो ।
त्यस लगत्तै उनै मुसेकेले खुमलटारका लागि बराबरी गोल गरे । खेलको १७ औं मिनेटमा खुमलटारले फ्रिकिकको अवसर पाएको थियो । जय गुरुङले प्रहार गरेको फ्रिकिकलाई अविशेक लिम्बुले हेडबाट आएको बलमा ओलोमोउले शेर्पाका गोलरक्षक किशोर गिरिलाई कुनै मौका नदिई गोल गर्न सफल रहे ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा खुमलटारले एक गोल गर्दै जित निकाल्न सफल भयो ।
खेलको ५१ औं मिनेटमा हिमालयन शेर्पाका मिलन राई गोल गर्न चुके । उनले मातुम्बा पिस्टोनीको पासमा गरेको हेडर गोल पोस्ट नजिकबाट बाहिरिएको थियो ।
खेलको ७० औं मिनेटमा खुमलटारका रेजिन सुब्बाले गरेको प्रहारलाई शेर्पाका गोलरक्षक किशोर गिरिले पञ्च गरेर बाहिर फालिदिए ।
खेलको ७६ औं मिनेटमा खुमलटारले खेलमा अग्रता लिएको थियो । उसका लागि स्टेफेन विनोङले गोल गरे । उनले मेसुके ओलोमोउको क्रस गरेको बललाई शेर्पाको खेलाडीलाई लागेर आएको बलमा उत्कृष्ट गोल गरे ।
खेलको ८७ औं मिनेटमा खुमलटारले दुई गोलको अग्रता लिने अवसर गुमायो । उसका मेसुके ओलोमोउको ससक्त प्रहारलाई शेर्पाका गोलरक्षक किशोर गिरिले विफल पारी दिए ।
जिसँगै खुमटारको २२ खेलबाट २४ अंकसहित लिगको अन्तिमा रहेको छ भने शेर्पाको समान खेलबाट २९ अंक सहित सातौं स्थानमा रहेको छ ।