युनिक ब्वाइज च्यालेञ्ज कपको उपाधि सांग्रिलालाई, पायो दश हजार अमेरिकी डलर (भिडियो सहित)
ह्यारिसबर्ग,पेन्सिलभेनिया/ युनिक ब्वाइज च्यालेञ्ज कपको उपाधि सांग्रिला युथ फुटबल क्बलले जितेको छ।
पेन्सिलभेनियाको ह्यारिसबर्ग स्थित स्काइलाइन स्पोर्टस कम्पेल्कसमा आइतवार भएको फाइनलमा पथरी एफसीलाई एकका बिरुद्ध दुई गोलले हराउदै सांग्रिलाले उपाधि जितेको हो।
युनिक ब्वाईजका पूर्व खेलाडी अर्जुन सुब्वाको स्मृतिमा आयोजित दश हजार अमेरिकी डलर नगद पुरस्कार रहेको प्रतियोगिताको उपाधि जित्न निर्णायक रहेको खेलमा सांग्रिलाका सौगात राई र साजन मगरले एक एक गोल गरे।
सौगातले पहिलो हाफमा गोल गरेका थिए। दोस्रो हाफको शुरुवातमा साजनले सांग्रिलाको अन्तर दुगुना पारेका थिए। दुई गोल गर्दा सम्म सांग्रिला पथरी माथि एक तर्फी हावी भएको थियो।
खेलको अन्ततिर पथरी हावी भयो। उसले एक गोल पनि फर्कायो तर त्यतिले खेलमा फर्कन सम्भव भएन।
विशाल दर्लामीले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
मैदानको अवस्थाले पनि दोस्रो हाफमा आफुहरु दवावमा आएको सांग्रिलाका प्रशिक्षक किरण थापाले बताए।
‘हामीले सेमीफाइनल पनि आजै खेलेको कारण केटाहरु अलिकति थाकेका थिए, ग्राउण्ड पनि एक तर्फ अलिक ओरालो भएकाले प्रेसर भेट्ने हो।’ खेल पछि समाज टाइम्स सँग सांग्रिला प्रशिक्षक थापाले भने, ‘जब दुई शुन्यको लिड भयो अन्तिम अवस्थामा उनीहरुलाई गर या मरको अवस्था आयो त्यसले गर्दा उनीहरु बढी आक्रमक भए। त्यसले केही दवाव चै हामीलाई भएको हो।’
ब्यक्तिगत स्पर्धामा पथरी र सांग्रिला बराबरी
उपाधि जित्न नसके पनि पथरी ब्यक्तिगत उपाधिमा अगाडि रह्यो। पथरीका स्वरुप राई म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पथरीका निगेश मगर र सांग्रिलाका साजन मगरले संयुक्त रुपमा पाए। उनीहरु दुबैले समान तीन तीन गोल गरेका थिए।
उत्कृष्ण गोल रक्षक पथरीका राजेश राई घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ण खेलाडी सांग्रिलाका साजन मगर घोषित भए।
म्यानेजर अफ टुर्नामेन्ट एभरेष्ट पीएनजीएका शकिल नेपाल घोषित भए।
युनिक ब्वाईज र एशियन रिफ्युजी युनाइटेडद्वार संयुक्त रुपमा आयोजित प्रतियोगिताको आइतवार नै भएको सेमीफाइनलमा सांग्रिलाले भुटनीज युथ स्पोर्टस क्लबलाई एक शुन्यले हराउदै उपाधि यात्रा कायम नै राखेको थियो।
यस्तै पथरीले खुदुनाबारीलाई तीन शुन्यको भारी अन्तरले हराएको थियो। खुदुनाबारीका लागि निजेश मगरले दुई तथा प्रज्वल तवारीले एक गोल गरेका थिए।
शुक्रवार देखि शुरु भएको यस पटकको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यबाट गरि १९ टिमले भाग लिएका थिए।
उपाधि जित्नेले ट्रफी र मेडल सहित दश हजार अमेरिकी डलर नगद पुरस्कार पायो । उप विजेताको भागमा ६ हजार डलर रह्यो।
विजेता तथा उपविजेता टिमलाई एशियन रेफ्युजी युनाइटेडका अध्यक्ष रबिन गुरुङ, प्रतियोगिता आयोजक समितिका अध्यक्ष अमल थुलुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए।