चलचित्र ‘हल्कारा’को चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा
काठमाडौं । बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ’हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेताको घोषणा गरिएको छ ।
प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम हुनेलाई ५०,०००, द्धितीय हुनेलाई ३०,००० र तेस्रो हुनेलाई २०,००० रुपैयाँको व्यवस्था गरिएको छ ।
जसमा प्रथम अन्नपूर्ण गाउँपालिका–०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका–०६, मकवानपुरका बासुदेव अर्यालले रहेका छन् ।
चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएका छन् । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयबाट पठाउनु पर्ने प्रावधान राखिएको थियो ।
सोहि अनुरुप नेपालभरबाट पत्रहरु प्राप्त भएका थिए । यो प्रतियोगिताका विजेता बैशाख २७ गते घोषणा हुने भनिएतापनि केहि प्राविधिक समस्याका कारण नतिजा आज प्रकाशन गरिएको आयोजकले जनाएका छन् ।