‘न तामझाम, न जनतालाई दुःख’ राष्ट्रपतिको सवारी धेरैले थाहै पाएनन्
राजनीतिक अस्थिरता, आर्थिक मन्दिले तनावमा रहेका नेपालीहरुलाई खुसी हुन कुनै ठूलो बहाना चाहिँदैन । नेपाली राष्ट्रिय खेलाडीले गर्ने प्रर्दशनले सबैभन्दा धेरै खुसी हुने नेपालीहरु कहिलेकाँही राजनीतिक नेतृत्वले गरेको कामले पनि खुसी हुन्छन् ।
प्रशंग हो, राष्ट्रपति रामचन्द्र पौडलेले अवलम्बन गरेको शैली । लोकतन्त्रमा राष्ट्रपति सबैभन्दा ठूलो पदमात्र होइन मार्गदर्शन पनि हो । संविधानले उक्त पदलाई संविधानको रक्षा र पालना गर्ने जिम्मेदारी दिएको छ भने समाज र राष्ट्रले उनीबाट त्योभन्दा बढी आशा र अपेक्षा गरेको हुन्छ । तसर्थ राष्ट्रपतिले संविधानले निर्धारित गरेको जिम्मेदारी पालना गर्नमा मात्र सीमित नरहेर आफ्नो आचरण र व्यवहार, जनताको चाहना र भावना अनुरूप तथा सबैले अनुसरण गर्नुपर्ने उत्प्रेरक मूल्य मान्यताबाट निर्दिष्ट गर्नु पर्दछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको लोकतान्त्रिक मूल्य मान्यता र संविधानप्रतिको अविचलित आस्था र विश्वास जगजाहेर नै छ । त्यसलाई उनले उक्त पद प्राप्तिपछि कसरी व्यवहारमा उतार्छन् भनेर सबैले उत्सुकतापूर्वक हेरिरहेको अवस्थामा उनले यसअघिकी राष्ट्रपतिबाट भएका भद्दा र अशोभनीय र जनआकांक्षा विपरीतका शैली र कार्यलाई अनुसरण नगरी सहज र सरल व्यवहार अपनाउने कामको सुरुआत मात्रै गरेका छैनन् की, यसलाई निरन्तरता पनि दिएका छन् । अस्वस्थ भएर नयाँ दिल्लीमा उपचार गरेर फर्किएपछि पहिलो पटक सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न उपस्थित हुँदा धेरैको चासो राष्ट्रपतिको संसद भवनको (सवारी यो शब्दमै राष्ट्रपतिले असन्तुष्टि जनाइसकेका छन् भने सवारी शब्दको साटो) ‘आवागमन’ कस्तो हुन्छ भनेर सवैले चासो देखाएका थिए । सरकारको नीति तथा कार्यक्रम भन्दा पनि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट आउँदा र जाँदा जनताले सडकमा खेप्नु परेको सास्तीको चर्को आलोचना हुने गरेको थियो ।
यस विषयमा सुरुदेखि नै जानकार राष्ट्रपति पौडेलले यसको छनक बसन्तपुरमा कुमारी घरमा पुग्दा र घोडेजात्रामा टुँडिखेल जाँदा प्रस्तुत गरेर जनताको मन जिति सकेका थिए । यसैक्रममा सकारको नीति तथा कार्यक्रम पेश गर्न जाँदा नेपाल आर्मीले परम्परालाई निरन्तरता दिनुपर्छ भन्दा सहजै राष्ट्रपतिले भने ‘कारगेट संसद भवन अगाडिबाट सुरुहुन्छ, त्यसभन्दा अगाडि शीतल निवासबाट कुनै पनि जनताले सास्ती नपाउने गरी संसद जान्छु ।’ राष्ट्रपतिकै सचिवालयका कुरालाई मान्य हो भने सुरुदेखि नै पौडेल जनतालाई दुःख दिने पक्षमा छैनन र भविष्यमा पनि यस्तो कुनै कामा गर्ने छैनन् । आज पनि उनको कारगेटसँगै सर्वसाधारण पनि सडकमा हुँइकिन पाए भने संसद भवना अगाडिबाट मात्रै रिसल्ला अगाडि लागेको थियो । यसले परम्परा पनि जोगिएको छ भने राष्ट्रपतिको कद पनि उचो बनाएको छ ।
संविधानअनुसार राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । मन्त्रिपरिषद्को सम्मतिमा काम गर्ने उनको संवैधानिक अधिकार हो । त्योभन्दा माथि राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने र संविधानको रक्षा तथा पालना गर्ने दायित्व दिइएको छ । यदि राष्ट्रपतिले यस्तो व्यवहारलाई आफ्नो कार्यकालभर अवलम्बन गरे भने गणतन्त्रप्रति जनताको विश्वास अझ बढ्नेछ भने राष्ट्रपतिमाथिको सम्मान पनि थपिनेछ ।