मेडिकेडको नयाँ कामसम्बन्धी नियममा अदालतको रोक, गम्भीर बिरामी तथा अशक्त व्यक्तिलाई राहत
कार्लाल, पेन्सिलभेनिया / अमेरिकामा स्वास्थ्य बीमा कार्यक्रम मेडिकेड अन्तर्गत लागू गर्न लागिएको नयाँ कामसम्बन्धी नियमको केही प्रावधान कार्यान्वयन नगर्न संघीय अदालतले आदेश दिएको छ।
गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित हुन सक्ने जोखिम रहेको भन्दै अदालतले उक्त नियमको एउटा महत्त्वपूर्ण प्रावधान खारेज गरेको हो।
बोस्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड स्टर्न्सले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको नियमको केही अंश गैर कानुनी ठहर गर्दै कार्यान्वयनमा रोक लगाएका हुन्।
कानुनअनुसार सन् २०२७ जनवरी १ देखि १९ देखि ६४ वर्ष उमेर समूहका अधिकांश वयस्कले मेडिकेड सुविधा प्राप्त गर्न प्रत्येक महिना कम्तीमा ८० घण्टा काम वा सामुदायिक सेवा गर्नुपर्नेछ। वैकल्पिक रूपमा उनीहरू कम्तीमा आधा समय शैक्षिक कार्यक्रममा सहभागी भएको हुनुपर्नेछ।
गम्भीर स्वास्थ्य समस्या भएका, शारीरिक वा मानसिक रूपमा अशक्त तथा विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिहरूलाई भने उक्त नियमबाट छुट दिने व्यवस्था कानुनमा गरिएको छ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागअन्तर्गतको मेडिकेयर तथा मेडिकेड सेवा केन्द्रले राज्यहरूलाई नयाँ कामसम्बन्धी नियम कार्यान्वयन गर्ने विषयमा निर्देशन दिएको थियो। उक्त निर्देशनमा चिकित्सकीय रूपमा कमजोर वा विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिहरूलाई दिइने छुटसम्बन्धी व्यवस्था पनि समावेश थियो।
न्यायाधीश स्टर्न्सले स्वास्थ्य समस्याका कारण काम वा सामुदायिक सेवामा सहभागी हुन सक्ने क्षमतामा उल्लेखनीय असर परेको अवस्थामा मात्रै छुट दिने व्यवस्था गैर कानुनी रहेको ठहर गरेका छन्।
उनका अनुसार यस प्रकारको सीमित परिभाषाका कारण मेडिकेड सुविधा पाउन योग्य रहेका तथा निरन्तर उपचारमा निर्भर व्यक्तिहरू स्वास्थ्य बीमाबाट वञ्चित हुन सक्छन्।
न्यायाधीश स्टर्न्सले आफ्नो आदेशमा गैर कानुनी परिभाषा कार्यान्वयन भएमा कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरूको मेडिकेड सुविधा समाप्त हुन सक्ने र उनीहरूले गम्भीर कठिनाइ सामना गर्नुपर्ने उल्लेख गरेका छन्।
अदालतले नियमको उक्त प्रावधान खारेज गरे पनि अन्य दुई प्रावधानलाई भने कायम राखेको छ। तीमध्ये एउटा व्यवस्थाअनुसार राज्यहरूले १२ महिनाभन्दा पुरानो चिकित्सकीय प्रमाणका आधारमा कुनै व्यक्तिलाई चिकित्सकीय रूपमा कमजोर ठहर गर्न पाउने छैनन्।
यस मुद्दामा नयाँ नियमलाई चुनौती दिने २५ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले अदालतको निर्णयको स्वागत गरेका छन्। कानुनी चुनौतीको नेतृत्व क्यालिफोर्निया, म्यासाचुसेट्स र न्यु जर्सीका महान्यायाधिवक्ताहरूले गरेका थिए।
क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले निर्णयको स्वागत गर्दै गम्भीर रोग वा अशक्तता भएका व्यक्तिहरूले कामसम्बन्धी नियम वा अन्य प्रशासनिक अवरोधका कारण आफ्नो स्वास्थ्य बीमा गुमाउने चिन्ता गर्नुपर्ने अवस्था आउन नहुने बताएका छन्।
उनले यस्तो व्यवस्था अमेरिकी कङ्ग्रेसको कानुन निर्माण गर्ने उद्देश्य विपरीत रहेको पनि बताएका छन्।
















