अमेरिकी निर्वाचनमा चार नेपालीमूलका उम्मेदवारको परीक्षा, सम्भावना कस्तो छ?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा नेपालीमूलका चार जना उम्मेदवार विभिन्न राज्य व्यवस्थापिकाको सदस्य ( हाउस अफ रिप्रेजेन्टेटिभ्स ) बन्ने प्रतिस्पर्धामा छन्।
मेरिल्यान्डबाट डा. ह्यारी भण्डारी र न्यु योर्कबाट साराहना श्रेष्ठ तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । यस्तै न्यु ह्याम्पसायरबाट विश्व बहादुर शाह र मेरिल्याण्डबाट सतिश चापागाई पनि पहिलो पटक उम्मेदवार बनेका छन् ।
चारै जना डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन्। उनीहरूको प्रतिस्पर्धा भने एउटै प्रकृतिको छैन। भण्डारी र श्रेष्ठले आफ्नो कार्यकालको मूल्याङ्कन गराउँदै मतदाताको विश्वास नवीकरण गर्नुपर्नेछ।
चापागाईं र शाहले भने पहिलो पटक मतदातालाई आफूलाई निर्वाचित प्रतिनिधिका रूपमा विश्वास गर्नुपर्ने आधार प्रस्तुत गर्नुपर्नेछ।
डा. भण्डारी मेरिल्यान्ड राज्य प्रतिनिधिसभा, डिस्ट्रिक ८ बाट तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् ।
भण्डारी सन् २०१८ मा पहिलो पटक यही क्षेत्रमा निर्वाचित हुदै नेपाली मुलकको पहिलो अमेरिकन सांसद बनेका थिए ।
यस पटक तीन सिटका लागि भण्डारी सहित ६ जना प्रतिस्पर्धामा छन् । भण्डारी सँगै डेमोक्रेट पार्टीबाट निक एलेन र किम एल. रस उम्मेदवार छन् । यी सबै जना वहालवाला सांसद हुन् ।
रिपब्लिकनका ब्रायन ए. क्याम्पबेल, ग्लेन गीलहार र स्टिभन जे. रिमर चुनावी मैदानमा छन् ।
भण्डारीले आफूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) आन्दोलनसँग निकट मानिने कट्टरपन्थी रिपब्लिकन सांसदहरूको समूह फ्रिडम ककसले निशाना बनाएको बताएका छन्।
भण्डारीका अनुसार फ्रिडम ककससँग आबद्ध सांसदहरूले उनको राजनीतिक नीतिको विरोध गर्दै चुनावी अभियानमा हजारौँ डलर खर्च गरेर आफूविरुद्ध प्रचार गरिरहेका छन्।
‘उनीहरूले मेरो विरुद्ध हजारौँ डलर खर्च गरेका छन्,’ भण्डारीले समाज टाइम्ससँगको कुराकानीमा भने।
आफूमाथिको आक्रमणको कारणबारे उनले मेरिल्यान्डमा पारित भएको ‘कम्युनिटी ट्रस्ट’ सम्बन्धी कानुनलाई प्रमुख रूपमा उल्लेख गरे। उक्त कानुनले संघीय इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) र राज्यका स्थानीय निकायबीचको सहकार्यमा सीमा निर्धारण गर्ने व्यवस्था गरेको छ।
विशेषगरी चर्च, मन्दिरजस्ता धार्मिक स्थलमा संघीय अध्यागमन अधिकारीको उपस्थितिले समुदायमा भय सिर्जना गर्ने र स्थानीय प्रहरीका स्रोतसाधन संघीय अध्यागमन कारबाहीमा प्रयोग हुने अवस्थालाई रोक्ने यसको उद्देश्य रहेको भण्डारीको भनाइ छ।
आप्रवासी समुदायका सदस्यहरू घरेलु हिंसा वा अन्य अपराधको सिकार हुँदा अध्यागमन कारबाहीको डरले प्रहरीसमक्ष पुग्न हिचकिचाउन सक्ने भन्दै उनले यस्तो कानुन आवश्यक भएको बताए।
भण्डारीका अनुसार यिनै नीतिका कारण फ्रिडम ककससँग निकट रिपब्लिकन सांसदहरूले आफूलाई राजनीतिक रूपमा निशाना बनाएका हुन्।
आठ वर्षको काम र तेस्रो कार्यकालको चुनौती
सन् २०१८ मा पहिलो पटक निर्वाचित भएका भण्डारीले आफ्नो आठ वर्षको कार्यकालमा निर्वाचन क्षेत्रमा करिब १५ करोड डलर बजेट ल्याउन भूमिका खेलेको बताएका छन्। उनको पहलमा तीनवटा नयाँ विद्यालय निर्माण भएको, पार्क तथा मनोरञ्जनसम्बन्धी पूर्वाधारमा लगानी भएको र आफूले प्रस्ताव गरेका २९ वटा विधेयक पारित भएको उनको दाबी छ।
उनी अहिले मेरिल्यान्ड हाउस अफ डेलिगेट्सको अर्थतन्त्रसम्बन्धी कामअन्तर्गत योजना तथा जोनिङ समितिको अध्यक्षको जिम्मेवारीमा छन्।
भण्डारीले आफ्नो कार्यालयको अधिकांश समय नेपालीलगायत आप्रवासी समुदायका समस्यामा खर्च हुने गरेको बताए। विशेषगरी घरेलु हिंसा, अध्यागमन र कोभिड महामारीका बेला समुदायका सदस्यलाई सहयोग गर्न आफू सक्रिय रहेको उनको भनाइ छ।
आफ्नो जितप्रति उनी विश्वस्त देखिए पनि अन्तिम निर्णय मतदाताले नै गर्ने उनको भनाइ छ। ‘भोट नहालीकन कसले जित्छ भन्ने थाहा हुँदैन,’ उनले भने।
भण्डारीले अर्ली भोटिङको प्रारम्भिक सहभागिता सन्तोषजनक रहेको बताए। डेमोक्रेटिक मतदाताको सहभागिता केही बढी देखिए पनि पार्टीमा आबद्ध मतदाताले अनिवार्य रूपमा आफ्नै पार्टीका उम्मेदवारलाई मत दिन्छन् भन्ने नहुने उनले स्पष्ट पारे।
न्यु ह्याम्पसायरबाट अमेरिकी मुलधारको राजनीतिमा होमिएका विश्वबहादुर शाह हिल्सबरो डिस्ट्रिक ४१ बाट उम्मेदवार छन् ।
यो क्षेत्रमा पनि तीन पदका लागि छ जना चुनावी मैदानमा छन् ।
न्यु योर्कबाट न्यु ह्याम्पसायरको म्यानचेस्टर बसाइ सरेका शाह सँगै डेमोक्रेट पार्टीबाट लिली एम. फस र टम स्टेवार्ट चुनावी मैदानमा छन् । लिली वहालवाला सांसद समेत हुन् ।
रिपब्लिकनबाट रायन हेबर्ट, जेसन हज्डन र जोसेफ स्किनर चुनावी मैदानमा छन् ।
शाहले आफ्नो टिमले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन्।
‘मलाई त हामी जित्छौँ भन्ने विश्वास छ। हाम्रो टिम नै जित्छ भन्ने लागेको छ,’ शाहले समाज टाइम्ससँगको कुराकानीमा भने।
न्यु ह्याम्पसायरको म्यान्चेस्टर क्षेत्रलाई विविधतायुक्त समुदायका रूपमा व्याख्या गर्दै उनले आफ्नो चुनावी अभियानमा स्थानीय बासिन्दाबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए।
स्वयंसेवामा आधारित अमेरिकी चुनावी अभियान
नेपालको चुनावी शैलीभन्दा अमेरिकाको चुनावी अभियान फरक रहेको शाहको अनुभव छ। यहाँ राजनीतिक अभियानमा स्वयंसेवकको भूमिका निकै महत्वपूर्ण हुने उनले बताए।
उनका अनुसार चुनावी अभियानका बैठक, घरदैलो र अन्य गतिविधिमा विभिन्न उमेर समूहका मानिस सहभागी हुन्छन्। तर २५ देखि ३५ वर्ष उमेर समूहका युवाको सहभागिता तुलनात्मक रूपमा कम देखिएको उनको अनुभव छ।
शाहले आफ्नो अभियानमा मुख्यतः दर्ता भएका डेमोक्रेटिक मतदातासँग घरदैलो र प्रत्यक्ष संवाद गरिरहेका छन्। रिपब्लिकन मतदातालाई आफ्ना उम्मेदवारप्रति समर्थन गर्न आग्रह गर्नेभन्दा पनि मतदानमा सहभागी हुन प्रेरित गर्ने रणनीति अपनाइएको उनले बताए।
‘यदि साँच्चिकै परिवर्तन चाहनुहुन्छ भने नोभेम्बर ३ मा मतदान गर्न जानुहोस् भन्ने हाम्रो आग्रह छ,’ उनले भने।
म्यान्चेस्टरका विभिन्न वडाहरू समेटेर बनाइएको फ्लोटोरियल निर्वाचन क्षेत्रबाट आफू उम्मेदवार बनेको उनले बताए। न्यु ह्याम्पसायरमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने र कतिपय क्षेत्रमा विभिन्न वडाहरू जोडेर फ्लोटोरियल जिल्ला बनाइने उनको भनाइ छ।
शाहले आफ्नो क्षेत्रमा विविध समुदायको बसोबास भएकाले नयाँ उम्मेदवारका रूपमा आफूलाई सकारात्मक स्वागत मिलेको बताए।
न्युयोर्कमा बलियो स्थितिमा देखिएकी साराहना श्रेष्ठ
न्युयोर्क राज्य विधानसभा, डिस्ट्रिक १०३ बाट तेस्रो कार्यकालका लागि चुनावी मैदानमा रहेकी नेपालीमुलकी साराहना श्रेष्ठको मुख्य प्रतिस्पर्धी रिपब्लिकन सान्तोस लोपेज हुन् ।
यो क्षेत्रमा मेरिल्याण्ड र न्यु ह्यामसायर जस्तो एकै निर्वाचन क्षेत्रमा बहुपद हुदैन ।
साराहना श्रेष्ठ सन् २०२२ मा निर्वाचित भएर न्युयोर्क राज्य विधानसभामा पुग्ने पहिलो नेपालीमूलकी महिला बनेकी थिइन्। सन् २०२४ मा पुनः निर्वाचित भएकी उनी अहिले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्।
श्रेष्ठको प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार लोपेज पूर्वसैनिक हुन्।
श्रेष्ठले आफ्नो राजनीतिक यात्रामा जलवायु परिवर्तन, सार्वजनिक ऊर्जा सेवा, आवास र कामदारका अधिकारलाई प्राथमिकता दिँदै आएकी छन्।
मेरिल्यान्ड राज्य प्रतिनिधिसभा, डिस्ट्रिक ७ए बाट तीन जना डेमोक्रेटिक उम्मेद्वार मध्ये नेपाली मुलका सतीश चापागाईं एक हुन् ।
बाल्टिमोर काउन्टी डेमोक्रेटिक सेन्ट्रल कमिटीका सदस्य चापागाईं पहिलो पटक राज्य प्रतिनिधिसभामा निर्वाचित हुने लक्ष्यसहित चुनावी मैदानमा छन्।
उनले जुन २३ मा भएको डेमोक्रेटिक प्राइमरीमा चार उम्मेदवारमध्ये दोस्रो स्थान हासिल गर्दै आमनिर्वाचनको टिकट पाएका थिए। उनले २६.१ प्रतिशत अर्थात् २,७१८ मत प्राप्त गरेका थिए।
यो क्षेत्रमा दुई पदका लागि चार जना चुनावी मैदानमा छन् । डेमोक्रेटबाट चापागाईं सहित लिडिया सिन्झेन ब्राउन चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै रिपब्लिकनबाट रायन नवरोक्की र क्याथी स्जेलिगाले उमेद्वारी दोहोर्याएका छन् । रिपब्लिकनका दुबै जना उमेम्दवार वहालवाला सांसद हुन् ।
कुन क्षेत्रमा कति मतदाता
न्यु योर्क राज्य सभाको निर्वाचन क्षेत्र १०३ मा फेब्रुअरी २०२६ को तथ्याङ्कअनुसार ९६ हजार ८४२ सक्रिय दर्ता भएका मतदाता थिए। तीमध्ये ४५ हजार १५५ अर्थात् ४६.६ प्रतिशत डेमोक्रेटिक, १७ हजार ८७९ अर्थात् १८.५ प्रतिशत रिपब्लिकन, ५ हजार ४५० अर्थात् ५.६ प्रतिशत अन्य दलमा आबद्ध र २८ हजार ३५८ अर्थात् २९.३ प्रतिशत कुनै दलमा आबद्ध नभएका मतदाता थिए।
इलेक्सनल एनालिटिक्सको सार्वजनिक पूर्वानुमान मोडलले श्रेष्ठको जित्ने सम्भावना ९४.१ प्रतिशत र लोपेजको ५.९ प्रतिशत आँकलन गरेको छ। सोही मोडलले श्रेष्ठको अनुमानित मत हिस्सा ६२.६ प्रतिशत र लोपेजको ३७.४ प्रतिशत देखाएको छ।
मेरील्यान्ड राज्य निर्वाचन कार्यालयको तथ्यांक अनुसार भण्डारीको क्षेत्रमा ८५ हजार ४ सय ८३ दर्ता भएका मतदाता छन्। तीमध्ये डेमोक्र्याट ५३.३ प्रतिशत (४५,५४१ मतदाता), रिपब्लिकन २६.५ प्रतिशत (२२,६३९ मतदाता) स्वतन्त्र / कुनै दलमा आबद्ध नभएका १८.६ प्रतिशत (१५,८५९ मतदाता) र अन्य साना दलहरू: १.० प्रतिशत (८८९ मतदाता) छन् ।
निर्वाचन क्षेत्र ८ लाई डेमोक्रेटिक पक्षको सुरक्षित क्षेत्र मानेको छ।
मेरील्यान्ड राज्य निर्वाचन कार्यालयको तथ्यांकअनुसार निर्वाचन क्षेत्र ७ए मा एक लाख १८ हजार ८२ जना दर्ता भएका मतदाताहरू छन्।
जसमध्ये रिपब्लिकन ४४.९ प्रतिशत (करिब ४५,७४५ मतदाता), डेमोक्र्याट ३४.७ प्रतिशत (करिब ३५,३५३ मतदाता) स्वतन्त्र / कुनै दलमा आबद्ध नभएका १८.९ प्रतिशत (करिब १९,२५५ मतदाता) र अन्य साना दलहरू करिब १.५ प्रतिशत रहेका छन् ।
यो क्षेत्रलाई परम्परागत रूपमा रिपब्लिकनको बलियो पकड भएको क्षेत्र मानिन्छ।
न्यू ह्याम्पसायर हिल्सबरो डिस्ट्रिक्ट ४१ फ्लोटेरियल निर्वाचन क्षेत्र हो। यो भनेको जनसङ्ख्याको आधारमा समान प्रतिनिधित्व मिलाउन दुई वा दुईभन्दा बढी साना निर्वाचन क्षेत्रहरूलाई माथिबाटै खप्ट्याएर बनाइएको थप साझा चुनावी क्षेत्र हो ।
यसले म्यानचेस्टरका वार्ड २, ४, ५ र ७ समेट्छ। यस क्षेत्रमा तीन सिटका लागि छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
हिल्सबरो डिस्ट्रिक्ट ४१ मा करिब २२ हजार जना दर्ता भएका मतदाताहरू छन्। जसमा डेमोक्र्याट करिब ३८ प्रतिशत, रिपब्लिकन करिब २८ प्रतिशत र स्वतन्त्र / कुनै दलमा आबद्ध नभएका करिब ३४ प्रतिशत मतदाता छन् ।
सन् २०२४ को निर्वाचनमा यस क्षेत्रबाट डेमोक्रेटिक प्यानलले ५५.३ प्रतिशत र रिपब्लिकन प्यानलले ४४.७ प्रतिशत मत प्राप्त गरेका थिए।
















