अचेत अवस्थामा रहेकी महिलामाथि बलात्कार गरी भिडियो बनाउने व्यक्तिलाई साढे १८ वर्षसम्म जेल सजाय
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित ल्यान्कास्टर शहरका एक व्यक्तिलाई लागुऔषधको अत्यधिक सेवनका कारण मृत्यु हुँदै गरेकी अचेत महिलामाथि बलात्कार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा ६ देखि साढे १८ वर्षसम्मको जेल सजाय सुनाइएको छ।
ल्यान्कास्टर काउन्टी डिस्ट्रिक्ट एटोर्नीज अफिसका अनुसार ३६ वर्षीय रकी जे. फेलिसियानो जुनियरले गत अक्टोबर २२ मा बलात्कार, अचेत व्यक्तिमाथि जबर्जस्ती अप्राकृतिक यौनसम्बन्ध, यौन दुर्व्यवहार र गम्भीर प्रकृतिको अश्लील यौन दुर्व्यवहारलगायत १२ वटा अभियोग स्वीकार गरेपछि न्यायाधीश डेनिस रेनाकरले उनलाई राज्यको जेलमा ६ देखि १८ वर्ष ६ महिनासम्म कैद गर्ने फैसला सुनाएका हुन्।
सन् २०२४ को अगस्टमा ह्यामिल्टन स्ट्रिटको ५०० ब्लकस्थित आफ्नै घरमा फेलिसियानोले ३४ वर्षीया महिलामाथि बलात्कार गरेका थिए।
बलात्कार हुनुअघि ती महिलाले फेन्टानिल नामक शक्तिशाली लागुऔषधको घातक मात्रा सेवन गरेकी थिइन्। त्यसको असरका कारण उनलाई ओभरडोज भएको थियो।
घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले महिलालाई अचेत अवस्थामा फेला पारेका थिए। चार सन्तानकी आमा रहेकी ती महिलाको अवस्था उद्धारकर्मी पुग्दासम्म जीवनरक्षक उपचारबाट बचाउन नसकिने भइसकेको थियो।
प्रहरीसँगको प्रारम्भिक सोधपुछमा फेलिसियानोले आफू र ती महिलाबीच दुवैको सहमतिमा यौनसम्बन्ध भएको दाबी गरेका थिए। तर, उनको मोबाइल फोनको विश्लेषण गर्दा महिलाको मृत्यु हुनुभन्दा केही समयअघि उनले ती महिलामाथि बलात्कार गरिरहेको देखिने तीनवटा भिडियो फेला परे। भिडियोमा बलात्कार भइरहँदा महिला सचेत अवस्थामा रहेको कुनै संकेत देखिएको थिएन।
अदालतमा मुद्दाको सुनुवाइ भइरहेका बेला पीडितका परिवारका केही सदस्य अभियोजनकर्ता सहायक जिल्ला न्यायाधिवक्ता फ्रिट्ज हाभरस्टिकले घटनाको विवरण सुनाउँदा रोएका थिए। हाभरस्टिकले महिलाको अवस्था स्पष्ट रूपमा बिग्रँदै गइरहेको भए पनि फेलिसियानोले बलात्कार जारी राखेको बताएका थिए।
पीडितकी आमाले अदालतमा भनिन्, “कुनै पनि आमाले आफ्नी छोरीका जीवनका अन्तिम क्षणबारे यस्ता पीडादायी कुरा मनमा बोकेर बाँच्नुपर्ने अवस्था आउनु हुँदैन।”
प्रहरीले फेलिसियानोलाई भिडियो बनाइरहेका बेला ती महिला मृत्युको अवस्थामा रहेको आफूहरूको विश्वास रहेको बताएको थियो। त्यसको जवाफमा उनले आफू चिकित्साकर्मी नभएको र कोही जीवित छ वा मरिसकेको छ भन्ने थाहा पाउने उपाय आफूसँग नभएको बताएका थिए।
तर, पीडितकी बहिनीले अदालतमा भनिन्, “ऊ चिकित्साकर्मी नभए पनि आफूलाई यौनसुखमा केन्द्रित गर्नुको सट्टा सहयोगका लागि फोन गर्न सक्थ्यो।”
उनले फेलिसियानोलाई “विकृत मानसिकता भएको व्यक्ति” भन्दै पीडितको “प्राणहीन शरीरमाथि समेत दुर्व्यवहार गरेको” आरोप लगाइन्।
अदालतमा आफ्नो भनाइ राख्ने अवसर पाउँदा फेलिसियानोले पीडितको परिवार, विशेषगरी उनकी आमा र छोराछोरीसँग माफी मागेका थिए। उनले पीडितलाई बचाउन आफूले सक्दो प्रयास गरेको तर त्यसमा सफल हुन नसकेको बताएका थिए।
फेलिसियानाको तर्फबाट बहस गरेका वकिलले पनि घटनालाई “अत्यन्त दुःखद र दर्दनाक” बताएका थिए। उनले फेलिसियानालाई पीडितले यौनसम्बन्धका लागि सहमति दिन सक्ने अवस्थामा नरहेको जानकारी भएको कुरा अदालतसमक्ष स्वीकार गरेका थिए।
















