शौचालयको पाइपमा कोकिन र नगद लुकाउँदा दुई जना पक्राउ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ल्यान्कास्टर शहरमा लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले गरेको छापा कारबाहीका क्रममा शौचालयभित्र लुकाइएको ठूलो परिमाणको लागुऔषध र नगद बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
ल्यान्कास्टर सिटी प्रहरीका अनुसार अक्टोबर २२, २०२६ मा दिउँसो करिब ३ बजे कोरल स्ट्रिटको पहिलो ब्लकस्थित एक आवासमा खानतलासी वारेन्ट कार्यान्वयन गरिएको थियो। प्रहरीले उक्त घरबाट लागुऔषध बिक्री भइरहेको विषयमा केही महिनादेखि अनुसन्धान गरिरहेको थियो।
प्रहरीले खानतलासी गर्ने क्रममा मार्लोन वोम्याक र मेलानी शिर्क बाथरुमभित्र गएको देखेको थियो। प्रहरीको निर्देशनअनुसार बाहिर ननिस्किएका वोम्याकले आफ्नो शरीरमा भिरेको झोला पटक–पटक शौचालयको पाइपभित्र धकेल्ने प्रयास गरेको प्रहरीको भनाइ छ।
केही समयपछि दुवै जना घरबाट बाहिर निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
शौचालयको ट्यांकीभित्रबाट प्रहरीले दर्जनौँ प्लास्टिकका सिसीमा राखिएको क्र्याक कोकिन, गाँजा र २ हजार १ सय डलर नगद फेला पारेको थियो। शौचालय खोलर जाँच गर्दा पाइपको घुमाउरो भागमा करिब ८५ ग्राम क्र्याक कोकिन लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले बिक्रीका लागि प्याक गरिएको र खुला गरी करिब १०१ ग्राम क्र्याक कोकिन, ३४० ग्राम गाँजा, अक्सिकोडोन भएको आशंका गरिएका १० चक्की, एमडीएमए भएको आशंका गरिएका २९ चक्की, लागुऔषध प्याकिङ गर्ने सामग्री तथा प्रयोगका उपकरण र ७ हजार ५३८ अमेरिकी डलर नगद बरामद गरेको जनाएको छ ।
प्रहरीले मार्लोन वोम्याक र मेलानी शिर्कविरुद्ध लागुऔषध बिक्री गर्ने उद्देश्यले नियन्त्रणमा राखेको चारवटा अभियोग, सोही कसुरमा आपराधिक षड्यन्त्र गरेको चारवटा अभियोग, भौतिक प्रमाण नष्ट गर्ने प्रयास र लागुऔषध प्रयोगका सामग्री राखेको अभियोग लगाएको छ।
दुवै जनालाई जनही ३ लाख डलर नगद धरौटीमा ल्यान्कास्टर काउन्टी जेलमा राखिएको छ। नयाँ अभियोगपछि वोम्याकविरुद्ध पेन्सिल्भेनिया राज्यको प्यारोलसम्बन्धी हिरासत आदेशसमेत जारी गरिएको प्रहरीले जनाएको छ।
यसै घटनामा डेलोन्टे शा–क्यानन र टिफानी एन नेस्टरविरुद्ध पनि सामान्य प्रकृतिका लागुऔषधसम्बन्धी अभियोग लगाइएको छ।
प्रहरीले पक्राउ परेका सबै व्यक्ति अदालतबाट दोषी प्रमाणित नभएसम्म निर्दोष मानिने स्पष्ट पारेको छ।
















