बार्सिलोनाले ४ खेल अगावै जित्यो ला लिगाको उपाधि
स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार विहान सकिएको खेलमा बार्सिलोनाले स्पान्योललाई ४–२ गोल अन्तरले पराजित गरेपछि बार्सिलोनाले लिगका ४ खेल बाँकी हुँदै उपाधि जित्न सफल भएको हो ।
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले छाडेपछि र जाभी हर्नान्डेजले क्लब सम्हालेपछि पहिलो उपाधि जित्न सफल भए । बार्सिलोनासँग पराजित भएको स्पान्योल भने रेलिगेसनको खतरामा रहेको छ ।
बार्सिलोनालाई खेल जिताउन रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा एलेक्स बाल्डे र जुल्स कुन्डेले एक एक गोल थपेका थिए । यस्तै स्पान्योलका जेभिएर पुएडो र जोसेलुले एक एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
११ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले सुरुआती अग्रता लिएका थिए । यसैगरी २० औं मिनेटमा बाल्डेले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाको अग्रता दोब्बर भएको थियो ।लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल खेलको ४० औं मिनेटमा गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० को आरामदायी अवस्थामा रहेको थियो ।
स्पान्योलमाथि लगातार आक्रमण बुनेको बार्सिलोनाले ५३ औं मिनेटमा चौथो गोल गरेको थियो । कुन्डेले बार्सिलोनका लागि चौथो गोल गरेका थिए ।तर, ७३ औं मिनेटमा पुएडोले गोल गर्दै स्पान्योललाई खेलमा फर्काउने प्रयास गरेका थिए । यसैगरी दोस्रो हाफको अतिरिक्त समयमा जोसेलुले गोल गर्दै स्पान्योलको अग्रता ४–२ मा झारे पनि यसले नतिजामा कुनै प्रभाव पारेन र अन्ततः बार्सिलोना ४–२ गोल अन्तरले विजयी हुँदै स्पष्ट ३ अंक तालिकामा थप्न सफल भयो ।यो खेलपछि बार्सिलोनाको ३४ खेलबाट ८५ अंक भएको छ भने दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलबाट ७१ अंक रहेको छ ।
अब दुवै टिमले ४ खेल खेल्न बाँकी रहँदा बार्सिलोना १४ अंकले अघि रहेको छ । अबका सबै खेल बार्सिलोनाले हार्दा र रियलले जित्दा पनि उपाधि विजेता बार्सिलोना नै बन्ने छ ।