नेपालले पीएनजीलाई हरायो
काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । नेपालले दिएको २९८ रनको लक्ष्य पन्छाएको पीएनजी ४७ दशमलब १ ओभरमा रनमा २४५ अलआउट भयो ।
उसका लागि नर्मन भानुवाले ६० , टोनी उराले ५० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २, कुशल मल्लले १ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपाल ४९ दशमलब १ ओभरमा अलआउट हुदैं २९७ रन बनायो । नेपालको यो ओडिआई इतिहासकै उच्च स्कोर हो । नेपालको हालसम्म ओडिआईमा २८७ रनको उच्च स्कोर थियो । नामिवियासंगको खेलमा नेपालले २८७ रन बनाएको थियो । आज नेपालले उक्त उच्च स्कोर तोडेको हो ।
आजको खेलमा ओपनर आसिफ शेखले शतकीय पारी खेल्दै ११० रन बनाए । यस्तै कुशल भुर्तेल ४५ रनमा आउट भए । यी दुबै ब्याटरबीच पहिलो विकेटका लागि ११० रनको साझेदारी पनि भएको थियो । यसका साथै भीम सार्कीले ४४ , कप्तान रोहित पौडेलले ३०, ज्ञानेन्द्र मल्लले ११ रन बनाए । पीएनजीका सेमो कमियाले ५,राइली हेकुरेले ३ विकेट लिएका छन् । जितसंगै नेपालको ३३ खेलबाट ३४ अंक भएको छ ।
नेपाल १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा कायमै छ । नेपालले अव एक खेल जिते ३६ अंक हुनेछ । एक जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । बाँकी रहेका ३ खेल जित्ने सके नेपाल विश्वकप छनौट खेल्नेछ ।