विश्वकप लिग-२ : नेपालको लगातार पाँचौं जित,पपुवा न्यूगिनीलाई चार विकेटले हरायो
काठमाडौं । विश्वकप लिग-२ मा नेपालले जितको क्रमलाई पाँचौं खेल सम्म पनि निरन्तरता दिएको छ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भएको त्रिकोणात्मक श्रृंखलाको सोमवारको खेलमा नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हरायो।
पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रनको योगदान गरे । उनले ६९ बल खेल्दै ५ चौकाको मद्दतमा चौथो एकदिवसीय अर्धसतक प्रहार गरेका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेख सँग ७६ रनको साझेदारि गरेका थिए ।
आसिफ ३९ बलमा ५ चौकासहित ४४ रन योगदान गरेर आउट भए । ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले २० रन बनाए । दीपेन्द्रसिंह ऐरी पाँचौं विकेटका लागि आरिफ शेख सँग ५४ रनको साझेदारि गर्दै १७ बनाएर सेसे बाउको बलमा बोल्डआउट भए ।
आरिफ ६६ बल खेल्दै समान एक चौका र छक्कासहित ३८ रन बनाएर पभेलियन फर्किए ।
कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे । पीएनजीको बलिङमा कतान आसाद भालाले १० ओभरमा ३७ रन खर्चिएर तीन विकेट लिए । नोरमान भानुवा र सेसे बाउले समान एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । पीएनजीका लागि कप्तान आसाद भाला र चाड सोफरले समान ३६ रन योगदान गरे ।
ओपनर किपिन डोरिगा २९ रनमा आउट हुँदा सेसे बाउ ३१ रनमा पभेलियन फर्किए । हिरि हिरी १० रनमा आउट भए । नोर्मान भानुुआ २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका गुलसन झाले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चिए । कुशल मल्ले ८ ओभरमा ४३ रन खर्चिएर दुई विकेट लिँदा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक विकेट लिए ।
शृंखलाको दोस्रो खेलमा नेपालले बिहिबार आयोजक यूएईको सामना गर्नेछ ।