क्रिकेट खेलाडीलाई जनही दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटारमा बधाइ दिदैँ प्रचण्डले जनही दुईलाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।
प्रचण्डले भने “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”
खेलाडीका कारण देशकै गौरव र प्रतिष्ठा बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने “म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।”
“पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भने, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ।”
सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेको प्रधाानमन्त्रीको सचिवालयले जनाएको छ।