अदालतले दिएन सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश खेल्नका लागि अनुमति दिन अस्वीकार गरेको छ।
राष्ट्रिय टिमबाट विदेशमा खेल्न जान पाउन सन्दीपले गरेको मागलाई अदालतले अस्वीकार गरेको हो। नाबालिका बलात्कार मुद्दा खेपिरहेका सन्दीप विदेश जान नपाउने शर्त सहित धरौटीमा रिहा भएका थिए।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको शुक्रवारको इजलासले सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको छ ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।
यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिकुमार फुयाँलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी चढेको थियो ।