ल्होत्से मलमा लुट मच्चाउने समुहबाट नेपाल न्यूज बैंककर्मी अन्जन वाग्लेमाथि आक्रमण प्रयास : क्यामेरा फोडियो
काठमाडौं । नेपाल न्युज बैकंमा कार्यरत भिडियो ग्राफर अन्जन वाग्लेमाथि आन्दोलनको आवरणमा लुट मच्चाउने समुहबाट आक्रमण प्रयास भएको छ ।
सोमबार साँझ बालाजुमा यातायात मजदुरको आन्दोलनको समाचार संकलनका लागि पुगेका भिडियोग्राफर वाग्लेमाथि बालाजु बसपार्कस्थित ल्होत्से मलमा रहेको मोवाइल पसल फोडेर लुट मच्चाउने समुहले भिडियो खिचेको देखेपछि आक्रमण प्रयास गरेका हुन् ।
आक्रमणबाट पत्रकार वाग्लेको हातमा चोट लागेको छ भने क्यामेरा समेत फुटेको छ । घटनाका बारेमा न्युज बैकले खेद व्यक्त गरेको छ।
‘जस्तो सुकै कठिन परिस्थितीमा पनि आम नागरिकलाई सूचना दिन आफ्नो संचारकर्ममा कटिवद्ध पत्रकारमाथि आन्दोलनको नाममा भएको आक्रमण प्रयास र संचार साधनमा पुर्याइएको क्षतिप्रति नेपाल न्युज बैंक परिवार खेद व्यक्त गर्दछ ।’
नेपाल न्युज बैंकले आफ्नो बुलेटिनमा भनेको छ। ‘प्रहरी प्रशासनलाई क्यामेरा तोडफोडमा संलग्न समुहको पहिचान गरि कारबाहीका लागि जोडदार माग गर्दछ ।’